लाखौमा निर्माण गरिएका काठे पुल सेती नदीले बगाउँदा समस्या

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बझाङ, ९ असार
लाखौको लगानीमा सेती नदीका निर्माण गरीएका काठेपुलहरु सेती नदीले बगाउदा जनतालाई समस्या भएको छ । सेती नदी पारीका भुभागलाई सडक सञ्ंजालसँग जोड्नका लागि स्थानीय तहले लाखौं खर्च गरेर निर्माण गरेका काठेपुल चार महिना नपुग्दै सेतीले बगाएको हो । सेती नदीमा रहेका अस्थायी पुल बगेपछि केही महिना गाडी संचालन भएको जिल्लाको आधा भन्दा बढी भुगोल र जनसंख्या रहेको सेती पारीको क्षेत्र फेरी यातायात विहिन भएको छ ।
‘दुई चार महिना सुविधा पाएका यहाँका स्थानीयहरु अहिले पुरानै शैलीमा फर्किका छन् ।’ ‘सालसालै पैसा मात्र बगाउछन । बर्षभरी गाडी चढ्न पाइने कहिल्यै होईन ।’ स्थानीय मष्टा गाउँपालिकाका प्रसान्त कठायतले भने– त्यसरी बनाएका पुलका कारण व्यापारीलाई सामान थुपार्न मात्र सजिलो भएको छ । स्थानीयले खासै फाईदा पाएका छैनन् । गाडी चलेको बेला ल्याएको सामान अहिले महंगो मुल्यमा विक्री भैरहेको उनको भनाई छ । मष्टा गाउँपालिकाले झण्डै २५ लाख खर्च गरेर सम्देउ र कपडे भन्ने ठाउँमा दुई वटा काठेपुल निर्माण गरेको थियो । ती दुवै पुल सञ्ंचालन भएको ४ महिना नवित्दै बैसाखको दोस्रो हप्तातिर सेती नदीले बगाई दिएको छ । मष्टा मात्र हैन तल्कोट गाउँपालिकाले सेती नदीको रुपातोला भन्ने ठाउँमा र थलारा गाउँपालिकाकाले झनाना भन्ने ठाउँमा बनाएका काठे पुल पनि बैसाख महिनामै नदीले बगाई सकेको छ । यी सबै पुल निर्माणको लागि स्थानीय तहले ५२ लाखभन्दा बढी खर्च गरेका थिए । बझाङका स्थानिय तहहरुले प्रत्येक हिउँदमा सेती नदीमा अस्थायी पुल अस्थायी पुल बनाउनका लागि प्रतिस्पर्धा नै गर्ने गरेका छन । यस्ता पुलमा मंसिरदेखि बैसाखसम्म मात्र गाडी चल्छ । नदीमा पानीको बहाव अलिकति बढ्ने वित्तिकै जुनसुकै बेला पनि पुल बगाएर लैजान्छ । थलारा गाउँपालिकाले पुसको अन्तिम साता उदघाटन गरेको पुल चैत्र अन्तिममै सेतीले बगाई सकेको थियो ।
अस्थायी पुलका लागि स्थानीय तह र अन्य विभिन्न निकायबाट बर्षेनी लाखौ रुपैया विकास बजेट खर्च हुने गरेको छ । अर्काेतिर सेती पारीको भुगोललाई यातायात संञ्जालमा जोड्नका लागी भनेर ठेक्का लगाईएका पक्की पुल निमार्णको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन । सदरमुकाम चैनपुर नजकिै रहेको पानकोटमा निर्माण हुन थालेको पक्की पुल अहिलेसम्म बन्न सकेको छैन । यस्तै तमेलमा निर्माण गरिन लागेको र झनानामा निर्माण गरिन लागेका पक्की पुलको काम समेत अलपत्र अवस्थामा छ ।
गांउपालिका भित्रका प्राय सबै गाउँहरुमा सडक संञ्जाल पुगिसकेको तर पक्की पुल नवनेका कारण गाडी नचलेकोले आफुहरु अस्थायी पुलमा विकास बजेट खर्च गर्न बाध्य भएको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए । उनले भने ‘पक्की पुल बनेको भए त्यो रकमले अन्य काम हुन्थ्यो होला । पुल बन्ने कहिले हो कहिले ?’अत्तो पत्तो नै छैन ।
जिल्लामा पहिलो पटक काठको पुुल निर्माण गरेर गाडी संचालन गरेको खप्तड छान्ना गांउपालिकाले भने यस बर्ष सेतीमा अस्थायी पुलको लागी बजेट नछुट्याएको गाउँपालिका अध्यक्ष वर्क रोकायाले बताए । उनले भने– ‘प्रत्येक वर्ष १४÷१५ लाख बग्न थाल्यो । सबै गरेर ३०÷३५ लाख बगिसक्यो । अब त्यस्तो ठाउँमा बजेट खर्च नगर्ने निर्णय गरेका छौ’ गत वर्ष मात्र तल्कोट र खप्तड छान्ना गांउपालिकाले २५ लाख भन्दा बढी खर्च गरेर अस्थायी पुल बनाएका थिए । दुबै पुल बैसाखको अन्तिम तिर सेती नदीमा आएको बाढीले बगाएको थियो । एकातिर अस्थायी पुलमा बर्षेनी लाखौं रकम बगिरहेको छ भने अर्काेतिर ठेक्का भएर काम सुरु भईसकेका पक्की पुलहरु समयमा निर्माण हुन सकिरहेका छैनन ।
सेती नदीको पानकोट, तमैल र झनानामा तीन वटा मोटरपुल निमार्णको काम ३ वर्ष अघि नै सुरु भएको भए पनि पनि निमार्ण कम्पनीको सुस्तताका कारण कुनै पनि सम्पन्न हुन सकेका छैनन ।
जिल्ला समन्वय समितिको खर्चमा पानकोटमा निमार्णाधीन पुलको ठेक्का अवधि गत असारमा सकिएको थियो । जागृति निमार्ण सेवाले निर्माणको जिम्मा लिएको यस पुलको निर्माण सम्पन्न गर्नका लागि जिल्ला समन्वय समितिले ६ महिना म्याद थप गरे सो अवधिभित्र पनि काम सम्पन्न हुन सकेन ।
सेती नदीकै तमैलमा निर्माणाधीन पुल तीन वर्ष भित्र सम्पन्न गर्ने सर्तमा केएच कन्ट्रक्सन प्रालिले ठेक्का प्राप्त गरेको थियो । ठेक्काको अवधि ०७५ साल पुस मसान्तमा सम्पन्न हुदैछ । ११ करोड २५ लाख लागतमा निर्माण हुने यस पुलको काम हालसम्म पनि सुरु हुन सकेको छैन । यस्तै तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनु पर्ने मोटरपुलको ठेक्का २०६८ सालमा स्विकृत भएको थियो ।
याक्थुहाङ निमार्ण सेवा प्रालिले निमार्णको जिम्मा लिएको सो पुलको कुनै पनि काम हालसम्म सुरु हुन सकेको छैन । यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का भने नवीकरण गरिरहेको छ । यस विषयमा सरोकारवाला निकायले चाँसो दिनुपर्ने स्थानीय बासिन्दाको भनाई छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *