आइरन चक्कीको अभाव








बैतडी, २३ मङ्सिर
नेपालमा शाही औषधी लिमिटेड सञ्चालन रहेको बेलासम्म साधारण औषधीहरु आइरन चक्की लगायत सिटामोल, आदि सुपथ मुल्यमा नेपाल अधिराज्यभरीका स्वाथ्य चौकी तथा अस्पतालहरुमा पुग्ने गर्थे भने उक्त औषधी लिमिटेड बन्द भएदेखि औषधी अभाव हुने र खरीद गर्न समेत महंगो पर्दै आएको छ ।
बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइरन चक्की नदिएरै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीले जनाएका छन् ।
सिगास गाउँपालिका अन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की कत्ति पनि नरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए । उनले भने, ‘सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको आइरन चक्कीको अभावमा गर्भवती महिलालाई रित्तै हात फर्काउनुपर्ने बाध्यता रहेको छ ।’
गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले लगातार रुपमा आइरन चक्की खानुपर्ने भएपनि स्वास्थ्य संस्थामा आइरन चक्की नहुँदा महिला आइरन चक्की खानबाट वञ्चित भएका छन् ।
सिगास गाउँपालिका जस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि आइरन चक्कीको अभाव रहेको छ । थोरै मात्रामा आइरन चक्की स्वास्थ्य संस्थामा पुगेको र त्यो गर्भवती महिलाका लागि कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको शंकरपुर स्वास्थ्य चौकीका अनमी सुनिता भट्टले जानकारी दिए ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरेदेखि नै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव कायमै रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए ।
उनले भने, ‘स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि केन्द्रबाटै कम बजेट आएकाले समस्या भएको छ ।’ स्वास्थ्यचौकीहरुलाई बजेट भन्दा पनि औषधी खरीद गरेर औषधी पठाउनु नै किन उपयुक्त हुन्छ भने सानो स्वास्थ्यचौकीले खरीद प्रक्रिया पनि मिलाउन नसक्ने र पायक पर्ने मेडिकल स्टोरपनि नभएको हुदा स्वास्थ्यचौकीहरु मर्कामा परेको देखिन्छन् ।







