सुदूरपश्चिम प्रदेशमा १ सय ७१ नयाँ स्वास्थ्य चौकी बन्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

निदानिर्देश समाचार
बैतडी, २१ पुस
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक बर्षमा १ सय ७१ स्वास्थ्यचौकीका भवन बन्ने भएका छन् । देश संघिय संरचना गईसकेपछी साविकको एउटै गाविसलाई दुई वडामा विभाजन गरि स्वास्थ्यचौकी भवनविहीन रहेका वडाहरुलाई नयाँ स्वास्थ्यचौकी भवन बन्न लागेका हुन् । सरकारले देशभरीमा १ हजार २ सय नयाँ स्वास्थ्यचौकी बनाउने घोषणासंगै सुदूरपश्चिम प्रदेशमा १७१ स्वास्थ्यचौकी भवन बन्न लागेका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो । सुदूरपश्चिमका कुन जिल्लामा कति स्वास्थ्य चौकी बन्ने भनेर अलग्गै लिस्ट नआएको उनले बतए ।
स्वास्थ्यचौकी भवन निर्माणको लागी तराईमा ८ कठ्ठा, पहाडमा ५ रोपनी र हिमाली जिल्लामा ४ रोपनी जमिन स्थानीयले स्वास्थ्यचौकीको नाममा निशुल्क दान गरेको हुनुपर्नेछ । संघिय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अन्योलमा रहेको १ हजार २ सय स्वास्थ्यसंस्थाको निर्माणप्रक्रिया अगाडि बढाएको छ । मुलुक संघीय संरचनामा गएसँगै ‘एक वडा, एक स्वास्थ्यसंस्था’को अवधारणाअनुसार २ वर्षभित्र सबै वडामा स्वास्थ्यसंस्था बनाइसक्ने गरी यसवर्ष १ हजार २ सय वडामा नयाँ स्वास्थ्यकेन्द्र निर्माण गर्न लागिएको हो ।
मन्त्रालयको नीति, योजना महाशाखाले स्वास्थ्यसंस्था नभएका २ हजार ५ सय वडामध्ये, स्थानीय अग्रसरता, जनसंख्या, जग्गाको उपलब्धता र मानव विकास सूचकांकलाई आधार बनाएर यसवर्ष आधारभूत स्वास्थ्यकेन्द्र बन्ने वडाहरूको छनोट गरेको छ । निर्माण कार्यका लागि आवश्यक जग्गाको उपलब्धताका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारहरूले भवन बनाउने छन् ।
आधारभूत स्वास्थ्यकेन्द्र निर्माण गर्न यसवर्ष ४ अर्ब बजेट विनियोजन गरिएको छ ।
नयाँ बन्ने संस्थाका लागि दुईप्रकारका डिजाइन सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा यसअघि नै तयार भइसकेका छन् । जग्गा र जनसंख्याका आधारमा कुनप्रकारको भवन र सेवा निर्धारण हुने भन्नेसमेत तय भइसकेको छ ।भवन निर्माणका लागि आवश्यक टेन्डरप्रक्रिया, अनुगमन विधि, समन्वयको तरिकादेखि आइपर्ने विवादको निकासविधिसमेत तय भइसकेका छन् ।
सरकारले नीति तथा कार्यक्रममै स्थानीय तहबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउन २ वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्यसंस्था स्थापना गर्ने घोषणा गरेको थियो । सोही अनुसार पहिलो चरणमा मुलुकभरका १ हजार २ सय वडामा यस्ता संस्था निर्माण गर्न लागिएको
हो ।
भवन निर्माण गर्दा वडाको जनसंख्या ७ हजार वा बढी भएको र १६ आनासम्म जमिन उपलब्ध भएमा प्रसूतिसेवासहितको भवन र जनसंख्या ७ हजारभन्दा कम र जमिन ९ आनासम्म भए प्रसूतिसेवाबाहेकका आधारभूत स्वास्थ्यकेन्द्र निर्माण गरिनेछन् । प्रसूतिसेवा सहितको स्वास्थ्य केन्द्र टाइप १ र ७ हजारभन्दा कम जनसंख्या भएका ठाउँमा टाइप २ भवन संरचना निर्माण गरिनेछन् । जस अनुसार पहिलो चरणमा बन्नेमध्ये १ सय ३७ वटा टाइप १ र १ हजार ६३ वटा टाइप२ स्वास्थ्यकेन्द्र बन्नेछन् । मन्त्रालयका अनुसार भवन निर्माण गर्दा केन्द्रको ८० प्रतिशत र २० प्रतिशत स्थानीय तहको लागत सहभागिता हुनेछ । संघीय संरचना अनुसारको सबैभन्दा सानो एकाइ वडा तहमा कुल ६ हजारमध्ये २ हजार ५ सय स्थानमा स्वास्थ्यसंस्थामा छैनन् । जसमध्ये सुदूरपश्चिम प्रदेशमा ३ सय १९ वडामा कुनै प्रकारका स्वास्थ्यसंस्था छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *