आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस हुदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २० असोज । आगामी प्रदेशसभा र प्रतिनिधि सभाका लागि आकांक्षीहरुको नाम सिफरिस गर्ने क्रम बढेको छ । प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार बन्नुभएको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बन्नुभएको छ ।

कांग्रेसका प्रदेश नं ७ का प्रभावशाली नेताहरु दिलेन्द्र प्रसाद बडु दार्चुला, नारायण प्रकाश साउद कञ्चनपुर क्षेत्र नं २ र रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिशमा पर्नुभएको छ ।

प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वा्चित हुनुभएको थियो । उहाँ २०६४ सालको निर्वाचनमा डडेल्धुरा सँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वा्चित हुनुभएको थियो । स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको अमगरगढी नगरपालिकामा उहाँको पार्टी नेकाले पराजय व्यहोरोपछि देउवाको आलोचना समेत भएको थियो ।

अछाम क्षेत्र १ बाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवार छनोट हुनुभएका एमाले उपाध्यक्ष रावल सोही निर्वाचन क्षेत्रमा गत संविधानसभाको निर्वाचनमा निर्वा्चित हुनुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री पत्नी डा आरजु देउवा राणा कैलालीको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने सम्भावना छ ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश नं ७ का प्रभावशाली नेता लेखराज भट्ट कैलाली क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । यसअघिको निर्वाचनमा उहाँ कैलाली बाटै पराजित हुनुभएको थियो ।

यसअघि चारवटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको काँग्रेस कञ्चनपुरले यसपटक पनि निर्वा्चित चारवटै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको नेका कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो ।

क्षेत्र नं २ बाट सिफारिश हुनुभएका काँग्रेस केन्द्रीय सदस्य नारायण प्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा्चित हुनुभएको थियो भने काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ । उहाँ पनि तत्कालीन क्षेत्र नं ४ (हालको ३) बाट निर्वा्चित हुनुभएको थियो ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिश काँग्रेस नेता दिलेन्द्र प्रसाद बडु प्रतिनिधि सभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिश हुनुभएको छ । अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवार सित पराजित हुनुभएको थियो ।

त्यसैगरी, प्रतिनिधिसभा कै लागि नेका डोटी जिल्लाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर सिफारिस हुनुभएको छ । हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई नेका बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा सिफारिश गरेको छ । सुदूरपश्चिमबाट आ–आफ्नो पार्टीबाट सिफारिश भएका शीर्ष नेताहरुमा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले नेता रावल मात्रै आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिश हुनुभएको छ भने बाँकी नेताहरुसँगै अन्य जिल्लास्तरका नेताको नाम पनि अधिकांश पार्टीले केन्द्रमा सिफारिश गरेका छन् ।

त्यस्तै प्रदेश सभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा तीन स्थानका लागि कांग्रेसमा २८ आकांक्षी देखिएका छन् । प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट छन् ।

यस्तै प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्र बहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्र बहादुर चन्द आकांक्षी छन् ।

नेकपा एमालेले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ । एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सात जना आकांक्षी देखिएका छन् ।

एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी, तत्कालीन जिविस सभापति परमानन्द भट्ट र पदमा खत्रीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट सुरेन्द्र पाल र क्षेत्र नं २ बाट जिल्ला सचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंहको नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्र, बैतडीले भने जिल्लाबाटै सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभासद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरलाई अघि सारेको छ ।

प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेम प्रकाश भट्ट र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रदेश नं ७ सुदूरपश्चिममा हाल १६ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । सबैभन्दा बढी कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरा मा एक÷एक क्षेत्र निर्धारण गरिएका छन् ।

यसअघि २१ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा काँग्रेस र एमालेको नतिजा अग्रस्थानमा थियो । माओवादीले प्रत्यक्षतर्फ २०७० सालको निर्वाचनमा
परिणाम आफ्नो पक्षमा पार्न सकेको थिएन । केही दिनअघि सम्म प्रदेश नं ७ मा आगामी निर्वाचनमा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि परिवर्तित राजनीतिक परिवेशले माहोल मोडिएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *