संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इतिहासको पानाबाट

लोकसम्मति र प्रजातन्त्रमा प्रतिबद्धता व्यक्त गर्दै आएका राजाबाट त्यस बेलाको जनभावना बुझि मन्त्रिपरिषद्ले देशमा शान्ति सुरक्षा कायम राख्न नसकी जनधनको नोक्सान भएकाले राजाबाट नेपालको संविधान बमोजिम प्रधानमन्त्री मरिचमान सिंहको मन्त्रिपरिषद् विघटन भयो । राजाबाट मरिचमानपछि को प्रधानमन्त्री हुने भन्ने विषयमा विभिन्न पञ्च नेताहरुलाई बोलाई परामर्श भएको थियो । मैले जाहेर गरँे, “वर्तमान सङ्कटपूर्ण अवस्थामा सूर्यबहादुर थापा भए समाधान हुन सक्ला, उहाँलाई बक्सनु वेश होला कि ?” अरु सचिवले पनि समर्थन गरेका थिए ।

राजाबाट उहाँलाई सोधियो । “राजाको अध्यक्षता भए बस्छु, आफैँ सरकार प्रमुख हुन्नँ ।” उहाँले यस्तो विचार व्यक्त गरेपछि सोझा लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री पद स्वीकार गर्नुभयो र प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्रीको शपथग्रहण समारोह हुने दिन राजदरबार अगाडी दरबारमार्गमा ठूलो जुलुस आयो । जुलुस र आन्दोलनका निम्ति भारत र नेपालका तराईसमेत विभिन्न जिल्लाबाट ७२ बस मानिस दुई दिनदेखि आइरहेको खबर ट्राफिक प्रहरी मार्फत् आइरहेको सूचना छ भनी गृह मन्त्रालयले जानकारी दिएको थियो । त्यस आन्दोलनमा आउनेले सडकका फलामे बार भत्काउने, बाटामा ह्युमपाइप राखी अवरोध गर्ने र बेलुका भएपछि टोल–टोलमा बत्ति निभा भनेर गरी त्रास फैलाएका थिए ।

प्रधानमन्त्रीको शपथग्रहण समारोहमा संबैधानिक पदाधिकारी दरबार मर्गबाट आउन सकेनन् । पश्चिम ढोकाबाट आएर शपथग्रहण सम्म सम्पन्न भयो । लोकेन्द्रबहादुरलाई विभिन्न राजनीतिक विचारधारा राख्ने व्यक्तिहरु संग वार्ता गर्ने काम पनि तोकिएको थियो । उहाँको मनित्रपरिषद्मा नैनबहादुर स्वाँर, पशुपति शमशेर ज.ब.रा. र अच्युतराज रेग्मी पनि थिए ।

मेरो घर कालीमाटीबाट दरबार टाढै पर्ने र राती अबेला दरबारबाट आउनुपर्ने हुन्थ्यो । यातायातको कुनै साधन थिएन । सार्वजनिक बसको पनि बाटो नपर्ने हुँदा धेरै कठिनाइ थियो । २०४६ को आन्दोलनमा कालीमाटी प्रहरी चौकीका चार जना प्रहरीलाई आन्दोलनकारीले मारेर ठेलागाडामा हालेर नेसनल ट्रेडिङ चोकसम्म पु¥याए । प्रहरी महानिरिक्षक हेमबहादुर मल्ल आएर बचाउनसम्म बचाएनन् ।

मलाई टेलिफोनमा बेनामी धम्की आउँथे । मैले जवाफमा भन्थे, “मैले केही विराएको छैन । अपराध गरेको छैन । एकदिन मर्नै पर्छ । हद भए तिमिहरुले मार्ने न हो, म तयारै छु ।” मलाई राजा महेन्द्रले ज्यादै साधारण भएर हिड्नु, केही हुँदैन भनेको कुरा राजा वीरेन्द्रमा जाहेर गरेको थिएँ । वीरेन्द्रबाट पनि साधारण भएर हिँड भनेकाले म कार्यक्रमहरुमा पनि सकेसम्म टी.भी.लाई पनि छलेर हिड्थे । त्यसैले त्यस आन्दोलनताका पनि पैदलै हिड्ने गरेको थिए ।

लोकेन्द्रबहादुर चन्दले शपथ लिई फर्केपछि राजा वीरेन्द्र र म बैठक कोठामा (राजदुतले प्रमाणपत्र पेस गरेपछि एकछिन भेट्ने कक्षमा) बस्यौं । हामीले बाहिर दरबार मार्गमा भएको आन्दोलन हेरिरहेका थियौं । त्यहाँ अश्रु ग्यासको प्रयोग र गोलीकाण्ड समेत भयो । स्व. राजा महेन्द्रको शालिक तोडफोड गर्ने प्रयास भयो । त्यसबेला राजा वीरेन्द्र अति चिन्तित भएको मैले पाएँ । अरु निजि र संवाद सचिवहरु बेलुका घर जान नसकेर होटलमा लुकेर बस्ने गरेका थिए । राजाको त्यस्तो अवस्थामा प्रायः नजिक नपर्ने स्वभाव मैले देखेको थिए । कुनै व्यक्ति देश र राजालाई अप्ठ्यारो पर्दा पी.एच.डी. गर्न भनी विदेश गए, स्थिति अलि शान्त भएपछि नपढी फर्के । स्थिति यस्तो थियो । चिन्तित राजालाई मैले बिन्ति गरे, “उपाय नभएको राजनीति र औषधी नहुने रुख र झार–पात हुदैनन्, भन्ने राजनीतिकारहरुको भनाई छ । अतः कुशल राजनेताले के के उपाय छन् भनेर सधै विचार गर्छन् । हाम्रा सामु दुई उपाय छन्ः (१) बेतस नीति र (२) शाल्मली नीति ।”

“त्यो भनेको के हो ?” राजाबाट सोधनी भयो । मैले विन्ति गरे, “पहिले बेतको नीति भनेको बेत खोलामा हुन्छ, जरा बलिया हुन्छन् । बाढी आए पानी सँगै बग्छन् तर जरा छोड्दैनन् । बाढी सुकेपछि विस्तारै फेरि उठ्छ । हावामा पनि त्यसै गर्छ । आन्दोलनको यस बाढीमा वेतजस्तै हुने कि अथवा नदीको तीरमा रहेको सिमल वा सालको रुखझैँ बाढी वा आधीको पर्वाह नगरी त्यसको सामना गर्ने अर्थात् कफ्र्यु लगाई आन्दोलन दबाउने ? तर बाढी वा हुरी ठूलो भए रुख ढाल्ने खतरा हुन्छ । सानो बाढी वा हुरीले त केही गर्दैन । यस आन्दोलनको बाढी वा हुरी ठूलो छ । वेतको नीति उपयुक्त हुन्छ ।” (वेतको नीतिबाट ठूलो श्रेयः सफलता पाइन्छ । सालको नीति लिदा नाश हुन्छ । अतः ठूलाले आक्रमण गरेमा बेतको नीति लागु गरोस् ।)

त्यसपछि जिज्यूमुमाको कुरा सम्झी फेरि बिन्ति गरेँ, “राजाबाट विचार हुनुपर्ने मुख्य कुरा आफ्नो राजतन्त्रको निरन्तरता हो । त्यसमाः (१) पूर्खाको नासो, (२) वर्तमानका काम–कर्तव्य र (३) सो नासो उत्तराधिकारीलाई जस्ताको तस्तै हस्तान्तरण गर्ने । यी ३ कुरा राजाका महत्वपूर्ण कर्तव्यमा पर्दछन् । मैले देख्दा–देख्दै विश्व परिदृश्यबाट इरान, इथियोपिया, अफगानिस्तानका राजतन्त्र गए । एकपटक गएपछि राजतन्त्र फर्कदैनन् । अतः यो राजतन्त्र बचाउने प्रमुख दायित्व राजामा छ । यस्तोमा नीतिकारहरुको भनाइ छ, ‘सर्वनाशेसमुत्पन्ने अर्धत्यजति पण्डितः’ (सबै नाश हुन लाग्यो भने आधा छोड्नु बुद्धिमानी हो) । अतः यसबेला त्यसको उपाय संबैधानिक राजतन्त्र नै हो ।”

“आन्दोलनकारीले राजतन्त्र विरोधी नारा लगाएका छन् । पूर्वी युरोपमा भएको परिवर्तनको हावा आएको छ । इसाई धर्मावलम्बीहरुले तन, मन र धनले यस आन्दोलनलाई सहयोग गरेका छन् । भारतीय नेताहरु त नेपालमै आएर बैठक गरी यहाँका जनतालाई उक्साई मद्दत गरिरहेका छन् । त्यसमा ‘रअ’ (भारतको च्भकभबचअज बलम ब्लबथिकष्क ध्ष्लन – च्ब्ध्) को खेल बढी छ । पत्रपत्रिका र सञ्चार माध्यम पनि परिवर्तनकै पक्षमा छन् । त्यसैले जनताले परिवर्तन चाहेका छन् । नेपाली कांग्रेस स्थापना भएदेखि नै संबैधानिक राजतन्त्रको पक्षमा थियो । अहिले पनि आन्दोलनकारीमा उसैको नेतृत्व छ । अतः यही उपाय ठीक पर्ला,” मैले जाहेर गरेँ । राजाले मेरे कुरा धैर्यपूर्वक सुनिबक्सेको थियो ।

एकछिन पछि हुकुम भयो, “भरे मङ्गल सदनमा आन्दोलनकारी नेताहरुलाई बोलाऊ ।”

तुरुन्त कार्यालयमा आएर उनीहरुलाई फोनबाट बोलाएँ । त्यसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनाली आउनुभयो । राजा र ती नेताहरुसँग कुरा भएपछि राजाबाट बेलायतको जस्तो संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र स्थापना गर्ने कुरा भयो । नेताहरुले बहुदल मात्र मागेकोमा आशा गरेभन्दा बढी पाएको रुपमा खुसीसाथ मन्जुर गर्नुभयो । त्यसपछि २०४६ साल फागुन २४ गते राती ११ बजे राजदरबारको विज्ञप्ति निस्क्यो । त्यसमा भनियो, “संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र नेपालमा स्थापित हुनेछ ।”

लोकेन्द्रबहादुरको मन्त्रि परिषद्का सदस्य पशुपति शमशेरलाई विद्रोहीहरुसँग कुरा गर्न खटाइएको थियो । उनले कुरा गर्ने ठाउँ सिंहदरबार नबनाई राजकीय प्रज्ञा प्रतिष्ठान बनाए । त्यहाँ कुराकानी गर्दा कुरा नियन्त्रणबाहिर भयो । त्यसपछि जिज्यूमुमाले राणामा चन्द्रशमशेरका खलक दरबार देखि बढी रिसाएका छन् भनेको सम्झँे । कुरा गर्ने ठाउँ ठीक भएन । तोडफोड पनि भयो । कुनै पञ्चले पशुपतिशमशेर मन्त्रीले ‘मौका यही हो । जे माग्नु छ, माग’ भने भनी उक्साएको कुरा जाहेर गरेका थिए । सो घटनाको जाँचबुझ गर्न न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा जाँचबुझ आयोग गठन भयो ।

प्रमुख सचिवालयको विज्ञप्तिमा राजाबाट ‘लोकसम्मतिमा आधारित परम्परा प्रजातन्त्रलाई नै व्यवस्थाको मुल आधर मानी वर्तमान चाहना अनुसार ‘दलविहीन’ भन्ने शब्दहरु हटाई तदनुसार समाजका विभिन्न विचारधारा प्रतिबिम्बित हुने गरी संविधान सुधार सुझाव आयोग न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठन भयो । सो आयोगले त्यस्तो सुझाव लिई तयार पारेको प्रतिवेदन जाहेर गर्नेछ । नेपालमा हाल दलमाथि लागेको प्रतिबन्ध पनि हटाई बक्सेको छ’ भनियो ।

दलमाथिको प्रतिबन्ध हटेकाले प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मैले भनेँ, ‘तपाईले पञ्चहरुको पार्टी गठन गर्नुहोस् । यस दलमा बस्न चाहने पूर्व पञ्चहरु र वर्गीय सङ्गठनका सदस्यहरु यो दलका सदस्य हुनेछन् । अहिले फलानाको अध्यक्षतामा यति जनाको अस्थायी केन्द्रीय कार्यसमिति बनेको छ, पछि अधिवेशनले नयाँ व्यवस्था गर्नेछ र सदस्यता प्रदान गर्नेछ भनी सूचना जारी गरी सरकारी सञ्चारका साधनबाट प्रचार गर्नुभयो भने तपाईहरुको दल ठूलो हुनेछ । यस मौकाको सदुपयोग गर्ने या नगर्ने तपाईको विचार ।’ उहाँले भन्नुभयो, ‘यसमा विचार गछौं ।’ पूर्व पञ्चहरुले आठ महिनापछि जुम्ल्याहा पार्टी गठन गरे । यसबीचमा खाँटी पञ्चहरुले दुःख पाए, केही अरु दलमा लागे ।
रेवतीरमण खनालद्वारा लिखित ‘अनुभूति र अभिव्यक्ति’ पुस्तकबाट लिएका छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *