फराकिलो अन्तरसहित वाम गठबन्धन अगाडि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अछाम, २३ मङ्सिर
प्रतिनिधिसभा चुनावको प्रारम्भिक मतगणनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वामपन्थी गठबन्धन नेपाली कांग्रेसभन्दा निकै अघि देखिएको छ ।
पहिलो चरणमा निर्वाचन भएका ३२ वटा उच्च पहाडी र हिमाली जिल्लाको मतगणनाको परिणाम आउने क्रम जारी छ ।
त्यहाँ प्रतिनिधिसभाको ३७ र त्यसको दोब्बर संख्यामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन फराकिलो अन्तरसहित अगाडि छ ।
अनौपचारिक रुपमा नतिजा नै सार्वजनिक गरिएका अधिकांश क्षेत्रमा कांग्रेस निकट्तम प्रतिद्वन्द्वीमै सीमित हुन पुगेको छ ।
नेपाली कांग्रेसका एकजना वरिष्ठ नेताले पहिलो चरणको प्रारम्भिक मतपरिणामबाट सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन् ।
दोस्रो चरणको परिणाम आफ्नो पक्षमा आउने आशा व्यक्त गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दोस्रो चरणको भर्खर गणना हुन लागेकाले त्यस बारे प्रतिक्रिया जनाउने बेला भएको छैन । तर पहिलो चरणको जे–जति परिणाम आएको छ त्यसमा सन्तुष्टि लिने ठाउँ देख्दिन ।’
नेता पौडेलको आशावादी नजर अब दोस्रो चरणमा मतदान भएका मतपेटिका माथि टिकेको छ ।
दोस्रो चरणको भर्खर गणना हुन लागेकाले त्यसबारे प्रतिक्रिया जनाउने बेला भएको छैन । तर पहिलो चरणको जे–जति परिणाम आएको छ त्यसमा सन्तुष्टि लिने ठाउँ देख्दिैन ।
प्रतिनिधिसभाका १ सय २८ र त्यसको दोब्बर २ सय ५६ वटा प्रदेशसभा क्षेत्र रहेका ४५ जिल्लामा दोस्रो चरणमा मतदान भएको थियो ।
मतदाता बढी रहेका त्यहाँको मतगणना निकै प्रारम्भिक चरणमा छ । तर मतगणनाका जति परिणाम बाहिर आएका छन् तिनले पनि वाम गठबन्धन बलियो देखाएका छन् ।
अब धेरैलाई चासो छ, दुवै चरण र समानुपातिक गरी वाम गठबन्धनको उपस्थिति कुन रुपमा होला?
एमाले उपाध्यक्ष भीम रावल भन्छन्, ‘बहुमत आउँछ भन्नेमा त पूर्ण विश्वस्त छौं । हामीले त दुई तिहाई बहुमतको आशा गरेका छौं।’
एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको लक्ष्य छ । चुनावी परिणामबाट एक अर्कालाई इमान्दारीपूर्वक नसघाएको देखिएमा एकीकरण वा गठबन्धन निरन्तरता संकटमा पर्न सक्ने कतिपयको विश्लेषण पाइन्छ ।
तर एकअर्कालाई इमान्दारीसाथ सघाउन कार्यकर्ता परिचालन गरेको बताउने एमाले नेता रावल त्यस्तो नहुनेमा विश्वस्त देखिए ।
कहिलेकाहीँ स्थान र व्यक्ति विशेषका कारणले कसैले जित्ने हार्ने हुन सक्छ । तर एमालेले माओवादी र माओवादीले एमालेलाई यथोचित सहयोग नगरेका कारणले मत तलमाथि पर्दैन ।
उनले भने, ‘कहिलेकाहीँ स्थान र व्यक्ति विशेषका कारणले कसैले जित्ने हार्ने हुन सक्छ । तर एमालेले माओवादी र माओवादीले एमालेलाई यथोचित सहयोग नगरेका कारणले मत तलमाथि पर्दैन ।’
वाम गठबन्धन बनाएदेखि नै एमाले र माओवादी केन्द्रले बहुमत ल्याउने दाबी गर्दै आएका थिए । उनीहरुले विगतका निर्वाचनमा आफूहरुले पाएको भोटलाई त्यसको आधारको रुपमा प्रस्तुत गर्दथे ।
कमजोर लाग्ने त्यस्तै दाबी गर्ने कांग्रेसले कटुतापूर्ण विगत भएका दुई कम्युनिष्ट पार्टीका कार्यकर्ताबीचको अन्तरद्वन्द्वको लाभ लिन सक्ने आशा राखेको हुन सक्छ । तर अन्तिम परिणामबाट स्पष्ट बहुमत प्राप्त गर्नेमा वाम गठबन्धन विश्वस्त देखिन्छ ।
वाम गठबन्धनका कार्यकर्ताहरु ज्यादै खटिने, दौड्ने, नांगा भोका रहेर पनि गाउँघरमा आउने जाने देखिएका कारणले समेत उनीहरुको मेहेनत काम लागेको भन्छन् महेन्द्रनगरका बुद्धिजीविहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *