पूर्व प्रधानमन्त्री बिष्टको निधन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २५ कार्तिक । आजसम्म कै इतिहासमा देशभक्त इमानदार, स्वाभिमानका साथ बाँच्नुभएका पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ ।

पूर्वप्रधानमन्त्री विष्टको राजकीय सम्मान बिनै अन्त्येष्टि गरिएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार विहान निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री जस्तो विशिष्ट व्यक्तिको निधनमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रचलन रहिआएको भएपनि उनको परिवारले साधारण ढंगले अन्त्ेष्टि गरेको हो । परिवारकै चाहनामा राजकीय सम्मान बिनै अन्त्ेष्टि गरिएको बताइएको छ ।

उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटस्थित साझा चितामा जलाइएको थियो । एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री विष्ट निष्ठावान राजनीतिज्ञ थिए ।

पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो । उनले लखनउ विश्वविद्यालय बाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए ।

राजनीति सम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्ली रमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनी जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए ।

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री हुँदै विसं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए ।

विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए ।

विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित भएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेका थिए ।

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका साथै सोही पार्टीबाट उनी विसं २०१५ फागुन गते भएको काठमाडौँ–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए ।

उनले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए । उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर
कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व पनि गरेका थिए । उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।

उनको दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो । उनको अन्तिम बिदाईका लागि उपप्रधानमन्त्री कमल थापासहित पञ्चायत पृष्ठभूमिका नेता तथा शुभेच्छुक पशुपति आर्यघाट पुगेका थिए ।

जुनसुकै विचारधारा राख्ने नेता भएपनि उनी राष्ट्रका गहना हुन् । नेताहरु यो देशका सम्पत्ति हुन् । त्यसकारण जुनसुकै पार्टीमा आस्था राख्ने, जनताका अगुवा, जनप्रतिनिधिलाई सम्मान दिनको लागि कन्जुस्याई गर्नु हुदैन । स्वर्गीय विष्टको कुरा गर्दा यो देशको लागि राजा महेन्द्रले गरेका हरेक राम्रा काममा सहयोग दिएकाले आज यो देश यहाँ सम्म आइपुगेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *