बैतडीमा दुई मन्त्रीबीच कडा प्रतिस्पर्धा हुनसक्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २५ कार्तिक । महाकाली अञ्चलको सबैभन्दा ठूलो जिल्ला भनेर चिनिएको मात्र होइन कि पञ्चायतकालमा समेत सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विकासको लािग सहज होस् भनेर बैतडी जिल्लाबाट लोकेन्द्र बहादुर चन्दलाई राजाको समर्थनमा राष्ट्रिय सभाबाट प्रधानमन्त्रीमा निर्वाचित गरिएका थिए । त्यही क्षेत्रबाट आज सभासदहरुको संख्या घटाएर निर्वाचन हुदैछ । त्यो यहाँका जनताको लागि दुखदायी घटना हो ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्व सांसदबीच प्रतिस्पर्धा हुने भएको छ ।

दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ वाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ वाट नेपाली कांग्रेसका नरबहादुर चन्द विजयी भएका थिए ।

भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री समेत बनेका थिए भने चन्द बहालवाला वाणिज्य राज्यमन्त्री रहेका छन् । बैतडीमा आसन्न निर्वाचनका लागि प्रतिनिधि सभाको लागी १ क्षेत्र रहेकोमा पुर्व राज्यमन्त्री र बहालवाला
राज्यमन्त्री चुनावी मैदानमा उत्रिएकाले चुनाव निकै रोचक हुने देखिएको छ ।

पुर्व अर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका छन् भने वाणिज्य राज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्दै चुनावी मैदानमा उत्रिएका छन् । संविधानसभा निर्वाचनमा भण्डारी १ नं. क्षेत्रवाट वाट ११ हजार ६ सय ७१ मतसहित विजयी भएका हुन् भने चन्द २ नं क्षेत्रवाट १२ हजार ४ सय ६६ मतसहित विजयी भएका हुन् ।

स्थानिय तहको निर्वाचनको हकमा भने खसेको अधिकांस मत नागरिकले पार्टी भन्दा पनि व्यक्ति रोजेको हुनसक्ने भएकाले स्थानिय तहको निर्वाचनको मतलाई पार्टीलाई दिएको भनेर भन्न सकिने अवस्था छैन । प्रतिनिधि सभाको लागी दुवै उम्मेदवार पुर्व सांसद तथा भण्डारी पुर्व राज्यमन्त्री र चन्द बहालवाला मन्त्री भएकाले पनि निर्वाचन थप रोचक हुने देखिएको छ ।

पुर्वप्रधानमन्त्री तथा राप्रपाका पुर्व अध्यक्ष लोकेन्द्र बहादुर चन्दको गृह जिल्ला बैतडीमा कांग्रेसले राप्रपासंग चुनावी तालमेल गरेको हो जुन प्रदेश नं ७ को एक मात्र जिल्ला बैतडीमा कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

पुर्वप्रधानमन्त्री चन्दको गृह जिल्ला तथा प्रदेश नं ७ को एउटा मात्रै जिल्ला बैतडीमा लोकतान्त्रिक गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनाएकाले यहाँको निर्वाचन रोचक तथा निकै प्रतिस्प्रर्धात्मक हुने आँकलन गरिएको छ । तर पनि स्थानिय तहको निर्वाचनको मतलाई हेर्दा वामगठबन्धन अघि देखिएकाले आसन्न निर्वाचनमा कसले बाजी मार्छ भनेर अहिले नै भन्न सकिने अवस्था भने छैन ।

प्रतिनिधि सभा सदस्यका लागी आमने सामने भएका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सारा कम्यूनिष्टहरु एक भए पनि आफु लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित आवश्यक रहेको लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधि सभाका उम्मेदवार नरबहादुर चन्दले बताउनुभयो । लोकतन्त्रको रक्षा र संविधानको पुर्ण कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले विजयी हुनुपर्छ उहाँले भन्नुभयो, ‘देश विकास र आर्थिक सम्वृद्घिका लागी लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ’ आफुले जितेको खण्डमा मात्रै समग्र बैतडीको विकास हुने समेत उहाँले दाबी गर्नुभयो ।

देशमा जारी गरीएको संविधानलाई कार्यान्वयन गर्दै आत्मानिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजबादको दिशातर्फ अघि बढ्न आफुहरुको उम्मेदवारी भएको बाम गठबन्धन का प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाई छ ।

समग्र जिल्लाको विकासका लागि सधै लागि परेको बताउदै भण्डारीले आफु विजयी भए बैतडीको मुहार फेरिने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘सडक, शिक्षा, स्वास्थ लगायतका विकासका पुर्वाधारमा जोड दिईनेछ ।’

नयाँ संविधान जारी भएपछि पहिलो पटक हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाकाको निर्वाचन अन्तर्गत प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेद्वार रहेका छन ।

यस्तै बाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेद्वार बन्नुभएको छ ।

यसैगरी प्रतिनिधि सभाको लागी नै बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट विरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोक बहादुर चन्द समेत चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभा तर्फ बैतडी क मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, बामगठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलिप राज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । प्रदेश सभा अन्तर्गत बैतडी ख मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र बाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् ।

चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनितिक दलहरुले चुनावी अभियानलाई पनि तिब्रता दिएका छन् । सबै राजनितिक दलहरु आजभोली भोट माग्न गाउँ केन्द्रित भएका छन् । बैतडीमा अरु पार्टी पनि प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवार बनेका भएपनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन विच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ ।

बैतडीमा पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा निर्वाचनको लागी २ क्षेत्र
निर्धारण गरिएको छ ।

बैतडी मात्र नभई अछाम बाहेक सबै पहाडी जिल्लाहरुमा धेरै सिटहरु कटौती गरी जस्तै बैतडीका ३ सिटबाट एक सिटमा झार्नु प्राकृतिक नियम र नियमत संगत छैन । यो त्यहाँका सभासदहरुको ज्यादै कमजोरी हो ।

तराईको भन्दा बढी सिट हुनुपर्नेमा कम सिट भएकाले त्यहाँका जनताले आफ्नो अधिकार गुमाएका छन् । कुनै पनि सभासद्ले त्यस कुराको कडा विरोध गर्न सकेन । जे–जस्तो नियम अरुहरुले बनायो त्यसैमा समर्थन जनाउँदा देश जनता र नेताहरुलाई समेत नोक्सान भएको छ । यदि निर्वाचित भइ सभा गठन भयो भने त्यसमा सर्वप्रथम सिट संख्या बढाउनको लागि संविधान संशोधनको प्रस्ताव राखी कडा मेहेनत गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *