खतरामा पर्ने कस्तो लोकतन्त्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वाम गठबन्धनले देशमा तरंग उत्पन्न गरेको छ । लोकतन्त्र नै खतरामा परेको टिप्पणी कांग्रेस सभापति प्रधानमन्त्रीले समेत सार्वजनिक समारोहमा बोली सक्नु भएको हुनाले विविध प्रश्नहरुको व्याख्या र विश्लेषण आवश्यक लागेको छ ।

देशका नियन्ताहरुको परिभाषा अनुसार जनताको मत नै लोकतन्त्र हो । यही यथार्थ र सत्य हो वा औपचारिक परिभाषा भन्ने विषय जटिल बनेको छ । कुनै दलले कसै विरुद्ध सशस्त्र युद्ध प्रारम्भ गरेको नभई जे जस्तो उद्देश्य भएपनि जनतामा आफ्नो विचार सिद्धान्त दर्शनका आधारमा नेपाल र नेपालीको उन्नति र समृद्धिका लागि शासन सञ्चालन गर्न निर्वाचनलाई माध्यम बनाएको आधारमा आम निर्वाचन हुनै पर्दछ भनि यसलाई टार्ने काम कहीकतैबाट पनि हुनु हुदैन भनि सचेत गराई रहेकोले लोकतन्त्रमा खतरा कहाँ कुन कोणबाट आएको र त्यसरी निर्वाचन प्रति जोड गर्दा लोकतन्त्र कसरी खतरामा परेको हो ? यस भित्रको अन्तरनिहितार्थ बुझ्न आवश्यक लागेको छ ।

०४६ साल देखि समय समयमा गठबन्धन हुदै आएका छन् । पंचायत व्यवस्थाका आधार स्तम्भहरु मध्येका २ जनालाई नगण्य विद्यायक भएर पनि कांग्रेस एमालेको सहयोगमा प्रधानमन्त्री बनाएकै हो । त्यसो गर्दा लोकतन्त्र खतरामा प¥यो परेन त्यसको समीक्षा पनि सान्दर्भिक हुनु पर्दछ । त्यस्ता भाग्यशाली महाबली मध्येका तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले सांसदहरु सुरा सुन्दरीमा बेचिए भनि रोष्टमबाट नै भनेका हुन् । ०३६ सालको जनमत संग्रहमा प्रधानमन्त्री तथा राष्ट्रिय पंचायतको अध्यक्ष भएका व्यक्तित्वहरु ०४६ साल पछि घोर प्रजातन्त्र बहुदलवादी र ०६२÷०६३ पछि कट्टर गणतन्त्रवादी भएका पंचायत निर्दल विजय गराएर इतिहास रचना गर्दा लोकतन्त्र स्थापित हुने र वर्तमान कथित लोकतान्त्रिक गठबन्धनमा त्यसको रक्षार्थ कांग्रेसका सहारा बनेका सदाकाल सत्ताको शीर्षमा रहेका कमल थापा, पशुपति शमशेरहरुबाट लोकतन्त्र बलियो भएको देखिने विडम्बना पूर्ण घटनाक्रमहरु बुझ्नै नसकिने प्रकृतिका छन् । एमाले माओवादी केन्द्रको गठबन्धनबाट नभएको भए त्रास पैदा हुनु आश्चर्यजनक छ । जुन छटपटाहट कांग्रेसमा देखिएको छ यसको कारण बुझ्न निकै कठिनाइ भइ रहेको छ ।

जनताका लािग जेलनेल त्याग तपस्या बलिदान गरेको दावा प्रमाणित गर्ने समय आएको छ । पशुले पनि आफ्नो लागि हित गर्नेलाई माया गर्छ भने आफ्नो लागि बलिदान गर्ने दाबेदारहरुलाई आम सर्वसाधारण किन र कसरी उपेक्षा गर्न सक्लान् । आयाराम गयारामहरुको दौड चलेको छ । यसको वास्तविकता पनि जनताले देखेकै हुनु पर्दछ । अजामील ब्राह्मणको पौराणिक कथा जस्तो जे गरे पनि कुनै दल विशेषको पछि लाग्ने मौका परस्तहरु जनप्रिय भएर निर्वाचित भएमा आम सर्वसाधारणको विवेक र क्षमताको पनि परिक्षण हुनेछ । जनप्रिय नभएर पनि कोही निर्वाचित हुन्छन् भने लोकतन्त्रका आधार अझै मुलुकमा स्थापित भएनन् भनि बुझ्न गलत हुने छैन । रकम खाएर टिकट वितरण समानुपातिकमा नाम आउने लोकतन्त्र नै परिभाषा भित्र हो भने राजनीति शास्त्रको अंकगणित र दर्शन व्यर्थ रहेछ भनि सम्झनु पर्ने हुन्छ । स्थानिय निर्वाचनमा धराशायी भएर दल विभाजित भएका पूर्वपञ्चहरु विभिन्न संयोग परी राष्ट्रका भाग्य विधाता मात्र बनेका छैनन् दलको मान्यता समाप्त हुने लगभग निश्चित भइ आजन्म यसप्रति निष्टा देखाएका नेताजीहरुमा भागाभाग परी रहदा वाम गठबन्धन ले जीवन दान मात्र दिएन महिमा मण्डित भएर राष्ट्रध्वज धारक बनेको देख्दा यस्ता लोकतन्त्र
खतरामा पर्नु कुनै अनौठो हुन सक्तैन ।

माओवादीहरु हिंस्रक आन्दोलन पार गरी जनमत कै आधारमा सत्तारोहण गरे । पटक पटक ५÷६ जना वामपन्थका नेताजीहरु प्रधानमन्त्री समेत भए । अझ प्रत्येक दलका सहयोग र समर्थनबाट गठबन्धन सरकार बनाएर शासन सञ्चालन गर्दा लोकतन्त्र खतरामा परेन ?

आम सर्वसाधारण, कुनै दलसंग आबद्ध नरहेको र हुन पनि नचाहिँ वितृष्णा भएका प्राणी मध्ये स्वयं पनि परेको हुनाले तटस्थ विश्लेषण र जिज्ञासा अभिव्यक्त गरेको हुँ । यदि जनताले मत दिएर निर्वाचनका माध्यमबाट कुनै दल वा व्यक्ति विजयी हुन्छ भने त्यसबाट लोकतन्त्र माथि खतरा परिभाषित भएमा लोकतन्त्र नभई मजाकतन्त्र हुनेछ । त्यसरी जननिर्वाचित हुदाँ अन्यथा अर्थ हुने हो भने लोकतन्त्रको परिभाषा के हुने ? गठबन्धन गर्दा जनताले विश्वास गर्छन् भने जुन विचारधारा पनि जनअनुमोदित हुन जान्छ । लोकतन्त्र प्रजातन्त्रको सौन्दर्य त्यही त हो । कुनै कसैको गठबन्धन गैर कानूनी अनुचित हुनेछ भनि संविधानले व्यवस्था गरेको पाइदैन । त्यस्तो कुनै दल संग सदाकाल बाध्यकारी भएर लागि रहनुपर्ने पनि ऐन नियम बनेका छैनन् । यसरी अरुको भरमा आफ्नो दल सत्तामा रहिरहे मात्र लोकतन्त्र हुने वा मान्ने हो भने हास्यास्पद ठहर्ने छ । जनताले जसलाई निर्वाचित गर्छन् त्यही लोकतन्त्र हो । यसलाई अन्यथा संझनु गैर लोकतान्त्रिक मात्र होइन उपहासको पात्र बनाउने छ । त्यसैले जनमत प्राप्त गरी पुरुषार्थ देखाएमा मात्र कथित त्याग तपस्या बलिदान प्रमाणित होला । अन्यथा आध्यात्मिक पात्र ‘घुइतडीको शेड्या’ मा रुपान्तरित भएको देखिने निश्चित छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *