वस्तुहरुको बजारीकरण सम्बन्धि १ दिने अभिमुखिकरण








दिशानिर्देश समाचार
महेन्द्रनगर, २६ जेठ
नेपाल घरेलु तथा साना उद्योग महासंघ शाखा कञ्चनपुरले उत्पादित वस्तुहरुको बजारीकरण सम्बन्धि १ दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार महासंघले स्थानीय साना उद्योगीहरुसँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै बजारीकरण सम्बन्धी अभिमुखिकरण दिएको हो । साना उद्योगीहरुका समस्या र समाधानका विषयमा समेत छलफल गरिएको थियो । आफूमा भएको ज्ञान सीपलाई कसरी उत्पादनमुखी बनाउने र उत्पादीत बस्तुलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा छलफल भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले व्यक्तिमा भएको ज्ञान सीपलाई उत्पादनमा लगाउनुपर्ने र उत्पादित बस्तुलाई सही ढंगले बजारीकरण गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक व्यक्तिमा भएको ज्ञान सीपलाई सदुपयोग गरी उत्पादनमुखी बनाउन सके आर्थिक समृद्धि हुने कुरा उल्लेख गरे । राजनीतिक क्रान्तिको अन्त्य भई देश आर्थिक समृद्धितर्फ उन्मुख भएको वर्तमान अवस्थामा समृद्धिका लागि प्रत्येक व्यक्तिको ज्ञान सीपलाई उत्पादनमुखी बनाउन जरुरी रहेको बताउदै मेयर विष्टले साना उद्योगीहरुका लागि नगरपालिकाको तर्फबाट गर्न सकिने कुरामा आफू दृढ रहेको बताए ।







