दिपायललाई प्रादेशिक राजधानी बनाउन माग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डोटी, २२ पुष । प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् ।

डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं. ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएका छन् ।

उक्त प्रतिनिधिमण्डलले काठमाडौँमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेललाई सो माग बारेको ज्ञापनपत्र बुझाएको डोटीका प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा राणाकालीन समयदेखि नै दिपायल सुदूरपश्चिमको केन्द्र रहेको र सबै जिल्लाको समदुरीमा रहेकाले दिपायललाई नै हाललाई अस्थायी प्रादेशिक राजधानी तोक्नुपर्ने माग गरिएको छ ।

अन्नको भण्डारका रुपमा रहेको तराईको सीमित भू–भागमा हुने तीव्र बसाइँसराइ, वैदेशिक सुरक्षा संवेदनशीलता, संघीयताको आधारभूत मूल्यमान्यताले पनि दिपायल सामरिक महत्वको क्षेत्र भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा प्रतिनिधिसभा सदस्य एवं एमाले नेता आलेमगर, काँग्रेस महासमिति सदस्य एवं डोटी (क) प्रदेशसभा सदस्य भरतबहादुर खड्का, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी (ख) का प्रदेशसभा सदस्य त्रिलोचन भट्ट लगायतको हस्ताक्षर रहेको छ ।

यसै सम्बन्धमा प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा आन्दोलनको सुरुवात भएको छ । आन्दोलककारीहरुले डोटीमा चक्काजाम समेत गरेका छन् ।

आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा टायर बालेका छन् भने चक्का जाम गर्दा सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन् ।

राजधानी माग गर्दै संघर्ष समितिले एकहप्ता देखि शान्तिपूर्ण ¥याली आयोजना गर्दै आए पनि त्यसको सुनुवाई हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै चक्का जाम सुरु भएको हो । आन्दोलनकारीले ढुंगा, मुढा राखेर बाटो अबरोध समेत गरेका छन् ।

जसरी भारतका उत्तर प्रदेश, हिमाञ्चल प्रदेश तथा उत्तराखण्ड प्रदेश जस्ता पहाडी भुभाग रहेका प्रान्तहरुको राजधानी सुगमताको हिसाबले तराई क्षेत्रमा रहेको पाइन्छ । किनभने बढी जनघनत्व भएको ठाउँ नेपालमा पनि तराई क्षेत्र कै देखिन्छ । धेरैको रहर छ पहाडबाट तराई झर्ने । तराईमा हरेक सुविधा रहेको र अन्तराष्ट्रिय हवाई मैदानको समेत बढी संभावना भएकाले तराई तिर हुनु नै उपयुक्त देखिन्छ । तर, विकासको कुरा गर्ने हो भने जस्तै ७ नं. प्रदेशको राजधानी दिपायल मात्र किन राख्ने, खप्तडमा किन नराख्ने ?

भौगेलिक दृष्टिले सबै जिल्लाको केन्द्र पर्ने बैतडी दार्चुला बझाङले छोएको स्थान वित्थडमा किन नराख्ने ? दोस्रो कुरा सबै दृष्टिकोणबाट काठमाण्डौं उपत्यका जस्तै रहेको बैतडीको पाटन के उपयुक्त छैन ? कहाँ राख्ने भनेर चक्काजाम बन्दहड्ताल गरेर हुदैन एउटा वैदेशिक व्यक्ति समेतको विशेषज्ञ टोली गठन गरेर त्यसबाट उपयुक्त ठहरिएको क्षेत्रलाई नै प्रान्तहरुको राजधानी राख्नुपर्ने भए राख्ने नत्र यस्ता विवादवाला प्रान्तहरु हटाई प्रान्तका सम्पूर्ण अधिकारहरु नगरपालिका तथा गाउँपालिकामा सार्नु पर्ने र जिल्ला समन्वय समितिलाई नै सक्रिय बनाउनु पर्ने देखिन्छ भन्छन् केही बुद्धिजीविहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *