के हो मानसरस सिद्धान्त ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

– आचार्य घनश्याम लेखक
‘मन एवं मनुष्याणांं कारणं बन्धमोक्षयो’ मान्छेको मन नै बन्धन र मोक्षको कारण हो, मनका दश घोडा छन्, ती घोडाहरु माथि विजय प्राप्त गर्नु नै मानस बन्नु हो । जीव जब सम्म मानस बन्न सक्दैन तब सम्म जतिसुकै दान–पुण्य, तीर्थ–व्रत भक्ति–भाव, उपकार–परोपकार गरे पनि सर्वशक्तिमान हंस स्वरुप ब्रह्मलाई प्राप्त गर्न सक्दैन । मानिसका शत्रु र मित्र यसै हाड मासुको पुतला भित्र छन् । जसले यी दशरथ माथि विजय पाउन सक्यो त्यो देहवान प्राणी नै अवध सम्राट बन्छ ।
आत्माको कहिल्यै पनि बध अर्थात् नाश हुदैन । अविनाशी परमात्माको अविनाशी अशं भएको हुनाले मानव देहमा आएको आत्मा नै अवध हो । त्यसै अवधमा श्रीरामको जन्म हुन्छ । परमात्माको प्राप्ति का लागि मानस विगलित भएर रसमय हुनुपर्छ । ‘रसो वै स’ ईश्वर रस स्वरुप हो, त्यसको प्राप्तिको लागि मानसबाट नै रस उत्पम्न हुनु मानस रस हो । देहको शुद्धि र बुद्धिलाई विर्सेर विदेह अर्थात् मानस बनेर त्यो रस पाउन सकिन्छ । गीतामा श्रीकृष्णाले अनेक पल्ट मानस बन्न उद्घोष गरेका छन् । “मनमा भक्त भदभक्त मद्याजिमा नमस्कुरु” हे मानस ! तिमी आफ्नो सम्पुर्ण मन मलाई दिएर मेरा भक्त बनेर मलाई नै नमस्कार गर मानिसको उत्पत्ति परमात्माको दिव्य सङ्कल्पले उनकै “मन” बाट भएको हो । त्यसैले यसलाई “मानस” भनिन्छ । त्यही शब्द मानिस, मानुष, मानव, मनुष्यका रुपमा प्रयोग भएको छ । मानिस परमात्माको मन भएकाले त्यसले रस रुप परमात्मालाई पाउने नैसर्गिक अधिकार छ । त्यो अधिकार तब मात्र प्राप्त गर्न सकिन्छ जब हामी हाम्रो मनलाई मानसरसमय बनाउन सक्छौं । “मनुः मनुर्भवः मानस एत्य” भनेर वेद भगवानले जीवात्मालाई सर्वप्रथम “मानस वन” मानस बन मानसमा जाउ भन्ने आदेश दिएको छ । यस आधारमा मानसरस सिद्धान्तका अनुसार परमात्मा प्राप्तिको मुल ढोका मनलाई “मानस” बनाउनु हो । अर्काे अर्थमा आफूलाई मानसिक रुपमा बलियो बनाउनु मानस भाव हो । म मानस हु भन्ने भाव नआउञ्जेल मनमा मानसरस उत्पन्न हुन सक्दैन । कुनै पनि नयाँ विचारको उत्पत्ति पवित्र मनको उपज हो, त्यसै पवित्र जलमा विचरण गर्दछन् । हंस ईश्वरको बाचक हो, प्राणलाई हंस भनिन्छ, हंसको बास मानसमा हुन्छ, मानसमा यदि रस अर्थात पवित्र जल छैन भने हसं त्यहाँ बस्दैन । त्यसैले चञ्चल मनलाई निश्चञ्चल बनाउन मानस भावको आवश्यकता पर्दछ । त्यही पवित्र भावनालाई मानसरस सिद्धान्त भनिन्छ । मानस गुरु द्धारा प्रतिपादित यस सिद्धान्त अनुसार प्रत्येक प्राणीले स्वर्गादिलोक अथवा कुनै लोक लोकान्तरमा जानका लागि मानस लोक कै मार्ग भएर जानु पदैछ, मानस पथको पथिक नभइकन कुनै पनि मानिस न बैकुण्ठ, न कैलाश, न सत्य, न मणिलोक अर्थात् कुनै पनि लोकमा जान सक्दैन । मानसरस सिद्धान्तलाई “मानसदर्शन” पनि भनिन्छ । यस दर्शनका अनुसार नर–नारी हरेक व्यक्तिले कुनै देहधारीलाई मार्गदर्शक का रुपमा गुरु अनिवार्य रुपमा बनाउनु पर्छ । “विन गुरु भव निधि तरहीन कोहि, जो विरिञ्चि ईशसम होई” निगुरा अर्थात् गुरु द्वारा कान नफुकिएको व्यक्ति अपवित्र हुन्छ । यज्ञ यागादि कुनै पनि श्रुति–स्मृति पुराणोक्त अनुष्ठान सम्पन्न गर्न मन्त्र दीक्षा लिएको हुनुपर्छ । श्रृति–स्मृति पुराणको आधिकारिक प्रदाताको नाम गुरु हो । गुरुले नै मानसरस दर्शन गराउँछ । मानसरस बाट परमात्माको उत्पत्ति हुन्छ भने मानसरस बाट जीवात्माको उत्पत्ति हुन्छ । “रस एवं सर, सर एवं रस” रस नै सर हो सर नै रस हो । त्यसैबाट “सो अहं” को उत्पत्ति
हुन्छ । आध्यात्मिक सिद्धान्तमा ‘स’ अर्थात परमात्मा अगाडि अहं अर्थात जीवात्मा पछाडी हुन्छ भने मानस रस सिद्धान्त अनुसार ‘अहं’ अर्थात हंस (जीवात्मा) पहिले ‘स’ अर्थात परमात्मा पछाडी हुन्छ । लोकिक सिद्धान्तमा पनि पहिले जीव जन्मन्छ, अनि त्यसले परमात्मालाई प्राप्त गर्छ, त्यसैले यस जीवात्मालाई हंस भनिन्छ, मानस हंस भनिन्छ । मानस–हंस अनेकार्थी शक्यांश हो । एउटा अर्थ मानस सरोवरमा पाइने हंस हो भने अर्काे अर्थ मानस तनमा आएर बस्ने हंस अर्थात् प्राण हो । हुन त जीवात्मा र परमात्माको उत्पत्ति एकै साथ भएको हो । “द्वासुपर्णा सयुुजा सखाया” अर्थात दुबैका सुवर्ण प्वाँख थिए, सखा थिए जीवात्माले संसार रुपी पीपल वृक्षको फलफूल खायो, फलतः सुख दुख पायो, ईश्वर साक्षी मात्र रह्यो उसले दुख सुख पाएन । यसरी सामान्य दृष्टिले हेर्दा जीवात्मा जेठो र परमात्मा कान्छो देखिन्छ । यसै कारणले वैदिक सो ‘अहं’ शब्द हंसका रुपमा रुढ हुन पुगेको छ । त्यही हंस मानसरस सिद्धान्त मुल हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *