ग्रामीण भेगका बासिन्दा फोहर पानी पिउन बाध्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
डडेल्धुरा, १० चैत्र
प्रदेश नं. ७ का पहाडी इलाकाको ग्रामिण भेगमा पानीको समस्या दिनप्रतिदिन बढदै गएको छ । सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका
बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउँछन् । नवदुर्गाको सुनकोट जस्तै अजयमेरुको हाट, अमरगढीको हतर्कालगायतका ठाउँमा खानेपानीको समस्या भोगिरहेका छन् । हिउँद नसकिँदै पानीको समस्या आइपरेको र खोलानालाको पानीको भरमा खानेपानीको गुजरा चलाइरहको सुनकोटकी लक्ष्मी विकले बताइन् । दुई सय भन्दा बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्नसक्यो भने खानेपानी पाउने गरेको र नत्र खोलाको फोहरपानीले नै खाना र अन्य कुराका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनकोटका अर्की महिला राजु भुलले दुखेसो पोखिन् । कोटेली गाउँमा नै खानेपानी समस्या रहेको
भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताइन् । घरको एकजनाले पानी भर्नमा नै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयवासीले जानकारी गराएका छन् ।
दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताइन् । धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने वा दुई तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी धर्म विकले बताए । नुहानका लागि समेत पालो कुर्नुपर्ने स्थानीयवासीको भनाइ छ । शौचालय र अन्य सागपातका लागि सिँचाइ सुविधा नभएको स्थानीयवासीले जानकारी गराएका छन् । स्थानीयस्तरमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्याबाट मुक्त हुने आशा बोकेका सुनकोटका सर्वसाधारण
फेरि आफ्ना दुःख उस्तै रहेको बताउँछन् । सुनकोट लगायत साविको कोटेली गाविसका धेरै गाउँ खानेपानी समस्या भोग्दै आइरहेका छन् । सुख्खायाम लागेसँगैं ग्रामीण भेगमा पानीका मूलसुकेर जान थालेपछि खानेपानी समस्या देखिन थालेको हो । जथाभावी जंगलकोबिचबाट सडक खन्दा मूलसुक्न थालेको स्थानीयवासीको भनाइ छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *