रङ्गिली होरी आइ–गइ छ, तम्री सोराइ लागि रै छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आचार्य घनश्याम लेखक
कुनै पनि संस्कृतिको सर्वाङ्गिण विकासका लागि त्यस क्षेत्रमा मनाइने पर्व उत्सव, तीज–उपहार, भाषा–साहित्य, संस्कार–संस्कृतिले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । सांस्कृतिक धरातलमा टेकेर नै मानवको व्यक्तित्व र कृतित्वको प्रस्फुटन भएको इतिहास हाम्रो सामुन्ने धेरै छन् ।
भाषा, साहित्य, कला, संस्कृतिले समृद्ध मानस क्षेत्र आजपनि अतीतका ती अमुल्य साहित्यिक धरोहरप्रति गौरव गरि रहेको छ । वर्तमानको काली–कर्णालीको भु–भागलाई मानसखण्ड, मानसोत्तर, मानस क्षेत्र भनिएको छ । गौरापर्व यस क्षेत्रको मौलिक पर्व हो भने होलोत्सव मानस संस्कृतिको धरोहर हो । कतै होरी कतै होली त कतै होलिकाका नामले यो पर्व बसन्तको उमङ्ग, शिशिरको सिरसिरे बतास हो भने सामाजिक एकताको परिचयाक हो । मनको रसिलो भावव्यक्त गर्ने सु–अवसर हो । धर्म, संस्कृति, जात–जाति, क्षेत्र, खण्डको प्रतिबन्धबाट मुक्त यस पर्वलाई
रङ्गको रङ्गिलो पर्वका रुपमा पनि लिने गरिन्छ ।
होली पर्वको प्रारम्भ वैदिक कालमा भएको संकेत पाइन्छ । वैदिक कृषकहरुले बसन्त ऋतुमा होरी जस्तै कुनै पर्व मनाउने गर्दथे । प्राचिन कालमा नयाँ वर्षको आगमन पूर्व ‘नव–शष्येष्टि यज्ञ’ गर्ने गर्दथे । नयाँ अन्नलाई अग्निमा आहुति प्रदान गरेपछि मात्र उपभोग गर्दथे । यही परम्परालाई मानसखण्ड प्रदेशमा जौका बालाहरु द्वारा घरको मूल द्वार, देवालय एवं खेतमा ‘कलै’ लगाएर मनाउने गरिन्छ । न्वागी, कुनियो, जाँतो एवं भुम्या पूजाको परम्परा पनि नव शष्येष्टि यज्ञ कै निरन्तरता हुनुपर्छ । यसैगरी होरी महोत्सवको सम्बन्ध प्रहलाद र उसकी फुपू होलिका संग पनि रहेको पाइन्छ । अग्निले पनि नजलाउन सक्ने वरदान पाएकी हिरण्यकश्यपुकी बहिनी होलिकाले पाँच वर्षे अबोध बालक प्रहलादलाई काखमा लिएर जलाउन खोज्दा स्वयं जलेर नष्ट भएको सम्झनामा यो पर्व मनाइन्छ । होलिका जलेकी र बालक प्रहलाद बाचेकोमा बालकहरुले खुशी मनाउँदै त्यही खरानीलाई एक अर्काको मुखमा दलेर उमङ्ग मनाएका थिए । खरानीलाई क्षार पनि भनिन्छ । क्षार लगाएर यो पर्वको पूर्णाहुति मानिने भएकोले होली पूर्णिमालाई क्षारेउली अर्थात् क्षारले युक्त भनिन्छ ।
होरीको परम्परा वैदिक कालको बाटो हुदै सत्ययुगमा राजमार्गको रुपमा परिणत भएर द्वापरयुगको अन्तमा लोकपर्वका रुपमा प्रसिद्ध भएको पाइन्छ । द्वापरयुगको अन्तमा लोकपर्वका रुपमा गोपिनीको आपसी प्रेमको पर्वका रुपमा प्रसिद्ध छ । श्रीकृष्णलाई रासरासेश्वर भनिन्छ । मानसरसका मूल रासेश्वर श्रीकृष्ण रसिक शिरोमणी हुन् । जीवात्मा गोपीतत्व हो भने परमात्मा श्रीकृष्णतत्व हो । जीवात्माको परमात्मा संगको उमङ्गको पर्व होरी हो । होरी रंगको पर्व हो । रङ्गिलो उत्सव हो । यस पर्वमा गोपीमनका अनेक रङ्गहरु रङ्गनाथ संगको मिलनको लागि लालायित हुन्छन् । त्यसैले गोपीमनले विरहका साथ पुकार लगाउँछन् – ‘रङ्गिली होरी आइ–गइ छ, तम्री सोराइ लागि रै
छ । काँ छै ला मुर्कट्या वंशी बजौन्या, तेरा बाटा नजर लागि रै छ’ अर्थात् वंशीको उमङ्ग संगै मानव मनका भावहरु निर्लज्ज भएर पोखिने गर्दछन् । परमात्मा मिलनमा जीवात्माको विरह गीत नै होरीका गीत हुन् । आफ्ना प्रियतमालाई कपटी, छलिया, मुर्कट्या जस्ता शब्द प्रयोग गर्नु प्रेमको पराकाष्ठा हो । गोपिनीहरुले रासलीलामा गाएको ‘गीपी गीत’ को प्रतिविम्ब खडीबोलीमा रहेको होली गीतमा सुन्न सकिन्छ ।
फागुन शुक्ल अष्टमी देखि पूर्णिमा सम्मका ८ दिन सम्म खेलिने अथवा मनाइने भएकाले ‘होलाष्टक’ भनिन्छ । अष्टमी देखि कहिले लड्डु, कहिले फूल, कहिले अवीर–गुलाल, कहिले रङ्गभरी पिचकारी त कहिले लठ्ठी द्वारा खेलिने होरीको दृश्य वृन्दावन, मथुरा, नन्दागाउँ, गोकुल, बरसाना आदि ब्रजमण्डलका गाउँ शहरमा देख्न सकिन्छ । श्री राधारानीको माइतीघर बरसानाको लठ्भार होली विश्व प्रसिद्ध छ । नन्दगाउँका ग्वाला र वरसाना गाउँका ग्वालिनी बीच लठ्ठी र ढालले खेलिने यो होली अत्यन्तै मनमोहक हुन्छ । यही परम्परा हाम्रो गाउँ शहरमा पनि देख्न सकिन्छ ।
घर–घर गएर खेलिने होलीको परम्परा ब्रजमण्डलबाट कुमाउँको बाटो हुदै पूर्वी नेपाल सम्म फैलिएको छ तर गाएर होली खेलिने परम्परा पश्चिम नेपाल र कुमाउँमा मात्र देखिन्छ । रंगिली होलीको अनन्त अनन्त मानस शुभकामना व्यक्त गर्दछु ।

बलदेव अवस्थी

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *