दरबन्दीकै डाक्टरको अभाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, २१ पुष
सेती अञ्चल अस्पतालमा दुईवर्ष देखि कार्डियोलोजिष्टको दरबन्दी रिक्त भएकै बेला एकै दिन धनगढीका दुई जना ब्यापारीको हृदयघातका कारण मृत्यु भएको छ । भादा होमस्टेमा जुत्ता चप्पलको स्टल राखेका धनगढीका ब्यवसायी भिम मगराती र खाद्य उद्योगी राकेश गुप्ताको बुधबार हृदयघातका कारण ज्यान गएको हो । सेती अञ्चल अस्पतालमा दुई वर्ष अघि मन्त्रालयले नै स्वीकृत गरेको एकजना मुटुरोग विशेषज्ञको दरबन्दीमा अहिले सम्म डाक्टर नपठाउदा मुटुरोगका कारण ज्यान गुमाउनेको संख्या बढीरहेको हो ।
बुधबार राती ह्दयघात भएको र उपचारका लागि भारततिर लैजादै गर्दा बाटोमै मृत्यु भएको मृतक गुप्ताका भाई दिलीप गुप्ता बताए । ‘सेती अञ्चल अस्पतालमा डाक्टर भईदिएको भए सायद दाजुको ज्यान बचाउन सकिन्थ्यो की’ उनले भने ।
यस्तै बुधबारबाटै सुरु भएको थारु होमस्टे भादा महोत्सवमा जुत्ताको स्टल राखेका धनगढीकै अर्का ब्यापारी भीम
मगरातीको पनि महोत्सवमै हर्ट अट्याक आएको र अस्पताल पुगाएपछि उनको मृत्यु भएको उनका छोरा प्रेम मगरातीले बताए ।
योसँगै पछिल्लो डेढ महिना यता कैलाली र कञ्चनपुरमा मात्रै ७ जनाको हृदयघातका कारण मुत्यु भईसकेको छ । यसअघि एक महिना अघि धनगढीको जालीका ४० वर्षिय ईन्द्र खड्काको आफ्नै जन्मदिनका दिन हृदयघातका कारण मृत्यु भएको थियो । मध्यान्न १२ बजे तिर पहिलो पटक हृदयघात भएपछि उनलाई सेती अञ्चल अस्पताल पुगाईयो तर त्यहाँ मुटुरोग विषेशज्ञ नभएको भन्दै तुरुन्तै नेपालगञ्जका लागि रेफर गरियो । एम्बुलेन्स खोज्दाखोज्दै खडकालाई बेलुकीको ७ बजे कोहलपुर त पुगाईयो तर उनको ज्यान बताउन सकिएन । समयमै सेती अञ्चल अस्पताल पुगाईएका खड्का सायद मुटुरोग विषेशज्ञ भएको भए बाँच्ने आश परिवारले गरिरहेका छन् ।
कञ्चनपुरको झलारीमा रहेको मालिका माध्यमीक विद्यालयले ६ दिनको अवधीमा हृदयघातकै कारण दुईजना शिक्षकलाई गुमायो । ६ दिन अघि प्रधानाध्यापक प्रेम वहादुर चन्दको हृदयघातका कारण मृत्यु भयो भने गएको आईतवार मात्रै सोही विद्यालयका शिक्षक हर्क बहादुर सेठीको पनि हृदयघातकै कारण मृत्यु भयो । ६ दिनको अन्तरालमा २ जना शिक्षकको हृदयघातकै कारण ज्यान गएपछि कालीका स्कुलका विद्यार्थी र शिक्षकहरुलाई यो कुरा पत्याउन मुस्कील भईरहेको छ ।
कैलाली कञ्चनपुरमा मुटुरोग विषेशज्ञ भएको भए सायद दुबै जना जोगाउन सकिने विद्यालयकै शिक्षक दान वहादुर साउदले बताए । गत साता धनगढी उप–महानगरपालीका वडा नम्वर १२ को शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक प
दमराज जोशीको पनि हृदयघातकै कारण मुत्युभयो । पहिलो पटक ६ महिना अगाडी हृदयघात भएकाले बेला–बेला काठमाडौ गएर उपचार गराई रहेका जोशीको यसपाली भएको हृदयघातले ज्यान नै खोस्यो ।
‘अचनाक आईपर्ने हृदयघातले तुरुन्तै मुत्यु नै भईहाल्न भन्ने हुदैन, किनभने हृदयघातको १÷२ घण्टामा उपचार पायो भने धेरै विरामीको ज्यान जोगाउन सकिन्छ’ सेती अञ्चल अस्पतालकै पुर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश बहादुर सिह भन्छन् । ‘यस क्षेत्रमा मुटुरोगको चिकित्सक नभएका कारण धेरैले ज्यान गुमाउनु परेको छ ।’
एकजना विषेशज्ञ चिकित्सकको अभावमा ज्यान गुमाएका यी त प्रतिनिधि घटना मात्रै हुन् । सेती अञ्चल अस्पतालमा अहिले १० औं तहका कार्डियोलोजिष्टको दरबन्दी रिक्त छ । त्यसबाहेक अरु १२ जना विषेशज्ञ चिकित्कसको दरबन्दी पनि खाली छ । ११ औं तहका बरिष्ठ फिजिसियन देखि बालरोग, बरिष्ठ गाईनोक्लोजिष्ट, बरिष्ठ प्याथोलोजिष्ट, ईएनटी, सायक्याट्रिक्ट (मानसिक रोग विषेशज्ञ), मुटुरोग विषेशज्ञ र डेन्टल सर्जन लगायत ९ औं र १० औं तहका १३ जना चिकित्सकको दरबन्दी खाली छ । अझ तीनजना मेडिकल अधिकृतको दरबन्दी पनि खाली छ । ‘मेडिकल अधिकृत गरि ३१ जनाको दरबन्दीमा १६ जनाको दरबन्दी रिक्त छ’ सेती अञ्चल अस्पतालका मेसु डाक्टर सजन केसीले भने । ‘मेडिकल अधिकृतको त खासै समस्या भएन, ब्यवस्थापन समिति र करारमा पनि राखेका छौं, तर विषेशज्ञ चिकित्सकको दरबन्दीले समस्या भईरहेको छ ।’
कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालका अवस्था झन यो भन्दा दयनीय भएकाले पनि त्यहाँका विरामी पनि सेती मै आउने गरेका छन् । सुदूरपश्चिमका ७ पहाडि जिल्लाका विरामी पनि सेतीमै आउने गरेपछि भएका चिकित्सकको पनि भ्याईनभ्याई हुने गरेको छ । ‘सुदूरपश्चिमको २८ लाख जनसंख्याका लागि अलि भरोसा लाग्दो अस्पताल सेती हो, यहाँ पनि ४० वर्ष अघिको दरबन्दीमै पनि चिकित्सकहरु नहँुदा समस्या भएको छ’ डाक्टर केसीले भने ।
सेती अञ्चल अस्पताल स्थापना भएको २०३३ सालमा हो । अहिले पनि सेती अञ्चल अस्पतालको शैया संख्या ५० हो । ब्यवस्थापन समितिले ७५ शैया थपेर अहिले त्यो अस्पताल १२५ शैयामा चलिरहेको छ । ‘यसपाली अस्पतालको स्तारोन्नती गरेर तीन सय शैया बनाईएको हल्ला सुनिएको छ, तर आधिकारीक केही पनि आएको छैन’ डाक्टर केसीले भने ।
सेती अञ्चल अस्पतालमा चार वटा डायलासिस मेसिन छन भने चार शैयाको सघन उपचार कक्ष (आईसीयु) पनि छ । तर मुटोरोग विषेशज्ञ नभएकैले अहिले सम्म मुटुरोग विभाग नै सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ । ‘हामीले, धेरै पटक मुटुरोग सहितका अरु विषेशज्ञ चिकित्सक पठाई दिन स्वास्थ्य मन्त्रालय, विभागमा पत्राचार समेत गरेका छौं, तर कसैले सुनेन’ अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष रिता भण्डारीले भनिन् ।
यसपालीको चुनावका बेला सेती अञ्चल अस्पतालको स्तरोन्नती सबै उमेदवारको चुनावी नारा पनि बन्यो। प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले त आफ्नो पहलमा मन्त्रीपरिषदबाट तीन शय शैयाको अस्पताल घोषणा गर्न लगाएको भन्दै पनि भाषण पनि गरिन् । अहिले जितेका बाम गठबन्धनका उमेदवार नारदमुनी रानाले तीन सय शैया मात्रै होइन, आफुले जितेपछि पाँच सय शैयाको बनाउने घोषणा पनि गरे । ‘तर भएका दरबन्दीमा चिकित्सक छैनन, अहिले भएका चिकित्सकले दोहोरो तेहरो ड्युटी गर्नु परि
रहेको छ’ अस्पताल ब्यवस्थापन समिति अध्यक्ष रिता भण्डारी बमले थपिन भन्ने समाचार विभिन्न समाचार माध्यमहरुमा प्रकाशित भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *