चन्दलाई अध्यक्ष बनाउन दवाव !








हेटाैडा, ०३ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको आन्तरिक विवाद मिलाउनका लागि मध्यमार्गी नेताहरूले बीचको बाटो खोजेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा चलिरहेका बेला पार्टीलाई बचाउन नयाँ बिकल्पका साथ अगाडि बढ्नु पर्ने सुझाव आएको हो ।
राप्रपाका केही युवा नेताहरूले राप्रपाको अध्यक्षमा लोकेन्द्र बहादुर चन्दलाई बनाएर पशुपति शमशेर राणा समूहलाई पार्टीमा बस्ने वातावरण बनाउन सुझाव दिएका हुन् ।
नाम उल्लेख नगर्ने सर्तमा राप्रपाका एक युवा केन्द्रीय सदस्यले विभाजन भएर गएको राणा समूह फिर्ता आउँछ भने लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष बनाएर अगाडि बढ्न पार्टी नेतृत्व तयार हुनुपर्ने बताए ।
‘कमल थापा ज्यूको नेतृत्व र कार्यशैलीको पार्टीमा धेरैलाई मन परेको छैन’, ती केन्द्रीय सदस्यले भने, ‘कुरा मिल्छ भने राणा समूहलाई मिलाउनका लागि चन्दज्यूलाई अध्यक्ष बनाउन मेरो प्रस्ताव छ ।’
तर, थापा समूह यो प्रस्ताव मान्न तयार छैन । राणा समूह पनि थापा समूहसँग तत्काल मिलेर जाने मनस्थितिमा छैन । वरिष्ठ नेता चन्द हेटौँडाको केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित रहेका थिए ।







