सुदूरपश्चिममा गौरा पर्वको रौनक बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १६ भदौ
सुदूरपश्चिममा गौरा पर्वको रौनक बढ्दै गएको छ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्वको रुपमा मानिने गौरा पर्व शुक्रवारदेखि सुरु भएको छ । कञ्चनपुरमा पनि धुमधामका साथ विभिन्न ठाउँहरुका गौरा मन्दिरमा मनाउने गरिन्छ । महेन्द्रनगरको खुला मञ्चमा पनि देउडा खेलेर युवायुवती तथा बुढापाखा रमाईलो गर्ने गर्दछन् । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
सुदूरपश्चिम बाहेक छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।
गौरा भित्र्याएर पुजा–अर्चना गरि महिलाहरुले दुबधागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् । सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो ।
गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्ब भाद्र शुक्ल को पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहँु केराउ गहत मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।
गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।
बिरुडा भिजाएपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिए सम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत
पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।
यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनक समेत बढेकोे छ । सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन । यस वर्ष पनि छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली सीमावर्ती नाकाहरुबाट गौराका लागि घर फर्किएका छन् । गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ ।
डेउडाबाट विकृति विरुद्ध तिखो व्यंग्य डेउडामा पौराणिक कथा देवि देवताका गाथा धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यती मात्रै नभएर सामाजिक विकृती विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गरिन्छ ।
महिलाहरुले यस भेगको सामाजिक अवस्था रीतिरिवाज सुखदुःख नारी जिवनका विवशता र पीडा डेउडाका माध्यमबाट पोख्ने गर्छन भने युवापुस्ताले मायाप्रेमका भाव समेत एकअर्का सामू व्यक्त गर्ने गरेको स्थानिय कृष्णानन्द भट्टले बताए ।
केहि बर्ष यता नयाँपुस्ताले पनि यस पर्वमा चाँसो राखेकाले फिका हुदै गएको गौरा पर्वको रौनकता अहिले फेरी फर्किन थालेको डेउडाप्रेमी बताउँछन । आधुनिकतासंगै पछिल्ला वर्षमा आफ्नो मौलिक संस्कृती र चाडपर्वतिर युवापुस्ताले कम महत्व दिने गरेको बुढापाकाको बुझाई छ ।
गौरामा केटाकेटीसंगै परिवारका सदस्यले नयाँ लुगा सिलाउने चलन समेत चलि आएको छ । सुदुरपश्चिमका पहाडी जिल्लामा मात्रै नभई अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता स्थापित गरिसकेको छ । काठमाण्डौंसंगै सुदूरपश्चिमबाहिर बसेका सुदूरपश्चिमेबासीले एकत्रित भएर गौरा मनाउने गरेका छन् । बसाई सराईसंगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वको रौनक हेर्न लायक हुन्छ । यस पर्वमा खेलिने डेउडा सबैको आकर्षण बन्ने गरेको छ ।
गौराको चहलपहलले भारतबाट घर फर्किनेको लर्को
गौरा पर्व मनाउनको लागि भारतबाट मजदुरी गरी घर फर्किनेको लर्को लाग्ने गरेको छ । गौरा पर्व धुमधामका साथ मनाउनको लागि घर फर्किएसंर्गै घरमा खुसीयाली छाएको छ । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा नेपालीहरु लुटिने क्रम रोकिएको छैन । गौरा पर्व धुमधाम गर्ने उद्देश्यले घर फर्किन लाग्दा बाटोमा लुटेराहरुले लुटेर लैजाने क्रम बढ्दै जाँदा मजदूरहरुलाई झन समस्या निम्तिने गरेको छ ।
गौरा पर्व आउनै लाग्दा गाउँगाउँमा डेउडा खेल्ने गरेका छन । तर पछिल्लो समयमा पहिलाका जस्तो रौनक भने नहुने
गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । गौराको मुख्या आकर्षण ठाडो खेल, धमारी, चैत तथा फागहरु भएपनि पछिल्लो समयमा यस्ता चीजहरु लोप हुँदै गएका छन् । यूवा पुस्ताले संस्कृतिका बारेमा चासो नदिएकाले संस्कृतिहरु लोप हुँदै गएको संस्कृतिका जानकारहरुले बताएका छन् । यस्तै गौरा पर्वका लागि घर आउनेहरुको संख्या समेत बढ्न थालेको छ ।
सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा सुरुभएसंगै बेला भारतबाट घर फर्किनेहरुको संख्या पनि बढ्दै गएको छ । गौराका बेला कामका लागि बाहिर गएकाहरु घर फर्कने चलन रहेको छ । पहिलाको भन्दा अहिले चहलपहल निकै बढेको छ । यस्तै बजारमा किनमेल गर्नेहरुको संख्या पनि बढेको दृष्य जताततै देख्न पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *