विकसित नविन घटनाक्रमहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट

भर्खरै सम्पन्न बाम गठबन्धनलाई ऐतिहासिक भएको यसका शिर्ष नेताहरुका सार्वजनिक प्रतिक्रिया आउने क्रम जारी छ । वास्तवमा यो ऐतिहासिक नै हो र विमति गर्नपर्ने कुनै कारण छैन, हुन सक्तैन । ऐतिहासिक घटनाक्रम परिवर्तनको संकेत पनि हो । नकारात्मक, सकारात्मक दुबै रुपमा यो परिभाषित हुन सक्छ ।

सानो गोर्खा राज्यबाट नेपाल बनेको, पश्चिम किल्ला कागडा, पूर्वमा टिष्टा सम्म फैलिएको नेपाल सुगौलीको सन्धिबाट मेची र कालीमा सीमित हुनु, दरबारिया षड्यन्त्र, भारदारहरुका नन्द, पाण्डे थापाहरुका संघर्ष, पाण्डे पजनी, रण बहादुर जस्ता विक्षिप्त राजा जुन भारदारबाट नै मारिए, यस्तै
दरबारिया षड्यन्त्रको परिणाम कोतपर्व, भण्डारखाल पर्व र अलौंकाण्डमा पुगी सत्तासीन राजा राजेन्द्रको नजरबन्दी, सुरेन्द्रको राज्यारोहण लगायतका घटनाक्रमहरुका नायक जंगबहादुर कुँवरबाट जंग बहादुर राणा, राजखानदान संग बैवाहिक सम्बन्ध, कास्की र लमजुङका श्री ३ महाराजा सर्वशक्तिमान प्रधानमन्त्री जंगबहादुर राणा, उनको मृत्युपछि रणोद्दीप सिंह प्रधानमन्त्री बनेपनि उनको हत्या गरी धीर शमशेरका १७ भाइ छोराहरुले १०४ वर्ष राणा शासन
गरी २००७ सालमा समाप्त भए ।

१५ साल सम्म संक्रमणकाल आमनिर्वाचन, कांग्रेसको शासन, १७ साल पौष १ मा तत्कालिन राजा महेन्द्रबाट निर्दलिय पंचायतको शासन व्यवस्था ३० वर्ष कायम रह्यो । यसलाई कालरात्रि भनेर तत्समय सत्ता भोग्नेहरु समेतले नामकरण गरेपनि २०३२ सालमा जनमत संग्रह हुदा पंचायतको जित भयो । त्यसलाई कांग्रेसीहरुका नेता वि.पि.ले समेत स्वीकार गरे । त्यस बखतका नायक सूर्य बहादुर थापाले बहुदल सिद्धाए । तिनै थापा गणतन्त्र सम्म पनि एकनासले नायक भएर रहे । यो पृथ्वी वीरहरुले भोग्ने वीर भोग्या बसुन्धराको उक्ति चरितार्थ गरे ।

पंचायत र पंचहरुले नेपाल समाप्त पारे भन्नेहरु उनकै बैशाखीमा आजसम्म पनि सत्तामा आसिन भएको देख्दा बाहुबली धूर्तहरुको जय भन्नमा कुनै असहजता देखिदैन । प्रजातन्त्रका लड्या, जेलनेल भोग्यौं भन्नेहरु वार्ड गाउँहरुमा समेत हारेका देखिछन् भने पंचे भनि प्रजातन्त्रका दुश्मन परिभाषित प्राणीहरु भारी बहुमतबाट जितेर राष्ट्रध्वज फहराएको र पहिलेझैं देश लुटी रहेको देख्दा त्याग र समर्पण आत्म सम्मान भन्ने लवजहरु निरर्थक रहेछन् भन्ने निष्कर्ष स्वभाविक हुन आउँछ ।

आजका दिनमा को के हो भनि छुट्याउन असंभव भइ सकेको छ । बाम आन्दोलनको अर्थ छैन भन्ने बाबुराम समेत बाम एकताका नायक मध्ये एक बने । सत्तामा रहेर प्रतिपक्ष संग एकाकार हुदा पक्ष विपक्षका परिभाषा के होलान् भनी सोच्न असंभव जस्तै भएको छ । नविन परिवर्तित परिस्थितिमा आयाराम गयारामहरुका बयान भागदौडमा छन् । अत्यन्त आकस्मिक जस्तो राजनैतिक परिदृश्यबाट ध्रुबिकरण तिब्र बनेको छ । देशभक्त शक्ति एक हौं भन्ने नारा सुन्दा को हो त देशद्रोही त्यसको खोजी गर्नपर्ने जटिलता थपिएको छ ।
कांग्रेसीहरुले वाम गठबन्धनलाई अनिष्टकारी को आशंका व्यक्त गरे । त्यो सुनेर आश्चर्य लागेको छ । आफुसंग गठबन्धन हुदा स्वभाविक लाग्ने अरु संग भए अनिष्टकारी कस्तो वर्गिकरण हो ? अब बृहत लोकतान्त्रिक मोर्चाको तयारी हुने भन्ने पनि समाचार क्षण क्षणमा परिवर्तित भइ रहेका छन् । रा.प्र.पा. र रा.प्र.पा.प्रजातान्त्रिकहरु लोकतान्त्रिक शक्ति भित्र परिभाषित भएको देख्दा पंचायतलाई किन तथानाम गाली गरिएको होला बुझी नसक्नु छ । चितौन नगरपालिका मेयरका लागि भएका घटनाक्रमहरु कम रोमाञ्चकारी होइनन् ।

पछिल्लो वाम गठबन्धन वास्तवमा परिवर्तनकारी छ । २०४६ सालको परिवर्तन पछि २०६२÷६३ मा भएका उग्र प्रदर्शनहरुका परिणाम अहिले प्रकट भइ रहेका देखिन्छन् । के.पी.शर्माको विजया प्रचण्डता र पराकाष्टा हो । उनको दुई तिहाई चुनाव जित्ने उद्घोषण व्यर्थको हाँक होइन । निर्वाचनमा कसले कति मत पाउँला त्यो आफ्नो ठाउँमा छ तर उनको रणकौशल, राजनैतिक चातुर्यताको प्रशंसा नगर्नु अन्याय हुनेछ । आउँदा दिनहरुमा परिवर्तन तिब्र बन्ने संकट हुदैछन् । संविधान संशोधनको बाधक भनी परिभाषित एमाले आज महानायक बन्न पुग्यो ।

उनलाई तराईबाट भगाउने प्रयाश निष्फल मात्र भएन यसबाट माओवादीलाई तराईमा ठूलो क्षति पुग्न सक्छ । बढी सिट संख्या भएका क्षेत्रहरुमा अहिलेको गठबन्धन नकारात्मक हुन संभव छ । बहुमत अल्पमत भन्दा पनि प्रत्येक दशकमा घटित हुने नयाँ घटनाक्रम कस्तो स्वरुप रहला ? वर्तमान संविधान दीर्घजीवि होला वा यसको दिन गन्ति सुरु भएको हो, प्रतिक्षाको विषय भएपनि भिषण द्वन्द पनि सम्भाव्य लाग्दछ । राज्यका प्रत्येक अंग जर्जर, प्रभावहीन र लुट खसोटको सिकार बनेका छन् । यस्तै रह्यो भने अप्रत्यासित परिवर्तन हुने त होइन ? अहिले गर्भमा रहेका सत्य निरोपण, बेपत्ता आयोगहरु निष्प्रभावी हुदा अन्तरराष्ट्रिय प्रभाव तर्फ संचार जगतको चासो नदेखिए पनि निकट भविष्यमा त्यो पनि निर्णायक हुने संभावना देखिन्छन् । वस्तुतः यी तमाम परिवर्तन अस्वभाविक र प्रायोजित त थिएनन् ? त्यो चिन्तन पनि कम विचारण्ीाय हुने छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *