पुनर्वासमा फेरी सीमा विवाद चर्किदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ बैशाख
कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा फेरि सीमा विवाद चर्किएको छ । वन्यजन्तु नियन्त्रणका लागि पुनर्वास नगरपालिकाका स्थानीयले सीमामा निर्माण गरेको विद्युतीय तारबार भारतीय सुरक्षा बल (एसएसबी) ले उखेलेपछि विवाद भएको हो ।
एक वर्षअघि पुनर्वास नगरपालिकाकै सीमा क्षेत्रमा ह्युमपाइप राख्ने विषयमा भएको विवादका कारण एसएसबीको गोलीले एक नेपाली नागरिकको ज्यान गएको थियो । उक्त क्षेत्रमै फेरि सीमा विवाद भएको हो । पुनर्वास नगरपालिकाको बजेटअन्तर्गत स्थानीयले जडान गरेको सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार शुक्रबार एसएसबीले उखेलिदिएका छन् ।
भारतीय बजार बसईमा रहेको एसएसबीको ३९ नम्बर बटालियनको भोला क्याम्पबाट आएको टोलीले पुनर्वास नगरपालिका–९ बिचफाँटामा जडान गरिएको तारबार दशगजामा पर्ने भन्दै उखेलेको पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा विष्टले बताइन । उनले तारबार जडानको काम सकिनै लाग्दा अचानक एसएसबी टोली आएर स्थानीयलाई धम्काउँदै तार काटेको र पोल उखेलेको बताइन । ‘पुनर्वास क्षेत्रमा दुदुुवा नेसनल पार्कबाट आउने हात्ती तथा अन्य वन्यजन्तुका कारण कृषकले हैरानी खेप्नुपरेको छ,’ उनले भनिन, ‘त्यही भएर नगरपालिकाको सहयोगमा स्थानीयले विद्युतीय तारबार लगाउन सुरु
गरेका हुन ।’ उनका अनुसार बिचफाँटामा तारबार जडानका लागि नगरपालिकाले ६ लाख बजेट छुट्याएको थियो । बिचफाँटाका कृषक हात्तीको आतंकले जमिन बाँझै छाड्नुपर्ने बाध्यतामा छन । उनीहरूले विभिन्न संघसंस्था र सरकारी निकायसँग विद्युतीय तारबार जडानका लागि आग्रह गर्दै आएका थिए । यसअघि पनि जिल्ला वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा विभिन्न ठाउँमा तारबार जडान गरिएको छ । ‘हामीले आफ्नै भोगचलन गरेको जमिनमै तारबार जडान गरेका हौं,’ हात्तीपीडित संघर्ष समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले भने, ‘जडान गर्न नपाउँदै एसएसबीले उखेलेर फाल्यो ।’ एसपी दिल्लीराज विष्टका अनुसार भारतीय पक्षले दशगजामै पर्ने भन्दै तारबार उखेलेका हुन । उनले एसएसबीको माथिल्लो निकायसँग कुरा गर्दा संयुक्त सर्भे टोली नआउँदासम्म उक्त क्षेत्रमा कुनै कामकाज नगर्ने सहमति भएको बताए । ‘तत्काल संयुक्त सर्भे टोली मगाउन पहल गर्ने कुरा भएको छ,’ उनले भने ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *