मानस प्रदेशको मौलिक पर्व गौराको विशिष्टता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-अाचार्य घनश्याम लेखक
पुराणहरुमा हिमाललाई पाँच खण्डमा विभाजन गरिएको छ । जसमध्ये केदार नेपाल, जालन्धर, कश्मिर र मानसखण्ड पर्दछन् । यी पाँच खण्डमध्ये ‘अग्रे मानस प्रस्तावे’ भनेर मानसखण्ड क्षेत्रलाई अग्राधिकार दिइएको पाइन्छ ।

मानसखण्ड क्षेत्र भनेको भारतको कालीकुमाउ देखि मध्यकर्णाली र तिब्बतको खारी प्रदेश देखि दक्षिण कैलाली कञ्चनपुर सम्मको भु–भाग पर्ने गर्दछ । मानस सृष्टिको थलो हो शिव गौरीको धाम हो जहाँ वेदव्यासले वेदको विभाजन र संहिताबद्ध एवं पुराण इतिहास (महाभारत) को लेख सम्पादन गरेका थिए, जसलाई आज भोली सेती महाकाली कर्णाली भनिन्छ त्यसको पौराणिक र ऐतिहासिक नाम मानसखण्ड क्षेत्र हो । यस क्षेत्रलाई देवभुमि, दिव्यभुमि, मानसक्षेत्र, श्री क्षेत्र, उत्तरापन्थ भनिएको छ जहाँ गौरा पर्वलाई मानस संस्कृति र वैदिक संस्कृतिका आधारमा मनाइन्छ ।

यस पर्वको आफ्नै मौलिकता छ विशेष महत्व छ । शुद्ध शाकाहारी, सामाजिक एकता एवं भक्ति, अनुशासन र आत्म विश्वासका साथ मनाइन्छ । साच्चै भन्ने हो भने पूर्विय आर्य सभ्यतामा नारीलाई दिइएको सम्मानको झलक देखाउने पर्व हो गौरा
पर्व । हिन्दुहरुका अन्य पर्व भन्दा यो पर्व निम्न कुरामा भिन्न, मौलिक र विशिष्ट
रहेको छ ।

(क) वैदिक संस्कृतिको निरन्तरता ः यो पर्व वैदिक नारी अरुन्धती, गार्गी, कात्यायनी, अपाला आदिको निरन्तरता हो । वैदिक कालमा नारीहरुले वेद, पुराण
पढ्दथे । अग्नी होत्र यज्ञयाजन समेत गर्दथे भन्ने कुराको नमुना हो । आज पनि गौरा व्रत लिने नारीले नारी रचित अपौरुषेय अठेवाली फाग, सगुन गाएर नारी चेतना र विद्वताको आदर्श कायम गरेको छ ।

(ख) नारीले वेद पढ्ने अधिकार ः यो हिन्दु धर्मको एक मात्र यस्तो पर्व हो जसले हामीलाई सुदूरपश्चिम क्षेत्रको वैदिकताको इतिहास देखाउँछ । हिन्दु धर्मको अन्य कुनै पनि पर्वमा यस्तो अवस्था र व्यवस्था छैन । गौरा सप्तमी अथवा अमुक्ता–भरण सप्तमीका दिन नारीले वैदिक मन्त्र ‘श्रीश्चते लक्ष्मी…’ को दीक्षा लिन्छन् र यज्ञयाजन गर्ने अधिकार पाउँछन् ।

(ग) नारीलाई श्रेष्ठता र जेष्ठताको अधिकार ः गौरापर्वले नारी जगतलाई श्रेष्ठ र जेष्ठ बनाएको छ । विरुडा द्वारा आफु भन्दा जेठा जस्तै जेठाजु, जेठानी, सासु, ससुरा तथा पति समेतलाई अप्रत्यक्ष रुपमा शिरमा हात राखी लोकभाखामा आर्शिवाद दिनु मानसखण्ड क्षेत्रका नारीले पाएको आत्म सम्मान हो । यो सम्मान विश्वका कुनै पनि संस्कृति र धर्ममा दिइएको छैन ।

(घ) सगोत्री विवाह गर्न सक्ने प्रमाण ः मानसखण्ड क्षेत्र (सुदूरपश्चिम) मा सामान्यतया सगोत्री विवाहलाई मान्यता दिइएको छ । यो कुरा कुनै शास्त्र सम्मत नभएपनि गौरा पर्वमा गाइने नारीवेद ‘अठेवाली’ को प्रमाणले मात्र सगोत्री विवाहलाई शास्त्रीय मान्यता प्राप्त भएको छ । शिव र गौराको दुबैको गोत्र र शाखा एकै थियो भन्ने कुरा अठेवालीमा आएकोले हाम्रो क्षेत्रमा सगोत्री विवाहलाई वैधता दिइएको छ ।

(ङ) योग्य पति र सन्तानको कामना ः गौरा पर्वले पारिवारिक एकता र निरन्तरताको कामना गर्दछ । त्यसैकारणले गौराष्टमीको मन्त्रमा मन मिल्ने योग्य पति र संस्कारित सन्तानका लागि प्रार्थना गरिएको छ । दुबोको जस्तै मेरा शाखा सन्तान बढ्दै जाउन् भन्ने प्रार्थना गरिएको छ । वास्तवमा संसार बचाउनका लागि सन्तान अवश्य चाहिन्छ । सन्तानका लागि पतिको आवश्यकता पर्दछ नत्र मानविय सभ्यता नै लोप हुन सक्छ । त्यसैले गौरा व्रतमा पति र सन्ताको कामना गरिएको हो ।

(च) छोरा र छोरी प्रतिको समानताको भाव ः गौरा व्रतको मुलमन्त्रले के स्पष्ट गरेको छ भने देवकीले सन्तान पाउनका लागि अमुक्ताभरण सप्तमी÷गौरा व्रत गरेको थियो । त्यस्तै गौराष्टमी (दुर्वाष्टमी) को मन्त्रमा ‘सन्तानं देहि’ भनिएको हुनाले पनि यो सन्तान कामनाको व्रत हो । यस मन्त्रमा छोरा अथवा ‘पुत्रं देहि’ भनिएको छैन । छोरा र छोरी दुबैलाई सन्तान भनिन्छ । त्यसैले यस व्रतले छोरा र छोरी दुबै समानको भाव देखाउँछ ।

(छ) जातिय सद्भाव र सामाजिक एकताको प्रतिक ः यस पर्वले जातिय स्वाभिमान र सद्भाव एवं सामाजिक एकताको भाव देखाउँछ । जस्तै ‘चर्तुणामपि वर्णानां स्त्रीजनानां विशेषतः’ चारै वर्ण
(ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र) का व्यक्तिले उपासना गर्न सक्दछन् तर नारी जातिको लागि विशेष तथा महत्वपूर्ण पर्व हो । सामुहिक रुपमा मनाइने र खेलिने हुनाले यसले सामाजिक सद्भाव र एकताको भावनालाई स्थापित समेत गर्दछ ।

(ज) श्रीको प्रतिक ः हिन्दु धर्मको मुल आधार ‘श्री’ को वाचक पनि गौरा पर्व हो । गौरा पर्वमा हिन्दुका त्रिदेवी महाकाली, महालक्ष्मी, महासरस्वती तीनैको पूजा गरिन्छ । नौलाकी गौरा, लोली गौरा र सञ्ज्या गौरा गरी तीन गौराको पूजा गरिनु ‘श्री’ को पूजा हो ।

(लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *