प्रदेश नं. ७ मा थपिए मतदाता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ०३ भाद्र । निर्वाचनमा मतदान गर्नको लागि भनेर प्रत्यक्ष नाम नलेखाएको करिब २० वर्ष भई सकेको र नयाँ व्यक्तिहरुको लागि पनि लामो समय भएकोले चुनाव हुन्छ हुदैन भन्ने कुरा यकिन नभएको कारणले पनि नामावली दर्ता गर्नमा खासै ध्यानदिएका थिएनन् । अब निश्चित रुपमा निर्वाचन हुन्छ भन्ने लागेकोले मतदानमा भाग लिन नाम छुटेकाहरु धमाधम नाम दर्ता गर्न उत्साहित भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

निर्वाचन आयोगले शुरुवातमा साउन पहिलो सातादेखि मसान्त सम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । केही दिनअघि पुनः भदौ ३ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन कार्यका लागि समय दिइएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी केशवसिंह भण्डारीका अनुसार जानकारी प्राप्त भएको छ ।

आजसम्म सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत प्रेमराज भट्टले १३ वटा स्थानीय तह रहेको कैलालीमा बिहीबार सम्म ५३ हजार नयाँ मतदाताले फोटो सहितको नामावली संकलन गरेको जानकारी दिनुभयो । ‘शनिबार सम्म अझै केही संख्यामा वृद्धि हुन्छ ।’ उहाँले भन्नुभयो, ‘बिदाको दिन समेत यहाँका हरेक तहमा नामावली संकलन गर्ने कार्य भइरहेको छ ।’

त्यसैगरी कञ्चनपुर जिल्लामा भने २२ हजार नयाँ मतदाता थपिएका छन् । यहाँ पुरुष भन्दा महिला मतदाता बढी थपिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टले जानकारी दिनुभयो । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा गत असार १४ गतेको स्थानीय तहको निर्वाचनअघि यहाँ २ लाख ३५ हजार मतदाता रहेका थिए ।

कञ्चनपुरमा हालसम्म १० हजार ७ जना पुरुष र १२ हजार ८ सय ४५ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन पहिलो सातादेखि शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा जिल्लाभरका स्थानीय तहमा उत्साहजनक सहभागिता रहेको थियो ।

त्यसैगरी सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा हालसम्म सात हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार यहाँका १० वटै तहमा नयाँ मतदाता नामावली संकलन भइरहेको छ ।

बैतडी निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टले जिल्लभरमा हालसम्म सात हजारको संख्यामा नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । यसअघि बैतडीमा १ लाख २५ हजार मतदाता रहेका थिए ।

उता दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको दार्चुलामा ५ हजार १ सय ३ मतदाता थपिएका छन् । दार्चुलामा यसअघि ७३ हजार ५१ मतदाता रहेका थिए ।

दार्चुलामा पनि निकै उत्साहपूर्ण ढंगले नयाँ मतदाता स्थानीय तहमा नाम दर्ता गराउन आइरहेका समाचार प्राप्त भएका छन् ।

त्यसैगरी पहाडी जिल्ला डडेल्धुरामा पनि ५ हजार २ सय ५१ जना मतदाता थपिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५ हजार ७ सय मतदाता रहेको डडेल्धुरामा सातवटा स्थानीय तह रहेका छन् ।

त्यस्तै बझाङ जिल्लामा पनि नयाँ मतदाताको फोटोसहितको मतदाता नामावली संकलन कार्य सबै तहमा भइरहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ । १२ वटा स्थानीय तह रहेको बझाङमा यसअघि ९७ हजार ६ सय मतदाता रहेका थिए ।

डोटी जिल्लामा भने एक महिनामा ५ हजार ८ सय मतदाता थपिएका छन् । नौवटा तह रहेको डोटीमा पनि स्थानीय तह सम्म नयाँ मतदाताको नामावली संकलन कार्य भइरहेको थियो । डोटीमा यसअघि एक लाख चार हजार भन्दा बढी मतदाता रहेका थिए ।

४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको अछाम जिल्लामा पनि यस पटक १० हजार ५ सय ९१ मतदाता थपिएका छन् । यसअघि अछाममा १ लाख २७ हजार ७ सय४२ मतदाता रहेका थिए ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि नयाँ मतदाता थपिएका छन् । हालसम्म चार हजार ७ सय ३९ जना नयाँ मतदाता बाजुरामा थपिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार यसअघि बाजुरामा ६४ हजार ९ सय ५० मतदाता रहेका थिए । बाजुरामा ४ नगरपालिका र ५ वटा गाउँपालिका रहेका छन् ।

मतदाता नामावली पुनः संकलन गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिँदा जिल्ला निर्वाचन कार्यालयमा मात्रै संकलन थालिए पनि मतदाताले स्थानीय तहमा संकलन गर्न माग राखेपछि सबै स्थानीय तहमा नामावली संकलन थालिएको थियो ।

यसै गरी जसरी नाम लेखाउनमा उत्साहित भए त्यसैगरी मतदाताहरु जतिसुकै कठिनाईको स्थिति आएपनि यदि निर्वाचन हुन्छ भने मतदान गर्न आफ्ना अमुल्य समय परित्याग गरेर मतदान केन्द्रमा जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *