नेपाल आमाका धड्कन जगत गुरु








–बलदेव अवस्थी । हामी सोच्दथ्यौं भन्दा म सोच्दथे यो धर्ती बाँझो परेको छ । अब कुनै विरुवा उत्पन्न हुनेछैन । भएका राम्रा नराम्रा विरुवाहरु माओवादीले उखेली सक्यो, काटी सक्यो भन्ने हामी सबैलाई थाहा थियो । माओवादीहरुले नेपाल आमाको काखमा सुतेका बालकहरुको हत्यापछि निरास भएकी नेपाल आमाले एउटा सपुत विरुवा उत्पादन गरेकी छिन् । नेपालका प्रथम ऐतिहासिक जगतगुरु अनन्त विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराज नामक श्रीखण्डरुपी पवित्र विरुवा नेपाल आमाले उमारेकी छन् । हामी यहि धर्तीमा यही गाउँमा जन्मेर हुर्केर बसिरहेका भएपनि यो देशका पौराणिक ऐतिहासिक धार्मिक तथा मार्मिक स्थलहरु हराएका थिए । कस्तुरी मृगले विनाको बासना खोजेझै अलमली रहेका थियौं । नेपालमा बसेर जन्मेर नेपाल खोजी राखेका थियौं र पाउने आसा झिनो भएको बेला एक्कासी हामीले नेपाल आमालाई पाएका छौं । आफ्नो मातृभुमिको पहिचान पाएका छौं । विना धड्कनको देशमा आज धड्कन स्थापित भएको छ । जसले नेपाल आमालाई माया गर्छ उही यस देशको सन्तान हो ।
जगत गुरु पनि एक परिवारमा जन्मेका थिए । आफ्नो घरपरिवार परित्याग गरी नेपाल आमालाई नै घर नेपाली जनतालाई मात्र होइन पशुपन्छिलाई समेत परिवार मानी रहेका जगतगुरु कैलाली, कञ्चनपुर, बर्दिया पसेपछि उहाँ अचम्मित पर्नु भयो । नेपाल आमाको जन्म भएको दिन देखि नेपालमा मात्र होइन विश्व हिन्दु जगतले गाईलाई गौमाता आमा मानी आएकोमा आज आएर नेपालका जिल्लाहरुमा गौमाताको बेइजतीपूर्ण तरिकाले दुःख दिई काटमार गरेको देख्दा जगतगुरुको आत्मा रोएको छ र उहाँले कञ्चनपुर जिल्लामा प्रवेश गरेको दिन गत शनिबार देखि नै अन्न खान छोडि दिनुभयो । जबसम्म यहाँका माता जीहरुले छोडेका गौमातालाई फिर्ता आफ्नो घरमा ल्याउँदैनन् तबसम्म अन्न नखाने प्रण गर्नुभएका बालसन्त जगतगुरुको जीवन रक्षाको लागि पनि हामी कञ्चनपुर कैलालीबासीहरुले दुध खाई गोठबाट मध्य रातमा निकाली बजार नगरपालिकामा समेत पु¥याएका गौमतालाई फिर्ता ल्याउनु पर्ने हाम्रो दायित्व तथा कर्तव्य रहेको छ । नेपाल र नेपालीको खातिर आफ्नो जीवन समर्पण गर्ने जगतगुरुका वाणीहरु द्वारा हाम्रो समाजले केही राम्रा गुणहरु प्राप्त गरोस् भन्ने धारणा हामी सबैमा छदाछदै पनि राष्ट्रिय जनावर वैज्ञानिक तथा धार्मिक रुपले पवित्र गाईको वापसी गोठ भित्र गरिनु पर्दछ ।
नेपालका नदिनाला धार्मिक स्थलको यथार्थको पहिचान गराइ दिनु भएका छन् । देशका ७५ वटै जिल्लाका गाउँ गाउँबाट कञ्चनपुरको महेन्द्रनगर भम्केनी धाममा ७५ फिट अग्लो अष्ट धातुको नेपाल आमाको मूर्ति बनाउन नगद धातु संग्रह गरी राख्नु भएकोमा उहाँलाई धन्य छ । पूर्वमा जन्म लिई पश्चिम क्षेत्रमा रहेको पौराणिक धाम भम्केनी सित हाम्रो पहिचान गराई दिनु भयो । जगतगुरुको पदार्पण कञ्चनपुरमा हुदा खुसी छौं तर हामीले पालेका गाईहरुलाई हामीले नै लगेर सडकमा छोडेको देख्दा जगतगुरु रुनु भयो र अन्न नखाने प्रण गर्नुभयो । त्यसैले हामीले पनि प्रण गरौं कि हामीले छोडेका गाईहरुलाई फिर्ता ल्याऔं ।
नेपाल देश कानूनी राज्य हुनुपर्नेमा कानून र धर्म दुबै नेताहरुले त्यागी दिएको हुदा देशलाई नियन्त्रणमा राख्न नसकिने निश्चित ठान्दछन् बुद्धिजीवहरु । जुन देशमा न ऐन कानून छ न धर्म छ भने देश कसरी चल्न सक्छ ? आज पुरा देशमा अराजकताको विऊ रोपिएको छ । जसरी २०४७ को संविधानको उल्लङ्घन भएको थियो २०७२ को संविधानको अवस्था पनि त्यस्तै हुने संकेतहरु देखिदैछन् । आफैले बनाएको संविधान गिरिजाप्रसादले अवज्ञा गरी देशमा माओवादीको नामबाट रक्तपात गराएको कुरा लुक्न सक्तैन । आज अमेरिका नजिक भएको छ । नेपालका जिल्लाहरु अमेरिका भन्दा टाढा भएका छन् । त्यस्तै नेपाली नेपाली बीच फुट गरी गराई हिन्दु धर्म माथि आक्रमण गरी क्रिश्चियन धर्मलाई आत्मसात गराई रहेका छन् हाम्रा नेताहरु । सबै धर्मको सम्मान गरी व्यवस्थित गरी गराई राख्ने उदार हिन्दु दर्शनलाई ईसाई दर्शनमा रुपान्तरण गराई रहेका छन् । नेपालीपनलाई माओ–लेलिनकरण गरिएको छ । नेपालका राजनीतिक पार्टीहरुले नेपाल निर्माता सहितका फोटाहरु आफ्नो कार्यकक्षबाट हटाई माओ–लेलिनहरुका फोटाहरु सजाएका छन् । नेपालको पुरानो सीमाना समेत बचाउन नसकिकन नयाँ नेपालको नामाकरण गरी रहेका छन् । के हाम्रो वीर योद्धा राष्ट्र निर्माताका फोटाहरु हटाई विदेशी नागरिकहरुका फोटाको पूजा गर्दैमा नयाँ नेपाल हुन सक्छ ?
राजा पृथ्वीनारायण शाह र राजा महेन्द्र जस्ता देशद्रोही हुने तर विदेशी नेताहरुका फोटा मुटुमा राख्नेहरु राष्ट्रवादी हुन् भने कुन राष्ट्रका हुन् ? आज नेपालीहरुलाई नेपालको नागरिकता परित्याग गरी विदेशका नागरिकता लिने होडबाजी किन चल्यो ? त्यस तर्फ गहन अध्ययन हुन जरुरी छ । देशका पुरा संघ संगठनहरु भ्रष्टाचारी भएका छन् । त्यस कुराको पुष्टि डाक्टर गोविन्द केसीहरुको आमरण अनसनबाट समेत प्रष्ट भएको छ । अरु त छोडौं पश्चिमको कुरा गर्दा सु.प. विश्वविद्यालय समेत भ्रष्टाचारमा लिप्त भएको छ । यहाँका जनताको ठूलो बलिदानबाट प्राप्त विश्वविद्यालयमा यस्तो वर्तमानमा जे भ्रष्ट काम भइरहेका छन् त्यस्तो आशा गरेका हुदै होइनन् । राजनीतिक पार्टीहरुको गुलाम भ्रष्टाचारको मुल फुटेको विश्वविद्यालयको नियन्त्रण हुन जरुरी छ । अराजकताको मुल भएको छ आज विश्वविद्यालय । त्यसकारण विश्वविद्यालय सञ्चालनमा व्यापक बाधा अवरोध आइरहेको पाइन्छ ।







