नाम मात्रैको नगरपालिका

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बझाङ, १० भाद्र । नेपाल अधिराज्यभरी गाउँ नै गाउँले भरिएको विकट क्षेत्र जहाँ एक गाउँबाट अर्काे गाउँ पुग्न ३÷४ घण्टा सम्म लाग्छ । यस्ता विभिन्न गाउँलाई मिलाएर नयाँ संविधान २०७२ बमोजिम देशको समग्र विकास एकै साथ गर्ने उद्देश्य लिएर नगरपालिका गाउँपालिकाको घोषणा गरिएको छ । त्यसकारण हामीले यो नगरपालिकामा यस्तो उस्तो छैन भनेर हतोत्साही हुने कुरा छैन । प्रशस्त रकम निकासा हुन्छ । विकास निर्माणका काम द्रुत गतिले गर्ने स्थानियले गर्ने दायित्व रहेको पाइन्छ ।

आधारभूत मापदण्ड पूरा नगरी सरकारले शहरीकरणको नाममा घोषणा गरेको जयपृथ्वी नगरपालिका नाममा मात्रै सीमित भएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा नगरपालिका हुनका लागि हिमाली तथा पहाडी जिल्लामा न्युनतम एक लाख जनसंख्या, वार्षिक ५० लाख आय श्रोत, विद्युत, सडक, खानेपानी तथा सञ्चारको सुविधा भएको, न्युनतम शहरी सुविधा भएको, नगरोन्मुख वा अर्ध शहरी क्षेत्रका रुपमा विकसित भएको हुनु पर्ने मापदण्ड भएता पनि बझाङ जिल्लाको एक मात्र जयपृथ्वी नगरपालिकामा ती आधार पुगेको देखिँदैन ।

सडकको नाममा एउटा मात्र सडक छ, जसले सदरमुकामलाई छोएको छ । ६ वटा गाविसलाई गाभेर गठन भएको नगरपालिका चारवटा वडा बाहेक अन्य कुनै पनि वडामा सडकको पहुँच छैन । केही वडामा सडक खन्ने काम सुरु भएको छ तर गाडी चल्न सक्ने अवस्था छैन ।

जिल्लाको सदरमुकाम समेत रहेको वडा नम्बर ४ मा वर्षा याममा समेत पर्याप्त खानेपानीको व्यवस्था छैन । अन्य कुनै पनि वडामा खानेपानीको पर्याप्त पूर्वाधार निर्माण भएको छैन । बिजुलीको अभावका कारण सरकारी तथा गैरसरकारी कार्यलयबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहमा बाधा पुग्दा सेवाग्रही मर्कामा परेका छन् ।

६ वटा गाविस (चैनपुर, हेमन्तवाडा, लुयाँटा, सुवेडा, रिठापाटा र कैलाश) गाभेर बनेको नगरपालिकाका दुर्गम गाउँहरु सुइल, मयाना बारिल, धमनाउ जस्ता ठाउँमा सरकारले नगरपालिकाका लागि तोकेका कुनै पनि पूर्वाधार निर्माण हुन सकेको छैन । कतिपय दुर्गम ठाउँका बासिन्दालाई आफू नगरपालिका वा गाउँपालिका के भन्ने नै थाहा छैन ।

जयपृथ्वी नगरपालिकाका कार्यकारी अधिकृत अम्मर राज खत्रिले तीनवटा वडालाई त मूल सडकले छोइसकेको बताउँदै हरेक वडामा सडक निर्माण कार्य सुरु भइसकेको बताउनुभयो । खत्रिले सबै पूर्वाधार निर्माण नहुँदै नगरपालिका घोषणा राजनीतिक दलको माग, विगत देखिको जिल्ला विकास समितिको पहलका कारणले भएको बताउनुभयो ।

खासगरी नगरपालिकाहरुको नामाकरणगरी त्यसपछि विकास बजेट प्रशस्त आउने भएकाले सुधार गर्न सकिन्छ । बनेको नगरलाई नामाकरण गर्नु ठूलो कुरा होइन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *