दुःश्वप्नहरुका पीडा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट

आज भन्दा ३० वर्ष बढी समय पूर्व एउटा चलचित्र प्रचारित भएको थियो “त्यो मानिस जसले भोली देख्यो” (The Man who show tomorrow) त्यो चौधौं शताब्दी तिरका प्रसिद्ध फ्रान्सेली भविष्यवक्त नास्त्रेदममा आधारित जसले आउँदा सैकडौं वर्षपछि सम्म निरन्तर घटित विश्वव्यापी आँखो देखा हाल थियो । त्यस सम्बन्धमा ठूलो चर्चा आवश्यक भएको हुदा र शिर्षक विषयान्तर हुने सम्झी भोली देख्ने महापुरुष दिव्यदर्शी त विरलै हुन्छन् तर हिजो र वर्तमान घटनाक्रम त प्रायः सबैले देखेकै हुन्छौं ।

त्यसबाट भोलीको संभावना पनि कल्पना गर्न सकिने दुःश्वप्नका पीडा सबै जसोले साक्षात्कार गर्ने पक्का छ । स्वप्न सबैले देख्छन्, कल्पना गर्नबाट रोक्न पनि सकिदैन । जागृत अवस्थामा कल्पना र सुप्तावस्थामा श्वप्न देख्नु स्वभाविकै हो । घटित भएका कतिपय जागृत अवस्थाका भयानक डरलाग्दा दृश्यले मानसपटललाई उद्वेलित गराई रहेको हुन्छ । यसबाट कोही पनि उम्कन पाउदैन । फरकयत्ति मात्र हो कि संवेदनशील प्राणीलाई विति सकेका दुःखद क्षणहरुले मानसिक धरातलमा प्रहार गरी रहेको हुन्छ । वितिसकेपनि जीवन्त दुःश्वप्न जस्ता घटनाहरु को पीडा ठूलो चोट पुग्ने प्रकृतिका हुन्छन् ।

एक जना साधु बाटो हिडि रहेका बखत अन्य व्यक्तिहरुले अर्काे बाटो जान सुझाव दिए । कारणमा त्यस बाटोको मध्य भागमा डरलाग्दो सर्पको त्रास बताइयो । साधुले मानेनन् उनि त्यसै बाटो गए । बीचमा सर्प फन उठाएर आइ हाल्यो । साधुले त्यसरी विना कारण त्रास उत्पन्न गर्नु अनुचित भएकोले नगर्न सुझाए । पछि मासिहरुले लखेट्ने दुःख दिने भएकाले त्यसो गर्न बाध्य भएको र साधुको आज्ञा मानेर केही दिन सही बस्ने बचन दियो । १५÷२० दिनपछि साधु पुनः त्यही बाटो आए । डरलाग्दो सर्प त मर्ने जस्तो धागोमा रुपान्तरित भइसकेको थियो ।

आश्चर्य चकित साधुले कारण सोद्धा उनकै बचन मानी जसले जे गरे पनि चुपचाप सहेर बाचेकोले मासिनहरुबाट ढुंगा लाठी हिर्काउने त्रास नै नमानेको परिणाम मृत्यु समीप पुगेको गुनासो गरे । साधुले आत्मरक्षाका लागि आफ्नो स्वभाव गुण धर्मबाट विमुख नहुन अकारण कसैलाई दुःख नदिने अर्ति दिए र गएपछि डरलाग्दो सर्प पुनः रुपान्तरित भयो । यी प्रतिकात्मक कथा भित्र मानव जीवनका घटना दुःश्वप्नका पीडा लगायतका विषय तादात्म्यता राख्दछन् । यी अभिव्यक्ति शीर्षक अचानक किन उत्पत्ति भए होलान् ? कागज भर्नकै लागि हो वा यसको कुनै तात्विक अर्थ छ ? अकारण कुनै विषयको पनि उत्पत्ति हुदैन । पद्माशनमा ध्यानास्थ हुन खोज्दा कतिपय जागृत अवस्थाका दुःश्वप्नहरुले मानसपटलमा चित्कार सहितको पीडा बोध हुने गरेकोले सांकेतिक प्रतिकात्मक अभिव्यक्तिको प्रयासले यस भौतिक जगतमा बाँच्न अत्यन्त कठीन छ ।

असल मानिस हुन चाहेर पनि इमानदार भएर बाँच्ने अभिलाषा राख्दा मानव समाजले व्यवधान उत्पन्न गर्छ । मान, सम्मान, धन, पद लगायत कुनै अभिलाषा नराख्दा समेत विचित्रका परिस्थिति आइ पर्दा रहेछन् । जगतबाट लगभग निरापद र निरपेक्ष तटस्थ हुन खोज्दा पनि अनायाश लिप्त हुनपर्ने दुःश्वप्नहरुबाट उद्वेलित भएर यो लेख्न बाध्य भएको छु ।

स्वर्ण जीवन मानिएको विद्यार्थी जीवन शैषवकाल उपद्रवी क्षुद्रहरुको ताण्डवबाट फलामे चिउरामा परिणति भएका, घोर गरिबि, सामाजिक उत्पीडनका अपमान बोध स्मृति पटलमा भयानक भएर खेली रहन्छन् । त्यस्ता क्षुद्र प्राणीहरुका लगभग सबैजसो आजका दिनमा नारकीय अन्त र दुःखद जीवन विताइ रहेका कहाली लाग्दा दिनचर्या प्रत्यक्ष देखी रहन्छु । व्यवसायिक जीवनमा कर्मक्षेत्र यस स्थानमा पंचायतको प्रतिबन्धित कालका महारथीहरु प्रति श्रद्धाभाव राख्दै पूर्ण समर्पण र सहयोगको प्रतिफल चाहेन । समय विशेषले अनायास सबै धानिक पदमा मनोनयन हुदा कृतघ्नहरुका अघोषित प्रहारले असह्य भइ त्याग गरे । त्यसो नहुदो हो त म भन्दा जुनियर न्यायको सर्वाेच्च आसनमा सहजै पुगे त्यसबाट बञ्चित हुनपर्ने थिएन । त्यस्ता श्रद्धा गरिएका बहुरुपियाहरु आज अस्तित्व विहीन भइ जनताका नजरमा घृणाका पात्र छन् ।

जगतका यि विविध श्रृङ्खलाहरुबाट अलग रही साधनाका निरर्थक प्रयाशमा छु । कही पनि सभा गोष्ठी यहाँ सम्म कि अदालतहरुमा समेत जान छोड्दा पनि सर्प र साधुको कथा सहनु परेको पीडा बोध छ ।

केही दिन अघि पटक पटक फोन गर्ने, घरमा भेट्न खोज्ने केही महानुभावहरुलाई नैतिक बाध्यता सम्झी भेटे कारण एउटा तथा कथित अध्यात्मिक सभामा उपस्थित भइदिन पर्ने आग्रह टाल्न नसकि गए । त्यहाँ लगभग २ घण्टाको भयानक पीडा दिने दुःश्वप्नमा रुपान्तरित भएको अनुभव गरे । दर्शकदीर्घामा किनाराको मूक साक्षी मेरो भुमिका रह्यो । त्यहाँ आफ्नो कुनै औचित्य प्रासांगिकता केही नहुदा पनि किन त्यसरी आग्रहपूर्वक आमन्त्रित गरिएछ ? के त्यो जानाजान नियतबस थियो वा अकारण मैले बुझ्न सकेन र फर्के । संभवतः वर्षाै देखि उपस्थित भएर पनि घृणा लागेर नबोली समय पूर्व नै फर्केको घटना थियो । विवाह आदिमा निमन्त्रणा हुन्छ त्यसको सम्मान गर्दै जादा कतिपय स्थानहरुमा परिचित कोही फेला पर्दैनन् । भोजहरुमा नबोलाएर खाइदिने जमात अनि जसलाई बोलाएको हो भोकै रहनुपर्ने कस्ता संस्कार समाजमा निर्मित भइरहेका छन् । यिनलाई पीडादायी दुःश्वप्न जस्तै लागेकोले यस कागजमा चित्कार व्यक्त गरे । असल हुन चाहेर पनि प्रतिकुल हुन्छ भने स्वाभिमानको पनि के नै अर्थ रहला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *