महान पर्वहरुको मर्म

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
थानेश्वर प्रसाद भट्ट
लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

चाडपर्वहरुको समय आएको छ । अर्काेतर्फ बाढी पहिरोले मानव समाज जीवन मरणको दोसाँधमा आक्रान्त बनेको छ । घोर गरिबी, बेरोजगारी, बाहुबलीहरुको भिषणता, घुसखोरहरुका अविश्वशनीय पराक्रमहरुको पराकाष्टा, हाकाहाकी, देश लुट्ने होडबाझीले गर्दा त्राही त्राही भएका बखत आएका महान चाडपर्वहरुको मर्म बुझ्न सान्दर्भिक लागेकोले समीक्षात्मक विश्लेषण गर्न खोजिएको हो ।

ब्रहृतत्वको सार, धर्मको मर्म, पावन ग्रन्थ गिताको विश्वका २ सय भन्दा बढी भाषाहरुमा अनुवाद भई सकेको छ तर यसको मर्म बुझ्ने न्यून मात्र छौं भन्ने लाग्दछ । प्रभु कृष्णको जन्माष्टमी पर्व सम्पन्न भयो । मेरो आस्था अटल विश्वास अन्तरात्माको आवाजका प्रतिक कृष्णको पर्वमा औपचारिक रुपमै पनि उपवास गरेन, गिताको पाठ गरेन । त्यो जानाजान भएको हो । पाठ गर्नु श्लोकमा रस लिए जस्तो गर्नु एउटा आयाम हो तर त्यस भित्रको सारतत्वमा गहन जिज्ञासा त्यस अनुरुपको आचरण स्वयं भित्र देखेन । त्यसो हुनु वास्तविकताका साथै गिता र प्रभुको स्तुतिगान पाखण्ड जस्तै लाग्यो पालन भएन । मर्मलाई आत्मसात गर्न सकिएन वा कोशिस पनि भएन भने निरर्थक आडम्बर भन्दा त निरपेक्ष रहनु श्रेयस्कर होला भन्ने संझे पाठ गरेन । पालन नगर्नु कपट हो ।

त्यसबाट इहलोक, परलोक केही पनि प्राप्त हुनै सक्तैन । यस्तो आडम्बर “रिखी” ठगहरु, चोटी, धोती, त्रिपुण्ड धारण गरी तोत्र पढे जस्तो गरी मूर्ख र धर्म भीरुहरुबाट रकम असुल्ने भन्दा आडम्बर कुन अर्थमा फरक हुन सक्ला ? धूर्त पण्डा, रिखीहरुका अकारण सामाजिक मानले तकलीफ गराउँछ भने त्यस्तै आडम्बर स्वयंबाट भएमा “रिखी’ नामको जन्तु संग कुन अर्थमा फरक रहुँला भन्ने सोच बलवति हुने गरेको छ । प्राकृतिक विपदाले दुःखी पीडित र जर्जर बनेको मानव समाज प्रति अन्तर हृदयले दुःख पीडाको अनुभुति गर्दै हर समय त्यही पीडा लिएर पनि त बस्न सकिने रहेनछ । त्यसैले महान पर्वहरुले उत्पन्न गरेका अनुभुति व्यक्त नगरी रहन सकेन । यद्यपि व्रत, उपासना केही भएन तर संस्कार सामाजिक प्रचलनहरुको गहिरो छाप परेको हुनाले पर्वहरुको आगमनले मनलाई तरंगित तुल्याई रहन्छ । गौरा पर्व, तीज लगायतका उल्लासपूर्ण दिनहरु एक दम सन्निकट रहेका छन् ।

यस अवसरमा सार्वजनिक स्थलमा उमंगका साथ गाइने डेउडा नृत्य, गीतहरुले गहन शान्तिको अनुभुति भइ रहन्छ । कहिले देखि सुनिने देखिने गरी कार्यक्रम हुन्छन् भनि चासो उत्पन्न गराइ रहन्छ । यद्यपि प्रत्यक्ष सहभागिता लगभग नगण्य हुने गर्दछ । यस्ता अनुभुति हुनमा निहित कारण छन् । त्यसको समीक्षा गरेमा मर्म सम्म पुग्न संभव हुन सक्छ । ५ दशक भन्दा बढी समय पूर्व अंग्रेजी पद्यकाव्यमा “Lucy Grey” भन्ने (विलियम वड्र्स वर्थ कवि हुन् शायद) अंग्रेजी कविता पढेको थिए । लुसि ग्रे भन्ने एउटा यौवनाले जंगलमा गाएको मधुर स्वरको गीतबाट कवि निकै भावुक र प्रफुल्लित भएको अनुभुति व्यक्त गरेका छन् ।

यद्यपि गायनको अर्थ भाषा केही पनि बुझेनन् तर स्वर भित्रको गहन कोमलता मधुरताले रसिलो र भाबुक बनेको कवि हृदय अकारण आल्हादिद भएको थिएन । यसै सन्दर्भ भित्र रहेर चाडपर्वहरुको महत्ता, गुणवत्ता र गहन अनुभूतिको विषयलाई हेर्नुपर्ने हुन्छ । गौरा, तीज पछि सोह्र श्राद्ध त्यसपछि दशैं त्यौहार, मंसीरमा विहाबारीका पनि भोटघाट हुने थलोका रुपमा पर्वहरु नै हुन् । श्राद्धहरुमा खानपिन तर्फ अभिरुचि नरहे पनि बोलाएका ठाउँमा जादा आफ्ना सम्बन्धित प्रियजन संगको भेटघाटले नै ठूलो शान्तिको अनुभूति गराइ रहन्छ । महेन्द्रनगर भन्ने स्थानमा यत्तिको आकर्षण महत्व र अपनत्व हुनमा यही मौलिकता चाडपर्वहरुको आफन्त संगको भेटघाटले सर्वाधिक महत्व राख्दछ । त्यसैले त जन्मेको ठाउँ प्रति लगाव समाप्त भएर यस बसाई सराईले चमत्कारिक परिणाम र आकर्षण स्पष्ट देखिएको होला ।

अशान्त र थकित मनलाई शान्ति र क्षणिक भएपनि आनन्दको अनुभुति गराउनमा चाडपर्वहरुले मर्म राखेका छन् । गरिब पहाडी जनजीवनमा गौरामा दशैं तिहारमा भएपनि एकसरौं लुगा हाल्ने वर्ष भरिको तृष्णा रहेको हुन्छ । समयान्तरले निकै ठूलो परिवर्तन आइसकेको छ । तडकभडक, दर खाने, भोज भतेर गर्ने, देखावटी दंभको प्रतिस्पर्धा र प्रदर्शन मिश्रित भएको छ । जाड रक्सी जुवातास पनि उहिले देखिका घातक प्रदर्शन र चलन भित्र पर्दछन् भने अर्काे तर्फ धार्मिक रितिरिवाज सात्विक जीवनको अभ्यास परस्परको भाइचारा आदि प्रायः विविध सम्प्रदायहरुमा देख्न सकिन्छ । मुस्लिमहरुका इद, रमजान, क्रिश्चियनहरुका क्रिश्मस, हिन्दुहरुका दशैं त्यौहार, होली आदिले मानव भित्रका समान प्रवृत्तिहरुको द्योतक हो भनि सहजै अनुमान गर्न सकिन्छ ।

सबैमा सात्विक भावना, निरहंकार व्यक्तित्व अपनत्व र भाइचाराले समाजलाई पवित्रताको सन्देश प्रवाहित गर्ने छ भन्ने हार्दिक मंगलमय कामना छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *