जनता आवास कार्यक्रम अन्तर्गत ४५ घर निर्माण








झलारी, ०९ भाद्र । जनता आवास कार्यक्रम अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदाय का घर निर्माणको कार्य गरेको हो ।
स्वीकृत डिजाइन र स्फेसिफिकेसन बमोजिम कार्यविधि २०७३ मा रहेका प्रावधान पालना
गरी सर्भेक्षण फाराम भरेका दलित समुदाय घर निर्माणका लागि छनोटमा परेका ४९ मध्ये ४५ जनाको घर निर्माणको कार्य गरिएको निर्माण समितिका संयोजक पुष्कर महरले बताउनुभयो ।
‘सर्भेक्षण फाराम भरेका कार्यविधि अनुसार घर निर्माणका लागि दलित समुदायका एकल महिला, अतिविपन्न, अपांगता र असहायलाई पहिलो प्राथमिकतामा राखी छनोट गरी घर निर्माणको कार्य गरिएको छ’, उहाँले भन्नुभयो । प्रत्येक घर निर्माणका लागि रु २ लाख १५ हजार २ सय ३९ रकम खर्च गरिएको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णयअनुसार यहाँका ९ वटै स्थानीय तहमा घर निर्माणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । कञ्चनपुरमा जनता आवास कार्यक्रम अन्तर्गत ५०० घर निर्माण भइरहेका छन् । रासस







