धनवाद, डनवादको लोकतन्त्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेता शब्दलाई हामी जस्ता आमसर्वसाधारण अत्यन्त घृणाका दृष्टिले हेर्ने कटु सत्य छिपाउन सकिदैन किनभने यो लवजको क्रुर अविश्वसनिय विश्वासघात र यदाकदा राष्ट्रद्रोहको आभाष गराउने यथार्थबाट पवित्र शब्द दुषित हुन पुगेको छ । टेलिभिजन चेनल लगायतका सन्चार माध्यमहरुबाट निष्ठावान् दक्ष, योग्य तर निर्धन राजनीतिज्ञहरुका चित्कार सुनिए । एमाले नेता युवराज ज्ञवाली निकै क्षमतावान् व्यक्तित्व भएका राजनेता लाग्दछन् । उनी प्रत्यक्षतर्फको निर्वाचनमा छैनन् । उनकै भनाई अनुसार कानूनले तोकेको २५ लाख भन्दा निकै बढी रकम चुनाव लड्न आवश्यक हुने परिस्थितिमा सामान्य व्यक्तिका लागि चुनाव लड्नु असंभव जस्तै हुन पुगेको अभिव्यक्ति सामान्य हुन सक्तैन । लक्ष्मण पनि कांग्रेसका चर्चित नेता हुन् । उनलाई वर्तमान राजनीतिले निकै चिन्तित तुल्याएको छ । आशुका बीच रुखमा भोट हाल्ने आह्वान, कुल बहादुर गुरुङ जस्तो व्यक्ति समानुपातिकमा समेत पर्न नसक्ने तर डनहरु सहजै प्रत्याशि बन्ने गरेको लोकतन्त्र समाप्त हुन लाग्दा निष्ठावान कार्यकर्ता चुप लागेर नबस्ने चेतावनी अन्तरहृदयको चित्कार हो ।

निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । जनताले आफ्नो सामुहिक आवाजका रुपमा कसलाई विश्वास गर्छन् भन्ने माध्यम भएको र यसैबाट शासन व्यवस्था सञ्चालित हुने भएकाले आफ्नो विकास स्वयं गर्ने आत्मसम्मान र राष्ट्रको अस्मिता बचाउने प्रणालीबाट कसै माथि विभेद नरहोस् भनि समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको हुनुपर्दछ । के यस्तै भएको छ त ? वर्तमान अवस्थामा भइरहेका विभिन्न निर्वाचनहरुको स्वरुप, परिणाम, गतिविधिहरुबाट कस्तो मानचित्र बनेको छ ? दलिय घोषणापत्रहरु आयाराम गयाराम प्रवृत्ति छन् र डन बल, गनबलबाट निर्वाचनको स्वच्छता, निष्पक्षता जनताको वास्तविक आवाज मुखारित हुन्छ हुदैन ? अहिलेको समय सन्दर्भमा यो अत्यन्त सान्दर्भिक जस्तो देखिएकाले विश्लेषण गर्न खोजिएको हो ।

दलहरु कुनै संकोच नमानी सरकारी सन्चार माध्यमहरुले परिभाषित गर्ने गुण्डाका नाइकेहरुलाई स–सम्मान माननीय प्रत्याशि बनाउन तत्परता देखाइएको छ । दीपक मनाङे एमाले, गणेश लामा कांग्रेस लगायत चर्चित नामहरु सन्चार माध्यमहरुमा आए । गुण्डा नाइके भन्ने पदवी गलत हो भनि सम्मानित प्रतिनिधि बनाउन खोजिएका स्वनामधन्य महानुभावहरुबाट कही पनि प्रतिरोध खण्डन भएको देखिएन । एक पटक होइन निरन्तर त्यस्ता पदवी भिराइएका साच्चै गुण्डा नाइके रहेछन् भनि आम सर्वसाधारणका मनमा द्वीविधा पनि पाइन्न । गोल्छा भन्ने एक जना माननीय सभासद साढे ७ करोड घूस दिएर समानुपातिकमा आएको खुलाशा भयो । यसमा झलनाथहरुका नाम पनि खुलस्त पारिए । अख्तियारले यसमा निकै ठूलो चासो पनि देखाइएको थियो । ती भद्र गोल्छा महिलालाई त्यत्तिको रकमको श्रोत खोल्न पनि पत्राचार भएको थियो । समयक्रमले त्यत्तिकै सेलाएर गयो । महामहिम राजदूत नियुक्ति, शिक्षण संस्थाका महत्वपूर्ण पदहरु र हुदाहुदा माननीय न्यायमूर्ति नियुक्तिहरु समेत विवादित छन् । यसको खुलाशा निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले समय समयमा गर्दै आएको प्रष्ट देख्न सुन्न पाइने गरेको छ र अदालतहरुमा मुद्दा चलि नै रहेका छन् ।

निजामती सेवा ऐन नियम त्यस्तै शिक्षा ऐन नियम लगायत वित्तिय संस्थाहरु समेत राजनीतिबाट टाढा रहनुपर्ने अन्यथा आपराधिक परिभाषा भित्र परि दण्डनिय हुने प्रावधान कसका लागि हुन् स्वयं वरिष्ठ कानून व्यवसायी भएर पनि जान्न सकिरहेको छैन । यो र त्यो दलका कर्मचारी, शिक्षक, वकील, डाक्टर, किसान व्यापारी, निर्माण व्यवसायी कही बाँकी रहेको देखिदैन । कुनै दलको पुच्छर नसमातेका हामी जस्ता निमुखहरुका लागि अस्तित्व जोगाउन समेत निकै कठीन भइरहेको यथार्थ छिपेको छैन । एउटा दलबाट जोगिन अर्काे दलको सहारा लिन आम सर्वसाधारण समेत बाध्य
पारिएको वर्तमान नेपाली कालखण्डको यथार्थ हो ।

दलहरुले त्यागी निष्ठावान जेलनेल भोगेका कर्मठ कार्यकर्ताको उपेक्षा मात्र गरेनन् मानमर्दन हुने गरी पीडकहरुलाई महिमा मण्डित गरिने यथार्थ आजको लोकतान्त्रिक परिभाषा बनाइएको छ ।

जीवनको महत्वपूर्ण कालखण्डमा त्यागी र समर्पित मानेर कतिपय दलका नेताहरुलाई तन मन धनले समर्पण र सहयोग गरेकै थिए । ती छद्मभेषी रहेछन् भन्ने ज्ञान निकै पछि भयो । अफसोच बाहेक अरु गर्न पनि केही नसकिने भएपनि चुनावको समय भएको हुनाले विवरणमा गएर अपजसको भागी हुन चाहदैन । कानूनले पनि करोडपति भए मात्र माननीय हुन सकिन्छ भनि परिभाषा नै गरेको छ । एउटा क्षमता, निष्ठा र योग्य राष्ट्रभक्त २५ लाखको रकम कम्तिमा कहाँबाट खर्च गर्न सक्छ ? त्यसो भएन भने जनप्रतिनिधि हुने संभावना नै समाप्त हुन्छ । त्यसैले दूरगामी परिणामको समेत चिन्ता नगरी धनवान, डन र गनवानले ठूलो मौका पाएको प्रष्ट छ र आयाराम गयाराम जे जस्तो भएपनि अजामिल ब्राह्मण झैं नारायन नामबाट शुद्धिकरण भएझैं लेखनाथ कविको धन महिमा र बाहुबलीको शक्ति नै नयाँ नेपालको नमुना बनेको छ र वर्तमानका लोकतन्त्रको परिभाषा पनि यही नै शिद्ध हुन लागेकोले बाँच्नु छ भने बाहुबलीको जय, गुण्डा नाइके जिन्दावाद जस्ता भजनले जिउ ज्यान बाँच्ने अन्यथा दलाल पूँजिपति जस्ता लवजको अर्थ जान्न पनि असंभव हुनेछ । यही प्रवृत्ति उत्कर्षमा पुगे वास्तविक नयाँ नेपाल प्रकट हुनेछ । त्यसबेला हामी भने नेपाली रहन सक्नेमा आशंका पैदा भएको कटु सत्य तेश्रो आँखाले हेर्न सकिरहेको होला ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *