परम्परा, संस्कृति, रुढीबाद र हिन्दुवाद

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट
समय परिवेशले परम्पराको प्रारम्भ गराउँछ । खास विशेषता भएका कतिपय परम्पराहरुबाट संस्कृतिको सम्मिश्रण हुन सक्छ । अतिरञ्जित, अस्वाभाविक चाहनाको मुलमा रुढीवाद विकसित भएर जान्छ । जातिय मौलिकताको आवरणमा हिन्दुवाद भनेर धार्मिक स्वरुपमा रुपान्तरित गर्ने प्रयासबाट सम्मिश्रित भएर एक सामाजिक परिपाटि बन्ने गरेको पृष्ठभुमिका सम्बन्धमा विभिन्न चाडपर्वहरु शिर्षकको कुनै वा सबैमा पर्छन् कि पर्दैनन् समयक्रमले यसको समीक्षा गर्न उचित सम्झेको हुनाले केही विवेचना गर्ने प्रयाश हो ।

शिर्षक भित्र समग्रताको रुपान्तरण भएको आभाष हुन्छ । भुतकाल देखि चलिआएका कतिपय परम्परा संस्कृतिमा रुपान्तरित गरिएको पाइन्छ । त्यस्तै संस्कृतिलाई न्यायोचित सिद्ध गर्न रुढीवादीले प्रवेश गरेको छ । हिन्दुवाद भित्र पति पत्निको सम्बन्धलाई पवित्र स्थान दिए जस्तो छ । त्यसमा पुरुषको मर्यादा सम्मान प्रति नारीको अत्याधिक समर्पण र निष्ठा प्रदर्शित गर्न खोजिएको छ । त्यसैले गौरा पर्वको मौलिकता भित्र पार्वतीले शिवलाई वरण गरी पति रुपमा प्राप्त गर्न तपस्या गरेका लोक गित संस्कृतिका झलक र अभिव्यक्ति निर्वाह गरिएका हुन्छन् ।

ऋषिपञ्चमी, तीजका अवसरहरु पनि असल पति कै कामनाका साथै रजस्वला दोष निवारण गर्ने परम्पराका रुपमा हिन्दुवादीहरुले आत्मसात गरेको पाइन्छ । पति परमेश्वर भनेर भक्तिपूर्ण अभिव्यक्तिका नमुना भित्र रुढीवादले प्रवेश गरी छाउपडी प्रथाको विकृत स्वरुपमा प्रचलित हुन पुग्यो । यस सम्बन्धमा कानूनले नै दण्डनिय मानेको र कानून वयवसायी भएको हुनाले बोल्न समयोचित लागेको छ । सञ्चार माध्यमहरुमा एक जना घोर आधुनिकवादी देखाउने भद्र महिलाले रजस्वला भएका बखत महामाया त्रिपुरा सुन्दरीको मन्दिर भित्र गएको, त्यस्तै अर्का महानुभावले पशुपतिनाथ मन्दिर भित्र प्रवेश गरेको दाबी गर्दै छाउपडी अर्थात् रजस्वलाको अवस्थालाई भिन्नै ढंगले प्रस्तुत भएको देख्दा आश्चर्य घृणा र ग्लानिले मन भरिएर आयो ।

रजस्वला स्त्रीको जैविक प्रक्रिया हो र यसका लागि अछुत वा छाउपडी गोठ निर्माण गरी यातना गृहमा रुपान्तरित गर्नु परम्पराको विकृत रुप हो । यसमा कुनै द्विविधा हुन सक्तैन । मानव देहले आफ्नो भित्रबाट अनेकौं पदार्थ विसर्जित गर्ने प्राकृतिक नियम नै हो । त्यसमा मलमुत्र, थूक, वीर्य, पसिना, रगत, आँशु लगायतको विकारजन्य चिजहरु त्याग गर्ने मानविय संरचना नै हो र पशुपन्छीहरुमा पनि केही मात्रामा जैविक प्रकृति निर्धारित नै हुन्छन् । आत्म शुद्धिका लागि स्नान पनि आवश्यक रहन्छ ।

विकारजन्य पदार्थ विसर्जन गर्दा स्वभाविक रुपमा जलले सफाई आवश्यक हुुन्छ त्यो नगरी पूजास्थल जानु वा ध्यान कर्म भोजन गर्नु जायज हुन सक्तैन । स्त्रीको रजस्वला धर्ममा पनि ३ दिन बढी रक्तश्राप हुने प्रसुतिका बखत पनि निरन्तर सफाई गर्नैपर्नेमा त्यो नगर्दा पनि मन्दिर जाने वा पूजापाठ भोजन गर्ने अभ्यास ठीक छ भनि क्रान्तिकारी, प्रगतिशील देखाउनेहरु प्रति विमति राख्दछु ।

यद्यपि रुढीवादले त्यसलाई बढाइ चढाइ अतिरन्जित गर्दा कतिपय विकृति प्रवेश भएका होलान् । नारी पुरुषका विभाजित धारणा प्रस्तुत गरी नारी अधिकारको नाममा विविध “कोकित” गर्ने प्राणी हो । खाडीका देशमा वेश्यादासीको भन्दा पनि बेहत्तर जीवन विताउन बाध्य अवलाहरुको चित्कार कानमा पर्छ कि पर्दैन ? जबरजस्ती करणीका महल अन्तर्गत वैवाहिक बलात्कार भनेर लोग्ने स्वास्नीका पवित्र रिश्ताहरु माथि कानूनका नाममा अस्मित खेलवाड गरेका परिणामबाट सुखमय पारिवारिक जीवनको कल्पना गर्न सकिन्छ ? आस्था र संस्कृति विरुद्ध ऐन निर्माण गर्दा त्यसको प्रभावकारिता के कस्तो भयो वा हुन सक्छ कथित क्रान्तिकारीहरुले त्यसको लेखाजोखा गरे वा गरेनन् ?

पाश्चात्य दर्शन प्रति त्यत्तिकै अनुराग छ भने १ महिना सम्म महिलाहरुले स्वस्थानी व्रत कथा के का लागि सुन्ने र पालन गर्छन् । त्यसमा हिन्दुहरुका देवता विष्णुलाई जालन्धर पत्नि वृन्दाको बलात्कारी, अनि ७० वर्षका शिव शर्माले ७ वर्ष कि गोमा ब्राह्मणी स्वास्नी तुल्याउने र अलपत्र छोड्ने भगवान शिव अनि यस्तै नानाथरिका विकृतिहरुले भरिएका कथित हिन्दुवादीहरुका अर्थहीन पुस्तकहरुलाई धर्मको नाम दिएर “रिखी” “पण्डा”हरुले शोषण गर्ने परम्पराहरु माथि प्रहार गर्ने क्षमता छ ? एक समय काठमाण्डौंका केही समुदायका सामान्य परम्परा तोड्न खोज्दा के भएको थियो ? दशैंमा १ महिनाको अतिरिक्त तलब, लामो विदा के का लागि र किन ?

धर्म निरपेक्ष भनेका देशमा कुनै धर्मलाई विदेशी दूतहरुले समेत मलजल गर्ने, गरिव अनपढ समाजलाई बहकाएर धर्मान्तरण गराउने, इङ्गलैण्ड जस्तो प्रजातन्त्रको जननि मानिएका देशको सम्राट चर्च अफ इङ्गलैण्डको प्रोटेण्टेण्ट इसाइ हुनैपर्ने लगायत जायज हुने नेपाललाई समाप्त पार्न संस्कृति परम्पराहरुमा खोट देखाएर उपहास गर्ने गराउने वीर गोखाली हो ! वास्तविकता आस्था, अन्तरहृदयको आवाजबाट आत्मसात गरिएका प्रथा संस्कृतिले नै समाजलाई गति दिन्छ ।

सति प्रथा समयक्रमले हरायो, त्यसैगरी निरर्थकवादहरु पनि समयको गतिले स्वतः समाप्त हुदै जाने स्वभाविक नियम विरुद्ध बलपूर्वक कानून बनाएर परिवर्तन संभव हुन सक्तैन । यसका लागि मानसिकता र सामाजिक चेतना विकसित गराए मात्र परिवेशमा समरसता आउने छ अन्यथा विकृत परिणाम पनि आउने तर्फ समयमा नै सचेत रहनु समुचित होला ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *