वीरेन्द्रको जन्मोत्सवमा त्यो चकलेट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-ध्रुव लम्साल । भोलि पढाइ हुन्न, किताव नलिई गए नि हुन्छ ।’ अघिल्लै दिन स्कुलमा कुरो हुन्थ्यो । भोलि राजा वीरेन्द्रको जन्मोत्सव । सरहरुले एकखालको उर्दी जारी गर्थे । कुनै बहाना बनाएर अफिस कोठामा पुग्थ्यौ । राजा वीरेन्द्रको रानीसँगै बसेको, कालो चश्मा लाएको फोटो थियो । कक्षा ३ मा पढ्दाताकाको कुरा हो ।
राजाकाबारे थरिथरिका मिथक सुन्न पाइन्थ्यो गाउँमा । ‘सबैभन्दा असल राजा यिनै हुन् ।’ बुढापाकाहरु भन्थे । राजाले लगाएको चश्माबाट सब कुरा छर्लङ्ग देखिन्छ रे ।
तन्नेरीहरु सुनाउथे । ‘राजा त सँधै बिस्कुटको खाजा खान्छन् होला हगि’ हाम्रा वीचमा कुरा हुन्थ्यो ‘राजा र रानी त सुनको खाटमा सुत्छन् रे ।’
राजाको जन्मोत्सवका लागि पुस १४ गते स्कुल छुट्टी हुने सूचना बेलुका ३ बजेतिर स्कुलको सूचना पार्टीमा
टाँसिन्थ्यो । हामीभन्दा माथि कक्षामा पढ्नेहरुले सूचना पाटी पुरै छोपेर पढ्थे । हामी टाढा बसेर पोको परेर सूचना पढिरहेका मान्छेहरुलाई हेर्थ्यौं ।
स्कुलबाट घर फर्किदै गर्दा अलि ठूला काँटीका केटाकेटीहरु धादिङबेसी जाने कुरा गर्थे ।
घरमा आएर मकैको चपाउँदै गर्दा बाले भन्नुहुन्थ्यो ‘भोलि धादिङबेसी जालास् नि ।’ बाको आशय नजा भन्ने हुन्थ्यो । राजाको जन्मोत्सवमा ‘महाराजधिराजको जय’ भन्दै चण्डेश्वरी स्कुल हुँदै केही थान मान्छे धादिङबेसी पुग्ने गरेको थाहा थियो बालाई ।
राजाले मुलुकका लागि के गरेका छन् । उनको जय किन मनाइन्छ बालाई मतलव थिएन । मात्रै छोरो हराउला भनेर ‘धादिङबेसी’ नजा नि भन्नुहुन्थ्यो ।’ मेरो पनि एक्लै धादिङबेसी पुग्ने आँट थिएन ।
अर्को वर्ष फेरि आयो १४ पुस । उसैगरी स्कुलमा साँझपख सूचना टाँसियो । भोलिपल्ट जय मनाउँदै धादिङबेसी जाने सन्दर्भमा ।स्कुलबाट आएर मकै चपाउँदै थिएँ । आमाले भन्नु भो ‘धादिङबेसी जान मन लाग्या भए जा भोलि ठूलोबा पनि जानु हुन्छ रे ।’ ठूलो बालाई खोज्न भन्दै तीन घर चहारेँ । चौथो घरमा पुगेपछि बल्ल भेटेँ ।
दहरमाराको खालमा ।
‘ठूलो बा तपाई भोलि धादिङबेसी जाने हो ?’ मेरो प्रश्नको जवाफै नदिइ भने ‘हिँड्न सक्छस र ।’
‘किन नसक्नु’, मेरो कुरा सुनेपछि भने ‘त्यसो भए जालास् ।’
बिहानै स्कुलमा औपचारिक कार्यक्रम भयो । स्कुलका शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष र केही बुढापाकाहरुले । राजा वीरेन्द्र महान हुन् भन्ने आशयको टिप्पणी धेरैले गरे । तर, उनले के के राम्रो गरे विश्लेषण गरेर भन्न सक्ने क्षमता कसैले राख्थेन । आलोचना गर्ने त आँटै थिएन कसैको । प्रायःको एउटा भनाइ आउँथ्यो
गाउँकै अगुवा बा थिए । अहिले निधन
भैसक्यो । उनमा राजसंस्थासंग बढी नै मोह थियो खै किन हो । ‘राजसंस्था भनेको राष्ट्रिय एकताको
प्रतीक । राजसंस्था भएकै कारण जनता सुखी भएका र हाम्रो राष्ट्रलाई कसैले हेप्न सकेका छैनन् भन्ने कुरा गर्थे पटक–पटक । कुरा सकिएपछि हामी गर्रर ताली बजाउँथ्यौं । तर, ती बाले राजाको पालामा पाइन्ट लगाएर भाषण गरेको मैले कहिल्यै देखिनँ ।
भाषण सकिएपछि टोली धादिङबेसी तिर लाग्थ्यो । म पनि लागेँ महाराजधिराजको जय होस् भन्दै ।
पुछार बजार पुग्नेवित्तिकै थाहा भयो बाजा बजाउनेहरु तैनाथ थिए । विभिन्न स्कुल एवं संघसंस्थाहरुवाट आएका विद्यार्थी एवं अन्य व्यक्तिलाई एउटै हुलमा मिसाएर अघि बढाउने चलन थियो । त्यसो गर्दा भिड धेरै देखिन्थ्यो ।
सिडियो कार्यालय पछाडिको खुलामञ्चमा पुगेपछि सभामा परिणत हुन्थ्यो । प्रमुख जिल्ला
अधिकारी, प्रहरी प्रमुख, जिल्ला शिक्षा अधिकारीलगायत पञ्चका नेताहरु मञ्चमा आसीन हुन्थे र राजा
वीरेन्द्रको प्रसंसा सुरु गर्ने । केही वक्ताहरुको भनाइ सुन्दा लाग्थ्यो । यी महानुभावहरु राजा वीरेन्द्रको प्रशंसा गर्ने प्रतियोगितामा भिडेका छन् । हामीलाई कसले कति प्रसंसा गर्छन् मतलब थिएन ।
हामी मात्रै चकलेटको प्रतिक्षामा हुन्थ्यौं । हामीलाई अघिल्लै दिन जानकारी गराएको हुन्थ्यो । राजाको जन्मोत्सवमा चकलेट खान पाइन्छ । आ–आफ्ना विद्यार्थीका लागि भनेर सम्बन्धित विद्यालयका शिक्षकलाई चकलेटको पोका जिम्मा लाएका हुन्थे ।
हामीलाई चकलेट बाँड्ने जिम्मा हरि सर (हरि लम्साल)ले पाएका थिए । चकलेट हात पर्ने बित्तिकै घर जाने साथीको खोजी गर्ने चलन हुन्थ्यो । ठूलोबा सँगै गएकाले मलाई साथी खोज्नुपर्ने झञ्झट थिएन ।
०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि राजाको जय मनाउनेहरुको स्वर मलीन भयो । ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च‘बोलको गीत बजाउने रोडियो नेपाल क्रान्तिकारी भाका खोज्न थाल्यो । राजालाई विष्णु भगवानका अवतार हुन् भनेर व्याख्या गर्नेहरु पनि विभिन्न वर्गमा विभाजित भए ।
कसैले गिरिजाप्रसाद कोइरालामा विष्णु भगवानका अवतार देखे त कसैले मदन भण्डारीमा । पञ्चायत कालमा राज्यले राजा, रानी वा अन्य राज खान्दानका व्यक्तिको जन्मोत्सव मनाउन उर्दी जारी गथ्र्यो । बहुदलीय प्रजातन्त्र आएपछि राज्यले कसैको नाममा उर्दी जारी गर्न
छाड्यो ।
राज्यले उर्दी जारी गर्न छाडेर के भो त । आखिर हामीलाई कसैको जय मनाई निन्द्रै नलाग्ने भैसकेको छ । यदि हामीमा कसैको जय मनाउने संस्कार थिएन भने आज बालकोट, बूढानीलकण्ठ र लाजिम्पाटमा भीड लाग्ने थिएन होला । सामाजिक सञ्जाल फेसबुक र ट्विटर हेरेरै पनि स्पष्ट हुन्छ ओली, प्रचण्ड वा देउवाको देवत्वकरणका लागि हामी यसरी लागेका छौं हाम्रो ‘स्पिड’मा हिजो पञ्चहरु पनि थिएनन् ।
-(साभार अनलाईन खबरबाट)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *