एमालेको अभियान फेरि हेटौंडाबाट सुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हेटौंडा, २८ फागुन
समय परिस्थिति बदलिएको छ । जब २०४७ को संविधानले प्रजातन्त्रको रुप लियो त्यसपछि २०४८ सालको निर्वाचनको समय पारी राप्रपाले देशभर आफ्नो पार्टीको प्रचारप्रसार गर्दा एमाले कांग्रेस समेतको मिलोमतोमा ढुङ्गामुढा गरी आमसभाहरु बिथोल्ने काम गरेको थियो । आज ठीक त्यस्तै भएको छ । ती ढुङ्गाहरु फर्किएका छन् । दुःख लाग्ने कुरा के भने प्रजातान्त्रिक युगमा विचारको मुल्य मान्यता छोडेर ढुङ्गामुढा गोलाबारुदबाट प्रजातान्त्रिक अभ्यासलाई बलजफ्तीमा बदल्नु नालायकीपन ठहरिन्छ ।
सप्तरी घटनापछि स्थगित भएको एमालेको मेची–महाकाली अभियन शुक्रबार पुनः हेटौंडाबाट सुरु भएको छ । हेटौंडामा अभियानको सुरुआत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले माथि लगातार आक्रमण भइरहे आतंक सहेर नबस्ने बताए ।
हेटौंडाको भुटनदेवी चौरमा भएको सभामा ओलीले एमालेले आफ्नो सुरक्षा आफैं गर्नुपरे परिस्थिति फरक हुने चेतावनी दिए ।
‘हामी माथि लगातार आक्रमण हुँदा पनि सहेर बसेका छौं’, उनले भने, ‘तर एमालेको पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा समेत आक्रमण हुन्छ भने हामी सधैं आतंक सहेर बस्दैनौं ।’
सप्तरीको राजविराज घटनापछि तीन दिन स्थगित अभियान हेटौंडाबाट सुरु गर्दै ओलीले भने, ‘सरकार र संसद्को भत्ता खाएर काठमाडौंमा घर बनाउनेहरूले लासको राजनीति गर्दैमा एमालेको अभियान
रोकिँदैन ।’
सरकारी पार्टीको आक्रमणका कारण जनताका छोराछोरीको ज्यान गएको बताउँदै उनले एमालेको सुरक्षा गरेबापत सरकारले सप्तरीको प्रशासन र प्रहरी प्रमुख काठमाडौं फिर्ता बोलाएको दाबी गरे । ‘सप्तरी घटनापछि सरकारको नियत स्पष्ट भएको छ’, ओलीले भने, ‘अरूको चाहना र स्वार्थका लागि यो सरकारले जनताको ज्यान लिएको छ ।’
साथै उनले नेपाली भूमिमा प्रवेश गरेर भारतीय प्रहरीले नेपाली नागरिक माथि गोली चलाउँदा समेत राज्य कानमा तेल हालेर बसेको आरोप लगाए । ‘भारत छिमेकी हो । उसले मित्रवत् व्यवहार गर्नुपर्छ’, ओलीले प्रश्न गरे, ‘के बलियो हुनुको अर्थ यही हो ?’ नेपाली भूमिमा प्रवेश गरेर नेपाली नागरिक को ज्यान लिने अधिकार भारतलाई नभएको भन्दै उनले नेपाल सरकारले यस विषयमा भारत सरकारसँग गम्भीरताका साथ कुरा गर्नुपर्नेमा जोड दिए ।
सप्तरी र कञ्चनपुरको घटनाले एमालेको मेची–महाकाली अभियानको महत्व बढाएको ओलीको दाबी छ । ‘देशको हितमा चालेको यो अभियानका क्रममा एमाले राष्ट्रियताका लागि ज्यान दिन पनि तयार छ’, उनले थपे, ‘एमालेका एक दुईजना नेता मारिँदैमा लोकतन्त्र समाप्त हुँदैन ।’ आफू देशका लागि मर्न पछि नपर्ने भन्दै उनले भने, ‘एमालेका नेताहरू लामो संघर्ष गरेर आएका छन् । देशका लागि मर्न एक पाइलो पनि पछि सर्दैनन् ।’
सभामा एमाले महासचिव ईश्वर पोख्रेलले एमाले विरुद्धको मोर्चाबन्दीले कसैलाई फाइदा नपुग्ने बताए । ‘एमालेको संकल्प कसैले रोक्न सक्दैन’, उनले भने, ‘तराई मधेसको विकास र समृद्धि एमाले बाहेक अरू कसैले गर्न सक्दैन ।’
उच्च सुरक्षाबीच कार्यक्रम स्थलमा पुगेका ओलीले सम्बोधन गरेलगत्तै हावाहुरी र पानी परेको थियो । सभा सुरु भएको करिब एक घण्टापछि हावाहुरी र पानीले कार्यक्रम प्रभावित भएपछि एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल लगायतले बोल्न पाएनन् । ओली सहित नेपाल, खनाल लगायत एमाले नेताहरू शुक्रबार हेटौंडा मै बसेका थिए । नेताहरू अभियान टोलीसँगै शनिबार बिहान चितवनतर्फ लागेका थिए ।
सप्तरी घटनापछि सतर्क बनेको एमालेले कार्यक्रममा करिब दुई हजार स्वयंसेवक र सुरक्षा निकायले करिब सात सय सुरक्षाकर्मी परिचालन गरेको जनाएका छन् । गत फागुन २३ गते सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीनजनाको ज्यान गएपछि एमालेले अभियान विरुद्ध षड्यन्त्र भएको भन्दै दुई नम्बर प्रदेश अन्तर्गतका सबै कार्यक्रम स्थगित गरेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार राजविराज पछि कञ्चनपुर, गोलबजार, जनकपुर, बर्दिबास, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर र जितपुरको सभा स्थगित गरी तीन नम्बर प्रदेश अन्तर्गत हेटौंडाबाट अभियान पुनः सुरु गरिएको हो । ‘अभियनकै बीचमा दुई नम्बर प्रदेशमा स्थगित भएका कार्यक्रम गर्ने योजना छ’, एमाले महासचिवले भने, ‘विभिन्न कारणले हुन नसके चैत पाँच गतेपछि गर्छौं ।’
आमसभा ठूलो कुरा होइन यदि कसैप्रति कसैको विश्वास छ भने घरमा बसिराखेकोलाई मत दिन्छन् । गाउँ गाउँमा घुम्नु त जनतालाई लोभमा फसाई झुठा प्रचार गर्नु मात्र हो भन्छन् शिवहरि पौडेल ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *