प्रदेश नं. ७ को सर्वस्वीकार्य नाम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-अाचार्य घनश्याम लेखक

नेपालको संविधान २०७२ का अनुसार देश अब संघीयतामा गइ सक्यो । नेपालको परिभाषा बदलियो, नक्सा फेरियो, ७५ जिल्लाबाट ७७ जिल्ला भए, १४ अञ्चल शब्द इतिहासका पानामा मात्र सीमित भयो । राजा महेन्द्र र राजा वीरेन्द्र द्वारा गरिएका ५ विकास क्षेत्र परिमार्जन सहित तराई–मधेशतिर पूर्व–पश्चिम गरी दुई क्षेत्र थपेर नेपाललाई ७ विकास क्षेत्र अर्थात् ७ वटा प्रदेशमा विभाजन गरियो ।

संघीयता, परिवर्तनका लागि पटक–पटक आन्दोलन भए । ‘खोदा पहाड निक्ला चुहा’ भनेझैं ५ वटा उत्तर दक्षिण विकास क्षेत्र करिब करिब यथावत रहे । जसमा सुदूरपश्चिम विकास क्षेत्रमा कुनै पनि हेरफेर भएन, अर्काे शब्द गर्न सकेन । पूर्वाञ्चल विकास क्षेत्र पनि थोर बहुत मात्र हेरफेर भयो अन्य क्षेत्रको पनि त्यही दशा छ ।

जे होस् सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राचिन इतिहास रहेको छ त्यसलाई हेरफेर गरिएन । अखण्ड सुदूरपश्चिम अखण्ड नै रह्यो । अखण्ड सुदूरपश्चिमका लागि महेन्द्रनगरको मदन चौकमा थुप्रै पटक भाषण गरेको छु । त्यो बेला जुन बेला कसैले पनि अखण्डको मुद्दा उठाएको थिएन । लख्खा भाइको नेतृत्वमा हेमबाबु लेखक लगायतका हामी मुठ्ठीभर अखण्ड समर्थक भाषण गथ्र्याै । कसैलाई मतलब थिएन । पछि अखण्ड नारा पार्टीहरुले लिए, केही नेताहरुले लिए । जसले उठाएपनि जसले लिएपनि अखण्ड सुदूरपश्चिम बन्नु हामी सबै मानसखण्ड बासीको गौरवको विषय हो । अखण्डतामा तपाई हामी सबैको हात छ । यसको श्रेय आम मानसबासीलाई जान्छ । कुनै एउटा पार्टी, दल, व्यक्ति, नेता, अगुवाको जित होइन सबैको जित हो । यहाँ सम्म कि यसको विपक्षमा रहेका जनजाति थारु समुदायको पनि जित हो किनभने कैलाली कञ्चनपुर वैदिक कालदेखि मानस राज्य भित्र पर्दछ । यसको प्रमाण वेदमा छ, पुराणमा छ, रामायणमा छ, इतिहासमा छ । महाकाली र कर्णाली बीचको भु–भागलाई वेदले मेरु मानस भनेर प्रष्ट गरेको छ भने शास्त्रमा भनिएको छ –

सत्ये मेरुरिति ख्यात त्रेत्रायां कौशलोत्तर ।
द्वापरे चोत्तो कुरु कलौ मानस ख्यायत्रे ।।

अर्थात् सत्य युगमा काली कर्णाली बीचको भु–भागलाई मेरु भनिन्थ्यो । त्रेता युगमा कौशलोत्तर भनियो, द्वापर युगमा उत्तर कुरु भनिएको छ भने कलियुगमा मानसखण्ड भनिएको छ । यस आधारमा ७ नं. प्रदेशलाई युगयुगमा विभिन्न नामहरु दिइएका हुन् ।

७ नं. प्रदेशको लागि आधिकारिक नाम मानसखण्ड मात्र हो । अन्य कुनै पनि नामले यसको गरिमा, महिमा, मौलिकता, इतिहास एवं निरन्तरता प्रष्ट हुदैन । प्रदेश नं. १ को नाम कोशी प्रदेश, २ नं. प्रदेशका लागि मिथिला प्रदेश, ३ नं.को लागि बागमती प्रदेश, ४ नं. को लागि गण्डकी प्रदेश, ५ नं. का लागि लुम्बिनी प्रदेश, ६ नं. का लागि कर्णाली प्रदेश एवं ७ नं. का लागि मानस प्रदेश सर्वापयुक्त देखिन्छ । यी नामहरुले तत् क्षेत्रको भाषा, साहित्य, कला, संस्कृतिको प्रतिनिधित्व गर्छ । त्यसैले राज्यका नामाकरणका सवालमा यी नाम प्राथमिकतामा रहेका छन् ।

प्रदेश नं. ७ को कुरा गर्दा यो क्षेत्र निर्विवाद रुपमा मानस प्रदेश हो । यो कुरा मैले लेखी रहनु पर्दैन किनभने स्कन्द पुराणले महाकाली नदी देखि कर्णाली नदी सम्मको कैलाली कञ्चनपुर सहितको भु–भागलाई आज भन्दा हजारौं वर्ष पहिले ‘मानसखण्ड’ प्रदेश भनेर उल्लेख गरिसकेको छ । बीचका केही वर्षमा हामी हाम्रो मौलिक नाम विर्सियौं । राज्य पक्षले पनि यो कुरा बुझेन । सेती महाकालीलाई २०३७ साल असौज २३ गते सुदूरपश्चिम विकास क्षेत्र भनी घोषणा ग¥यो । त्यतिबेला नै मानसखण्ड क्षेत्र राख्नुपर्छ भन्ने कुरा उठाउनु पर्ने हो तर मौलिक नामतिर कसैको ध्यान गएन ।

आज क्षेत्रीय, जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, लैङ्गिक, वर्गिय अस्तित्वको लडाईमा हामीले पनि हाम्रो ७ नं. प्रदेशको मौलिक नाम ‘मानस प्रदेश’ राख्नुपर्छ । प्रथम मनुष्य जन्मेको ठाउँ हो, प्रथम चिकित्सक देव वैद्य अश्विनी कुमार जन्मिएको स्थान कैलालीको घोडाघोडी क्षेत्र यही मानस प्रदेशको गौरव हो । कञ्चनपुरको ब्रह्मदेव मानसखण्डको महातीर्थ हो । ‘मानस’ नाम सबैका लागि स्वीकार्य नाम हो किनभने चाहे जुनसुकै जाति, जनजाति वा धर्मको भएपनि ऊ पहिले मानिस हो । मानिस शब्द मानसको देन हो । त्यसैले हामी मानसबासी हौं । मानसखण्डबाट नै अन्य ठाउँमा गएका हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *