गौरा तथा विसरतिका डेउडा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-अाचार्य घनश्याम लेखक
गौरा संस्कार र संस्कृतिको पर्व हो । मुलतः यो पर्व नारीको हो । नारीको पूजाको दिवस हो । नारी द्वारा नारीका लागि नारी वेदका माध्यमले गरिने नारी संस्कार नारी पर्व हो । यस पर्वमा सम्पूर्ण क्रियाकलाप नारीका माध्यमले हुन्छ । पुरुषको खासै स्थान छैन । विरुडा भिजाउने देखि लिएर गौरा ल्याउने र सेलाउने सम्पूर्ण काममा नारी कै प्रमुख भुमिका हुन्छ । कन्या रुपमा नारीलाई महासरस्वती, पत्नी रुपमा महालक्ष्मी एवं आमा रुपमा नारीलाई महाकाली भनिन्छ । नारीका तीन रुपमा कन्या, देवी र मातृ रुप रहेका छन् । त्यसैले गौरामा पनि यि तिनै रुपको उपासना गरिन्छ । गंगारुपी गौरा सरस्वतीको प्रतिक, सन्ज्या गौरा लक्ष्मीको प्रतिक एवं लाली गौरा कालिकाको प्रतिक मानिन्छ । यी तीनवटै देवीको व्रत–उपासनाको आधार गौरा व्रत हो । गौरामा लगाइने दुब्धागोमा पनि कालो, पहेँलो, रातो धागोले यही संकेत गरेको छ ।
धागो हिन्दुको पहिचान हो । धागो विनाका हाम्रा कुनै पनि संस्कार पुरा हुदैनन् । जनै, सप्तमी, दुब्धागो, अनन्त, रक्षा धागो सबै धागोका नै हुन्छन् । पुरुष धागोले बाँधिन्छ, नारी पनि धागोले बाँधिन्छिन् । धागोलाई शास्त्र सुत्र भनिएको छ । विधान पूर्वक तयार गरिएको धागो नै सुत्र हो जसले परमात्मा सँग योग गराउँछ । संसारको माया ममतारुपी धागोलाई बटारेर नटुट्ने गरी परमात्माको खुट्टामा बाँध्नु पर्छ । भगवान रामायणमा भनेका छन् – ‘सबकी ममता ताग बटोरी, बाधेहु मम पद जोरी’
माया, ममता, रिस, रागको त्याग गर्नुलाई धागो बाँध्नु भनिन्छ । त्यसैले त रक्षाबन्धन, गौरा, अनन्तेपर्व हत्या, हिंसा, मासु मदिरा रहित हुन्छन् । यी पर्वहरु शाकाहारी पर्व हुन्, सात्विक पर्व हुन्, संस्कारका पर्व हुन् । दीक्षा र शिक्षामा पर्व छन् । गौरा पर्वको समापन अनन्त अथवा विसरतिका दिन गरिन्छ । विसरती पर्व खप्तडको पर्व हो । खप्तडका अछाम, बझाङ, बाजुराको मुल पर्व हो । अनन्ते पर्व यहाँको संस्कारको पर्व हो । दुब्धागो र जनैको विकल्पका रुपमा अनन्तलाई लिइन्छ । अनन्तमा ७÷७ गरी १४ गाँठा हुन्छन् भने सप्तमी–दुब्धागोमा ७ एक र ९ अर्काेमा गरी १७ गाँठा हुन्छन् । दुबै एउटै भएतापनि सप्तमी–दुब्धागो घाँटीमा लगाइन्छ भने अनन्त पाखुरामा लगाइन्छ । अनन्त पुरुष र महिला दुबैले लगाउन सक्छन् ।
विसरती पर्व भदौ २० गतेको अहोरात्र मनाइने उत्सव हो । विशेषतः यो पर्व रात्रीको पर्व हो । त्यसैले ‘वीसरात्रि’ शब्द अपभ्रंश हुदाहुदै विसरती शब्द बन्यो । रात्रिमा मनाइने हुनाले रतेडी पर्व हो ।
यस दिन देवी–देवताको जाँत पूजा आजाका अतिरिक्त रमाइलो गरिने रात्रिका रुपमा रहेकाले रमोल पर्व पनि भन्न सकिन्छ । रमौल पर्व डेउडाको प्रचलन रहेको छ ।
डेउडाको जन्म खप्तडबाट भएको हो । अछाम बझाङका डेउडा प्रसिद्ध छन् । बैतडी दार्चुलाको अठेवाली, डोटी डडेल्धुराको हुड्केली भडा, अछाम बझाङ बाजुराको डेउडा प्रसिद्ध छ । डेउडाको लय नै खप्तडको पाटनबाट उब्जिएको हो । सेतीको सुसेलीमा डेउडाको आभाष हुन्छ । कर्णालीको छालमा डेउडाको सुगन्ध पाइन्छ । खप्तडी भाषा संस्कृतिको मुल डेउडा हो । त्यस्तै सिजाली भाषा संस्कृतिमा पनि डेउडाले प्रमुख स्थान लिएको छ । बैतडी तिर गाइने डेउडा भन्दा खप्तड तिर गाइने डेउडामा भिन्नता पाइन्छ ।
डेउडा भनेको डेड पंक्तिको अभिव्यक्ति हो । डेड पाइला अगाडि डेड पाइला पछाडिका सादमा सञ्चालनमा खेलिने खेल डेउडा हो । घुमाउरो भाषामा बोलिने गीति भाषा डेउडा हो । डेउडामा न पुरुष न महिला, न युवा न युवती, न बुढा न बुढी कोही पनि हुदैन सबैको साझा साहित्यको नाम डेउडा हो । जातजाति, उचनीच, तँ तँ–मँ मँ को भेद नभएको साहित्य डेउडा हो । अन्य साहित्यमा भेदभाव छ । त्यहाँ दलित साहित्य सबैको साहित्य हो । त्यसैले यसलाई लोक साहित्य भनिन्छ । लोक साहित्य मानसमनको पुकार हो । पवित्र मनको यथार्थ अभिव्यक्ति लोक साहित्यमा पाइन्छ । डेउडा त्यसको उदाहरण हो । बनावटी र देखावटी नहुने डेउडाको विशेषता हो । डेउडामा आडम्बर छैन । साँध सीमाना छैन असीमित छ अनन्त छ । डेउडाका सर्जक आशुकवि हुन् डेउडा आशुकाव्य हुन् । लोकमनको आवाज डेउडा हो । डेउडालाई पवन जस्तै उड्न र नदी जस्तै बग्न दिनुपर्छ तर धागो हातमा राखी राख्नुपर्छ । त्यही धागो गौरा हो विसरति हो अनन्त हो ।
(लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *