गोरख्यौल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी

कुमाऊको इतिहासमा बद्रीप्रसादले लेखेका छन् लडाकुमा जति बलवान् गोरखालीहरु थिए त्यति नै बुद्धि पनि भएको भए आज विशाल देश भारत हुने थिएन नेपाल हुने थियो ।

सुगौली सन्धीबाट नेपालले गुमाएका सबै क्षेत्रमा गोरखाली (नेपाल) ले २५ वर्ष शासन व्यवस्था चलाएका हुन् । शासनमा एकरुपता थिएन । ऐन नियम बेगर बलजफ्ती द्वारा शासन चलाएका थिए भन्ने कुरा पनि उल्लेख गरेका छन् तर गोरखालीको इमानदारीतामा भने कुनै शंका गरेको
पाइदैन ।

दूनघाँटीमा डाकाहरुको विगविगी थियो । गाउँका गाउँ लुटी लैजाने डाकाहरु बसेको स्थलका गाउँहरु नै गोरखालीहरुले जलाई डाकामुक्त देहरादून बनाएकोले दूनघाँटीका बासिन्दाको गोरखाली माथि भरोसा र विश्वास जागेको थियो । त्यहाँका जनताले गोरखालीलाई सहयोग गरेकाले नै पश्चिम किल्ला काँकडा द्वारा सतलज सम्म नेपालीहरुले आफ्नो क्षेत्र आवाद गरेका हुन् तर त्यो आवादी भुमि र त्यस भित्रका जनतालाई कानून सम्मत बाध्न सकेनन् । जतिबेला जे मन लाग्यो त्यही हिसाबले शासन चलाउँदै गए । बलपूर्वक चलाएकोले त्यहाँका प्रबुद्ध व्यक्तिहरु अंग्रेज सित मिलोमतो गर्न थाले र अन्तमा त्यस बेलाका नयाँ नेपालीहरु आफ्नै गोप्य कुराहरु शत्रु पक्षलाई सिकाउँदै गए ।

कानून विनाको शासन भएकोले जहाँ त्यहाँका जनताको चित्त नबुझेको बेला ‘के हो यस्तो गोरख्यौल’ भन्न थाले । ठोस ऐन नियम बेगर गरेको शासन पनि गयो देश पनि गयो । अन्तमा जहाँ सम्म गोरखा राज्यको न्यायिक वातावरण चलेको थियो त्यही क्षेत्रले मात्र स्थिरता पायो । अझै नेपालमा ऐन कानून भन्दा पनि गोरख्यौल कै शासन छ । ऐन कानूनले देश चलेको छैन । हरेक पार्टीका कार्यकर्ता नेताहरु नयाँ नयाँ मालिकको खोजमा गएका छन् । नेपाली जनतालाई आफ्नो नेतृत्व दिन सकिरहेका छैनन् ।

फरक यत्ति छ कोही नेताहरु वैदेशिक निर्देशनको पर्खाइमा छन् भने कोही नेता भनिनेहरुले आफुले नेतृत्व दिन नसकि आफै कही कुनै पार्टीमा गएर बिलाउन चाहि रहेका छन् । हमेसा अर्का कै नेतृत्व स्विकार्नेहरु आज अलमली रहेका छन् भने कोही आफ्नो अलगै अस्तित्व जोगाउनमा हिडेका छन् । आफ्नो दर्शन दिन नसक्ने स्वदेशीको दर्शनलाई नरुचाउनेहरुले विदेशीको दर्शन शिरोधार्य गरेपनि वर्तमान समाजले काँचुली फेरिसकेको हुदा यहाँको लागि उहिलेको दर्शनले काम दिदैन ।

आज हामी सबैको सामु छ, म्यानमा (बर्मा) की प्रधानमन्त्री आङसाङ सुची नोबेल पुरस्कार प्राप्त प्रजातन्त्रवादी नेतृ हुन् । उनकै नेतृत्वमा रहेका मुस्लिम समुदायका चार लाख मानिसहरु शरणार्थीको रुपमा बंगलादेश छिरेका छन् मुस्लिम समुदायहरु । त्यस्तै राजा महेन्द्रको बेला नेपाली भाषीहरुले शरणार्थी बन्नु परेको कुरा राजा महेन्द्रलाई थाहा हुना साथ बर्माबाट ल्याई नेपाल आमाको कोखमा बासको व्यवस्था गरि दियो । ती नेपाली भाषी शरणार्थीहरुलाई पूर्वमा मेची देखि पश्चिममा महाकाली सम्मका तराई फाँटमा छानी छानी जमीन दिई स्थायी बसोबास गराई दिएको झलक याद आउँछ । आज ती सबै शरणार्थी रुपी नेपाली भाषीहरुले नेपालको नागरिकता प्राप्त गरी खासै शक्तिवाला नेपालीमा पुर्नउत्थान भइसकेका छन् ।

उनमा यति शक्ति प्राप्त भएको रहेछ कि जसले शरणार्थी जीवनलाई नेपाली जीवन प्रदान गरी मान सम्मानका साथ बसालेका हुन् । उनबाट राजा महेन्द्रका शालिक तोडिएका छन् । महेन्द्रका नामका सबै संरचनाहरुका नाम फेरिदै छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको नाम बदल्न महेन्द्र हटाई पूर्वपश्चिम लोकमार्ग नामाकरण गरेझैं महेन्द्रनगर नगरको नाम हटाई इतिहास मेटाउनमा वाहियात अनउर्वरक विनासकारी कार्य भईरहेको छ ।

त्यस्तै २०२६ साल देखि ने.क.पा.मा अहम भुमिका खेल्ने नेपालको शासन व्यवस्था ठीक छैन क्रान्ति गर्नुपर्दछ भनी २०५२ सालमा पुष्पकमल दाहाल प्रचण्ड का सल्लाहकार सहपार्टी बनि देशभर त्राहीत्राही मचाउने डा.बाबुराम भट्टराईले असल भन्ने गरिने जनताको पार्टी परित्याग गरी नयाँ पार्टीका संस्थापन बनेका छन् भने त्यस्तै माओवादीका अन्य नेता विप्लव पनि असल पार्टी देखि सन्तुष्टि छैनन् ।

अनि राजाको छत्रछायामा खेलिरहेका उनकै नेतृत्वमा रहेका रा.प्र.पा.का नेताहरु पशुपति, डा.प्रकाश चन्द्र लोहनी, कमल थापाहरुका कदम डगमगी रहेका छन् भने आतंकवादीका नाईके प्रचण्डको टाउको ल्याए १० लाख रुपैया दिन्छौं भनी घोषणा गर्नेहरु शेरबहादुर देउवा जस्ता प्रजातन्त्रवादी हौं भन्ने नेताहरु आज प्रचण्ड कै छत्रछायामा बाँची रहेका छन् भने रा. प्र.पा.का केन्द्रिय सदस्य समेत रहेका कञ्चनपुरका नन्दलाल चटौत जस्ताहरुले एमाले संग (भिषा) प्रवेश आज्ञा मागी रहेका छन् ।

१५÷२० भागमा विभाजित भएका कम्युनिष्टहरुलाई क.मदन भण्डारीले एकिकृत गरी एमालेको जन्म गराएका हुन् । वाम दर्शनलाई रुपान्तरण गर्नमा लागेका भण्डारीको रहस्यमय मृत्यु भएकोले अगाडी बढ्नमा अवरोध आएको थियो । नयाँ प्रवेश आज्ञाको पर्खाइमा रहेका असल व्यक्तिहरुबाट एमालेले पनि जोगिएर बस्नु पर्ने देखिन्छ । आज देहरादुन, कुमाउ, गडवालमा मात्र होइन कि त्यहाँको गोरख्यौलले काठमाण्डौंलाई पनि सताई रहेको छ ।

देश ऐन कानूनले चल्नुपर्छ सहमति समझदारीले देश चल्दैन भन्ने प्रमाण राजसंस्था र नेताहरु विचको सहमतिले देखाई सकेको छ । अब देशलाई गोरख्यौलीकरण गर्नु अपराध हुनेछ । नियम कानून बनाएर देश चलोस् तर कालो कानून कहिल्यै नबनोस् । कानून राणा तथा राजा महेन्द्रको पालामा बनेको मुलुकी ऐन जस्तो जनपक्षिय कानून बनोस्, बन्दै विरोध हुने र जलाउनु पर्ने कानून नबनोस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *