संस्कृति, परम्पराहरुको सान्दर्भिकता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशको मुल कानून २०७२ सालको संविधानले नेपाल धर्म निरपेक्ष, संघीय गणतन्त्रलाई ठूलो महिमा मण्डित गर्दै राष्ट्रका नियन्ताहरुबाट प्राप्त उपलब्धी भनी गर्व गर्दछन् । यस सन्दर्भमा व्यवहार कुन प्रकारबाट प्रवाहित भइरहेको छ समीक्षा गर्न सामयिक लागेको हुनाले चर्चा गर्ने प्रयास हो ।

भरखरै बसन्त पञ्चमीको पर्व सम्पन्न भयो । हिन्दुत्व वा खस आर्यबाट मनाइने पर्वलाई सार्वजनिक विदा दिने प्रयोजन थिएन । त्यो भएन पनि तर अन्य विविध प्रसंगहरुमा धेरै सार्वजनिक विदा दिने सरकारी निर्णय आश्चर्यमा पार्ने प्रकृतिका छन् किनभने नाम परम्परा केही नजानिएका बहुसंख्यक वर्गलाई विदाको औचित्य के हो भन्ने सम्मको पनि चित्त बुझ्दो जवाफ कहीबाट मिल्दैन । नेपालमा विभिन्न संस्कृति, परम्पराहरुको निर्वाह हुने गर्दछ । यो सकारात्मक पक्ष पनि हो । त्यसले सभ्यताको पृष्ठभुमि, उत्पत्ति, विकास र सान्दर्भिकतालाई सम्बोधन गर्दछ । यो कुनै मानविय वा तर्कको विषय बनाउन उचित नहोला तर विवाद र आश्चर्य तब सुरु हुन्छ जब यी संस्कृति परम्परा सोझै धर्मसँग जोडिएका हुन्छन् । राज्यमा त धर्म निरपेक्षता छ । आम सर्वसाधारणले यसमा आफ्नो इच्छा अनुसार स्वतन्त्रतापूर्वक उपयोग र सहभागिता जनाउन पूर्णतः स्वतन्त्र छन् तर राज्य शासनतन्त्र समग्र रुपमा सक्रिय भएर यस्ता धार्मिक सांस्कृतिक परम्पराहरुसँग सहभागी हुन्छ भने धर्म निरपेक्षताको मर्म विपरित संविधानको भावना मनसाय विरुद्ध हुने यथार्थबाट भाग्न मिल्दैन ।

प्रसंग बसन्त श्रवण गर्न राष्ट्रपति स्वयं शासनतन्त्रका सर्वाेच्च पदाधिकारी सहित हनुमानढोका दरबार गएका समाचार प्रमुख रुपमा प्रसारित हुन्छन् । त्यस्तै भोटो देखाउने जात्रामा सक्रियता देखिन्छ । दशैंमा टीका लगाउने, गोर्खा दरबारबाट फूलपाती भित्राउने, धादिङबाट मगर जातिकाले फूलपाती काठमाण्डौं भित्राउने, गुरुजीको पल्टन सहभागी हुने, टुडिखेलमा सैनिक परेड हुने यावत विषय संविधान अनुकुल छन् कि छैनन् ? धर्म निरपेक्ष शब्द सँग यसको तादात्म्यता छ वा विपरित गएको छ ? आजको समय सन्दर्भमा यसको विश्लेषण र समाधान हुनै पर्दछ । कानून बन्ने तर पालन नभई विपरित क्रियाकलाप भएमा त्यसबाट कस्तो परिणाम निस्कन सक्छ ।

यसलाई गम्भीरतापूर्वक मनन गर्नै पर्दछ । यस्ता सांस्कृतिक परम्परा राजतन्त्रका अनिवार्य हिस्सा थिए । राजाको भुमिकामा निर्वाह गरिने यी परम्परा निरन्तरता पाइ रहनुको तात्पर्य शाह वंशको सट्टा अर्काे राष्ट्रपतिले त्यसै भुमिका पालन गर्न पर्दछ भनेर मुल कानूनले अनुमति दिन्छ कि दिदैन । पशुपतिमा पूजा अर्चना गर्ने राष्ट्राध्यक्षको दायित्व कर्तव्य र धार्मिक रुपले अनुकुल पर्छ कि पर्दैन ? यसको गम्भीरतापूर्वक समीक्षा भएन भने अकल्पनिय दुष्परिणाम संभाव्य हुन सक्छन् । कालान्तरमा कुनै मुस्लिम धर्मावलम्बी वा ईसाई राष्ट्राध्यक्ष भएमा पशुपति भित्र पूजा अर्चना गर्ने, बसन्त श्रवण गर्ने, दशैंको टीका लगाउने, भोटो देखाउने, जात्रामा सक्रिय भएर सांस्कृतिक परम्पराहरुको भुमिका निर्वाह गर्ने कि नगर्ने ? यो गम्भीर प्रश्न धर्म निरपेक्ष राष्ट्र घोषित भएको नेपालका लागि यक्ष प्रश्नका रुपमा खडा भएको अनुभुति भइरहेको छ ।

ईसाइहरुका क्रिसमस, त्यस्तै इस्लाम धर्मका अनुयायीहरुका विविध परम्पराहरुमा राष्ट्र प्रमुख लगायत शासनतन्त्रको सहभागिता सुन्नमा आउँदैन । यो त ठाडै विभेद भयो । रेडियो नेपालले विहान पशुपतिनाथको भजनबाट कार्यारम्भ गर्छ, कुरानका आयातहरु वा बाइबलका जै मसीह, अल्लाहो अकबरबाट प्रारम्भ भएको त सुनिदैन । यी विडम्बनापूर्ण गतिविधिहरुले के तर्फ संकेत गर्छ ? यही हो धर्म निरपेक्षताको प्राप्त उपलब्धी ?

भारतमा गणतन्त्र छ । पाँच सय भन्दा बढी राज्यमा राजाहरुको शासन थियो । प्रधानमन्त्री इन्दिरा गान्धीको शासनकालमा मात्र राजाहरुलाई प्रदान गरिने प्रिवीपर्श समाप्त पारिएको हो तर सांस्कृतिक परम्पराहरुलाई राज्य भन्दा पृथक रुपमा पालन गर्दै कतिपय हिन्दु धार्मिक स्थलहरुमा पूर्व राजपरिवारका सदस्यहरुबाट नै परम्परा पुरा गरिन्छ । नेपालका धर्म निरपेक्षतावादीहरुले यो बुझ्न जरुरी छ दशैंमा किन पेश्की अतिरिक्त भत्ता वितरण भएर लामो विदा हुन्छ ? शासनतन्त्र धर्म विशेषका अझ सोझै भनौं हिन्दुहरुका धार्मिक प्रथाहरुमा किन सरीक हुने गर्दछ ? यस्ता अन्तरविरोधी गतिविधि र क्रियाकलाप सोझै संविधानका भावना विपरित हुन् । यसरी त सांस्कृतिक परम्पराहरुको सान्दर्भिकता नै समाप्त भएर अराजक स्थिति निर्मित हुन सक्ने तर्फ सचेत
रहन जरुरी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *