राज्य सञ्चालनका विहगंम दृश्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–थानेश्वर प्रसाद भट्ट । वर्षभरी नै चलिरहने निर्वाचन अझैपनि बाँकी छ । मतपरिणामको लगभग स्पष्ट चित्र प्रकट हुदा पनि मुल कानून संविधान कै कारण सत्ता सञ्चालक र दाबेदारहरुमा आरोप प्रत्यारोप चलिरहेका छन् । यो के अर्थ राख्दछ भनी कथित कानूनविद् संविधानका ज्ञाताहरु आफ्ना तर्क प्रस्तुत गरी रहेका छन् जुन नितान्त अन्तरविरोधी मात्र होइन निरर्थक पनि लाग्दछन् । यस्ता चर्चा छलफल व्याख्या विश्लेषण संविधानविद केवल काठमाण्डौं मात्र केन्द्रित हुन्छन् किनभने त्यसबाहेक अन्य ठाउँ यो पेशा गर्नेहरुको कुनै औचित्य अर्थ छैन भनि प्रष्ट बुझिने गरी क्रियाकलाप भइरहने हुनाले संघीय शासन व्यवस्था र प्रणालीको असर यसमा पर्छ कि पर्दैन यो हेर्न बाँकी छ ।

-थानेश्वर प्रसाद भट्ट

राज्य संचालनका लागि जनताका प्रतिनिधि द्वारा नै आवाज प्रकट हुन्छ भनी प्रजातान्त्रिक देशहरुका मान्यता रहेका र सोही बमोजिम शासक पनि जनता कै लागि जनता द्वारा जनता माथि भन्ने महान अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको परिभाषा नेपालका लागि कति सामयिक र सान्दर्भिक छ ? राज्यका महत्वपूर्ण अंगहरुमा आम सर्वसाधारणको पहुँच संभव छ कि छैन ? यो कति प्रभावकारी हुन सकेको छ ? यसबाट लोक कल्याणकारी राज्यको आभाष हुन्छ कि हुदैन ? देशको मुल कानून नेपालको संविधान दीर्घायु हुन्छ वा सर्वाधिक कम आयुमा अवसान हुन्छ ? यस्तै कतिपय सान्दर्भिक विषयहरुले वर्तमानको आकृति प्रष्ट हुने आधारमा केही विश्लेषण गर्न आवश्यक लागेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा ५ प्रतिशत भन्दा बढी मत बदर भए । त्यसैगरी अरु निर्वाचनहरुमा पनि मतदाता सक्षम हुन नसकेको भनी यथार्थ छिपाउन सकिएन । जबकि अरबौंको रकम मतदाता शिक्षाका नाममा खर्च भएका विवरण आइरहेका छन् ।

निर्वाचन आयोगको निष्पक्षता, आर्थिक पारदर्शिता लगायत कतिपय विषयहरुमा सञ्चार माध्यम निरन्तर सुसुचित गराई रहेका छन् । करोडपति नभई चुनाव लड्न असंभव भएको र टिकट वितरण पनि विभिन्न दलहरुबाट नातावाद, कृपावाद, धनवाद, डनवादबाट प्रभावित भएका घटना निरन्तर देखिएका छन् । राज्यलक्ष्मी गोल्छाको पदवी साढे सात करोडमा विक्री भएको खुलासा भएकै हो । त्यत्तिका रकम दौडधुप गरी पदमा नगई नहुने कारण के हो ? जनताका नजरमा तिरस्कारको भाव प्रष्ट भएरपनि त्यस्ता पदवी धारण गर्नुको औचित्य के हो ? बुझ्नै नसकिने विषय भएको छ । पदमा बसिदिन जनताले आग्रह गर्न पर्नेमा भोज भतेर, मत खरीद, रकम बाँडफाँड गरी के नै उपलब्धीका लागि निर्वाचित हुनु परेको होला यसबाट राज्य सञ्चालनका लागि निर्मित विभिन्न अंगहरु आलोचित मात्र होइन घृणाका पात्र बनिरहेका छन् ।

पारदर्शिता, जवाफदेहिता कहीकतै देखिदैन । दण्डहीनता पराकाष्टामा पुगेको छ । जसले जति लुट्न सक्यो आँट मात्र गर्न सक्नु प¥यो अरबौंका भ्रष्टाचार काण्डमा कारवाही हुदैन, भएपनि औपचारिकता मात्र निर्वाह गरिनाले कानूनको शासन उखान मात्र हुन गएको छ । जनता चिसो, बाढी, भुकम्प, विरामी लगायतबाट दुःख पाइ रहदा करोडौंका रकम कार्यकर्ताहरुलाई प्रत्येक सरकारले निजि धन झैं बाडेको योग्यता, दक्षता, निष्टा, भन्दापनि भागबण्डामा शासन सञ्चालन हुदाँ निष्पक्षताको प्रश्न हराएर गएको छ ।

सम्मानित अदालतहरुलाई पवित्रताको प्रतिकका रुपमा लिइने स्वभाविक गति समेत अवरुद्ध हुन गएको छ । ८० जना न्यायाधीश विरुद्धको मुद्दा हेर्दाहेर्दै भनि लम्बित हुदै गएको छ । न्यायको पवित्र आसनलाई समेत शंकाको घेरामा पार्ने काम भइरहेका छन् । संघात्मक प्रणालीमा अधिकार क्षेत्रका द्वन्द भयानक गतिमा आउने संकेत एकपछि अर्काेगरी निरन्तरता आइ रहेका छन् । यस्तै रहने हो भने पारस्परिक द्वन्दबाट अनपेक्षित परिणाम आउने निश्चित छ ।

राजनैतिक दलहरुमा घोर बैमनश्यता छ । एउटै दलभित्र पनि गुट उपगुटहरुबाट दलिय मान्यता लगभग मुर्छित बन्न गएको छ । अब बन्ने सरकार स्थिर फलदायी हुन्छ भन्नेमा पनि उग्र महत्वाकांक्षा, दम्भ, अहङ्कार, ठूलो बाधाका रुपमा आउने लगभग निश्चित छ । यो लडाई हामी सर्वसाधारणको हकहितका लागि नभई लुट खसोट राज्य दोहनका लागि हो र एक जना राजनीतिज्ञले सगरमाथा चैनलमा श्री ३ हरुले समेत गरेको लुटलाई मात हुने गरी राज्यमा भिषण अपराधिकरण, भ्रष्टाचार महिमा मण्डित हुने गरेको यथार्थबाट राज्य सञ्चालनका विहंगम दृश्यहरुले अर्काे भिषण प्रतिक्रियाका लागि नेपालको पृष्ठभुमि बन्दै गएको छ ।

दलहरुको संकिर्णताले कर्मचारी, शिक्षक, न्यायालय जताततै भागबण्डा उन्मुख भइरहेका घटनाक्रमहरुबाट कही नेपाल नामको देश पनि भागबण्डामा रुपान्तरित भएर असफल राष्ट्र बन्ने हो कि भनि ठूलो त्रास उत्पन्न भएको छ । यसरी राज्य सञ्चालन असंभव हुन्छ भन्ने वास्तविकता बुझ्न सक्ने भिजन भएको राजनेता नहुदाँ कही अलपत्र पार्ने हुन् कि भनि डर पैदा गराएका छन् । राजनीतिमा आपराधिकरणका साथै आपराधिकरणको राजनैतिक धरातल निर्माण पूर्ण हुदा को कहाँ पुग्लान् निकट भविष्यले निर्धारण गर्नेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *