मङ्सिर २९ बाट सुदूरपश्चिम महोत्सव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
धनगढी, ०९ मङ्सिर
हरेक वर्ष मङ्सिर २२ देखि पुस १ सम्म धनगढीमा हुने गरेको चर्चित सुदूरपश्चिम महोत्सव यसपटक मङ्सिर २९ देखि पुस १० गतेसम्म आयोजना हुने भएको
छ ।
धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मङ्सिर २१ गते चुनाव परेको र लगत्तै मतगणना हुने भएकोले महोत्सव केही पर सारिएको जानकारी दिइएको छ । आयोजक कैलाली उद्योग वाणिज्य सङ्घ, कैलालीका अध्यक्ष शङ्कर बोगटीले चुनावका कारण सुरक्षा प्रवन्ध मिलाउन कठिनाइ हुने भएकोले विगतको परम्परा तोडेर महोत्सव केही दिन पछाडि आयोजना गरिने बताउनुभयो ।
महोत्सव आयोजनामा करिब ८० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा रहने दुई सय ५० व्यापारिक स्टलबाट सो खर्च जुट्ने अपेक्षा उद्योग वाणिज्य सङ्घले गरेको छ ।
महोत्सवका क्रममा व्यापारिक स्टलले १५ करोडको कारोबार गर्ने प्रक्षेपण पनि सङ्घले गरेको छ ।
२०६३ सालदेखि सुरु भएको मुलुककै ठूलो मानिने सुदूरपश्चिम महोत्सव करिब पाँच लाख दर्शकले अवलोकन गर्ने गरेका छन् । सुदूरपश्चिम महोत्सवको १२ औ संस्करणको मुख्य नारा ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने रहेको छ ।
२१ किलोको मालाद्वारा प्रमुख अतिथिलाई स्वागत गरिने महोत्सवमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख प्रमुख अतिथि रहने प्रचलन रहेको छ । यसपटक पनि राष्ट्रपति वा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने प्रयास भइरहेको अध्यक्ष बोगटीले बताउनुभयो ।
महोत्सवलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला पनि भन्ने गरिएको छ । महोत्सवमा सुदूरपश्चिमका कला संस्कृतिका साथसाथै स्थानीय र राष्ट्रिय कलाकारका विभिन्न रोचक प्रस्तुति रहने गरेका छन् ।
महोत्सवका दुई सय ५० वटै स्टल बुकिङ भइसकेको सङ्घका कार्यालय प्रमुख ज्योति भट्टले बताउनुभयो भन्ने समाचार विभिन्न सञ्चार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *