राजा महेन्द्र र राजा वीरेन्द्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट

कतिपय मानिसहरुले राजा महेन्द्र र राजा वीरेन्द्र यी दुईका बीचमा तुलना गर्ने गर्दछन् । धेरै समानता भएकोमा तुलना हुन्छ । जहाँ धेरै भिन्नता हुन्छ त्यहाँ तुलना भन्दा फरक देखाइन्छ । मेरो अध्ययनमा राजा महेन्द्रको व्यक्तित्व विश्वका नेताहरुमा हुनुपर्ने गुणले भरिएको अन्तरमुखी प्रकृतिको थियो । धेरैको कुरा धैर्यपूर्वक सुन्ने, तत्काल केही प्रतिक्रिया व्यक्त नगर्ने तर विचार गर्ने, विशेष कुराहरु आफैले पढ्ने, हेर्ने र विचार गर्ने, आफुले के काम गर्न लागेको हो सम्बन्धित व्यक्तिबाहेक अरुले थाहा नपाउने, महाकवि कालिदासले ‘फलानुमेया राजानः’ भनेजस्तै काम भइसकेपछि मात्र सबैले थाहा पाउने महेन्द्रको यस्तो चरित्र थियो । राजा वीरेन्द्रको स्वभाव भने आफ्नो सम्पर्कमा भएका वा अगाडि भएका धेरैले जे भन्छन्, प्रायः त्यही गर्ने, अरुको बढी भर पर्ने र चिन्तन–मनन कम गर्ने मैले पाएँ ।
राजा महेन्द्रबाट २०१५ साल र त्यसपछि पनि देश भ्रमण एक्लै भयो । यस्तो गरिनुमा कारण यातायातको असुविधा पनि हुन सक्छ । राजा वीरेन्द्रबाट भने अञ्चल वा क्षेत्रीय भ्रमणमा जाँदा बडामहारानीका साथै जाने चलन बस्यो । राजा महेन्द्रबाट बडामहारानीलाई पोखराको रत्नमन्दिर वा चितवनको दियालो जंगलमा राज हुदा वा सवारी सिकार निम्ता वा विदेश भ्रमणमा साथै लगिबक्से पनि अरु समय उहाँलाई दरबारभित्रैको काममा वा परिवारमा बस्नुपर्दथ्यो । तर राजा वीरेन्द्रबाट बडामहारानीलाई जहाँ पनि साथै लाने र बाहिरी काममा सरिक गराई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्, पशुपति क्षेत्र विकास कोष, बाल सङ्गठन तथा महिला सङ्गठनजस्ता सामाजिक र धार्मिक काम हेर्ने गरी कामको नेतृत्व प्रदान भयो ।
श्री ५ पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकिकरणताका पाटनमा बसेका केपचुन पादरीहरुलाई नेपालबाट हटाइएको रिस इसाई धर्मावलम्बीहरुले लिएका रहेछन् । बडामहारानी सामाजिक सेवा समन्वय समितिको अध्यक्ष भएको बेला धर्मपरिवर्तन गरेका मुद्दामा इसाई धर्मावलम्बीहरुलाई अदालतबाट सजाय भएकोमा पनि रानीले गराएको भनी इसाई धर्मावलम्बीहरु रिसाए, राजतन्त्रको विरोधमा लागे, तन, मन र धनले सहयोग गरे । यसबाट ठूलो बेफाइदा भयो ।
२०४६ सालको आन्दोलनमा इसाई धर्मावलम्बीहरु राजसंस्थाको विरोधमा देश विदेश पुरा सक्रिय भए । राजा महेन्द्रको कार्यशैली र राजा वीरेन्द्रको कार्यशैली फरक थियो । कार्यशैली व्यक्तिपिच्छे फरक हुनु स्वभाविक हो । राजा महेन्द्रको कार्यशैली बारे अधिवक्ता कृष्णप्रसाद भण्डारी भन्दछन् “म राजा महेन्द्रको कार्य विरुद्ध मुद्दा लड्ने भएपनि उनलाई म खुबै मान्दछु । मैले उनका विरुद्धमा मुद्दा गरे पनि उनले मसँग कहिल्यै प्रतिशोधको भावना राखेनन् । सधै विद्वानकै दर्जा दिइरहे ।”
राजा महेन्द्रलाई नीतिशास्त्र अनुसार दिन पनि सक्ने र हर्न पनि सक्ने राजसी व्यक्तित्व भएका राजा भन्थे । राजा वीरेन्द्रको व्यवहार संबैधानिक राजाको जस्तो थियो । राजा वीरेन्द्र दिने कुरामा अनुदार भएपनि उहाँकै पालामा राजतन्त्रको बढी विरोध भयो ।
नीतिशास्त्रमा बताएजस्तै राजा महेन्द्रको दण्डनीति सबै जागा र कडा थियो । राजा वीरेन्द्रमा दण्डनीति नै थिएन भने हुन्छ । उहाँका समयमा दण्डनीति अदालतबाट मात्र सञ्चालित थियो । राजा महेन्द्र पूर्वीय राजनीतिकारहरुको मार्गदर्शनमा चल्ने र युगानुकुल त्यसलाई प्रयोग गर्ने खालको हुनुहुन्थ्यो । राजा वीरेन्द्र भने आधुनिक राजाहरुले चल्नुपर्ने नीतिमा चल्नु सरल हुनुहुन्थ्यो ।
दुबै राजाहरुले भोगेको शिक्षा पद्धति र पाएको शिक्षा फरक थियो । राणाहरुले अरुलाई शिक्षित हुन नदिने नीति अन्तर्गत राजा महेन्द्रलाई पनि नारायणहिटीको पर्खालको घेरा भित्र राखियो र केवल संस्कृतका बुढा गुरुहरुबाट मात्र संस्कृत र नेपालीको साधारण तर सुत्र भएको नीति शिक्षा हितोपदेश पञ्चतन्त्र र चाणाक्य नीति आदिको शिक्षा दिइयो । महेन्द्रबाट आफुले अंग्रेजीको औपचारिक शिक्षा नपाएकाले छोरा वीरेन्द्रलाई आधुनिक राम्रो अंग्रेजी शिक्षा दिन पहिले दार्जिलिङको सेन्ट जोसेफ बोर्डिङ स्कुल र पछि बेलायतको इटन कलेजबाट उच्च शिक्षा प्राप्तिको प्रबन्ध भएको थियो । त्यसैले गर्दा राजा वीरेन्द्रमा राजा महेन्द्रको जस्तो पूर्विय नीतिशास्त्रको अध्ययनमा कमि थियो । राजा वीरेन्द्रलाई कतिपयले सरल, भलादमी र मितव्ययी राजा भन्दथे ।
हिन्दु राजा भएअनुसार धर्म र संस्कृतिका क्षेत्रमा राजा महेन्द्रको अभिरुचि बढि थियो । त्यसैले २०१३ सालमा राजदरबारमा नै कोटी होमपछि पशुपतिनाथ मन्दिर परिसरमा महारुद्राभिषेक, दाङमा बृहत आध्यात्मिक सम्मेलन आदि सम्पन्न भए । त्यसमा भारतका प्रसिद्ध धार्मिक तथा विद्वान करपात्री आदियोगी सन्त र विद्वानहरुको उपस्थिति थियो । सोही समयमा राजा महेन्द्रलाई हिन्दु सम्राट घोषित गरिएको थियो । उपत्यकाका देवस्थलहरुको जीर्णाेदार पनि उहाँले नै गराउनु भएको हो । राजा वीरेन्द्रलाई पनि हिन्दु सम्राटको उपाधी बृहत धार्मिक सम्मेलनका अवसरमा एक भव्य समारोहका बीच दशरथ रंगशालामा प्रदान गरिएको थियो । जनआकांक्षा र लोकसम्मतिका आधारमा राजाले राज्य गर्नुपर्छ अर्थात् “प्रजारञ्जनाद राजा” को मर्यादामा चल्नुपर्छ भन्ने धारणा राजा महेन्द्रको थियो । राजा वीरेन्द्रबाट लोकसम्मतिलाई मुल आधार मानि राज्य गर्नुपर्छ भन्ने मान्यता अनुसार जनमत संग्रह गराइएको थियो ।
राजा महेन्द्रको जीवनशैली विचारमा उच्च र स्वाभिमानयुक्त थियो । तर राजा रानी विरामी हुदा खोपीमा पुग्ने वीरेन्द्रका धेरै सवारीमा साथै जाने डाक्टर खगेन्द्र भन्दछन् ‘राजा वीरेन्द्रको दिनचर्या, बसाई, खानपिन पनि साधारण नै थियो । बाहिरबाट भव्य देखिने नारायणहिटी दरबारका बासिन्दा भएपनि उनको जीवनशैली मध्यम वर्गको नेपालीको जस्तै थियो । तर राजा भन्दा रानी ऐश्वर्य भड्किलो जीवनशैली, पहिरन र खानपान रुचाउँथिन् ।
राजा महेन्द्र र राजा वीरेन्द्र दुबैको शासनकालमा प्रधानमन्त्री भएका कीर्तिनिधि विष्ट राजा महेन्द्र र राजा वीरेन्द्र शीर्षक लेखमा भन्नु हुन्छ “राजा वीरेन्द्र पनि राष्ट्र विकासमा चिन्तित थिए । राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका निमित्त उनको योगदान उच्च नै छ । पाँच विकास क्षेत्रको स्थापना र नयाँ शिक्षा योजना उनले देश बनाउने ध्येयले नै ल्याएका थिए ।”
नीतिगत तहमा राजा महेन्द्रको भुमिका रह्यो । देश बनाउनु छ र एउटा गतिमा अगाडी बढाउछु भनेर शासनसत्ता लिइएको व्यक्तिले त्यस्तो गर्नु अस्वाभाविक त होइन । नेपालको राष्ट्रिय एकता, सम्मान र स्वाभिमानका निम्ति महेन्द्रले चालेको कदम भोलीको पुस्ताले पनि गौरव र आत्मसम्मान गर्ने खालका छन् ।
यसरी दुबै राजाका विषयमा विचार गर्दा वीरेन्द्रले ल्याएको नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव, नयाँ शिक्षा पद्धति, सामाजिक व्यवहार, सुधार ऐनको व्यवस्था, जनमत संग्रहबाट अनुमोदित व्यवस्था, पाँच विकास क्षेत्र र विकासका अवधारणा तथा राजसंस्था दिगो बनाउन ल्याएको संबैधानिक राजतन्त्र जस्ता राम्रा कुरा भएपनि ती सबै दिगो रुपमा स्थायी हुन सकेनन् ।
महेन्द्रले ल्याएको पञ्चायत व्यवस्था ३० वर्ष चल्यो । त्यो बेला पूर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, कोदारी राजमार्ग, मुलुकी ऐन, भुमिसुधार, प्रज्ञा भवन, राष्ट्रिय सभा गृह, राष्ट्रिय नाँच घर, सैनिक मञ्च, खुलामञ्च आदि स्थायी रुपमा रहेका छन् । यस्ता कुराले राजा महेन्द्रलाई जीवित बनाइ राखेका छन् । कीर्तिर्यस्य स जिवति (जसको कीर्ति छ ऊ नै जीवित रहन्छ) । महेन्द्रको भनाई थियो म मरे पनि मेरो देश बाचिरहोस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *