डरलाग्दा सपनाहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
थानेश्वर प्रसाद भट्ट
लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

निन्द्रामा लीन रहेका बखत पनि अन्तर चेतना ले काम गर्न छोड्दैन । मनका खेल विचित्र हुन्छन् । किन भने यो सदैव चलायमान छ । त्यसैले सपना वा विपना जस्तो अबस्था भए पनि आफ्नो प्रकृति अनुसार चलि रहने स्वभाव हो । सपनाहरु डरलाग्दा पनि हुने गर्दछन् । निन्द्रा भंग भएपछि तिनको अस्तित्व रहदैन । तर कतिपय सपनाहरु यस्ता पनि अनुभवमा आएका छन् जुन यथार्थमा समेत रुपान्तरित भएर भयानक डरलाग्दा पुष्टि भएका विषय समीक्षात्मक टिप्पणी गर्न आवश्यक लागेको छ ।

नेपाल सानो गरिव मुलुक भन्ने गरिन्छ । यहाँका मानिस सोझा सरल निश्छल स्वभावका हुन्छन् । रोजगारीको निमित्त आफ्नो जीवन दाउमा राखेर ५० डिग्री भन्दा बढी तापक्रम भएका खाडी मुलुकहरुमा पशु भन्दा पनि तलको जीवन बाँचेका हामी नेपालीहरु एउटा संविधान आफैले बनायांै त्यसमा गास, बास, कपास, औषधि, रोजगारी, खाद्य संप्रभुताको ग्यारेन्टी गर्दै लोक कल्याणकारी राज्यको परिकल्पना गर्दै मूल कानून लागु भएको समेत २ वर्ष पुरा हुन लागि सक्यो । यस अवधिमा विचित्रका डरलाग्दा सपना साच्चै प्रकट भए । गरिव देश भनेको झुटा सावित गर्दै एक जना सहसचिव झण्डै खरव नाघ्ने गरी धनाड्य भई हिरासतमा छ त्यसमा किन हस्तक्षेप भनी वन्दी प्रत्यक्षीकरणको असाधारण निवेदनमा बृहत पूर्ण इजलासबाट श्री सर्वोच्च अदालतले पटक पटक हेरी रहेका समाचार सुनिन्छन् । अनेकौं डरलाग्दा तथ्यहरु बाहिर आउने क्रम जारी छ, दुई जना फरार छन् भनिन्छ ।

एकजना साँझा प्रकाशनको हाकिमले त टाँट पल्टाउने गरी करोडौं कमाएको र त्यो जायज भन्दै हिडेको सुनिन्छ । काम नलाग्ने खोलाको बगर जसलाई प्रमुख जिल्ला अधिकारीले समेत जग्गा हो कि नदि बगेको छुट्याउनै नसकेको आधिकारिक टिप्पणी नै गरिसके । अरबौको खुलेआम लुटलाई आयल निगम प्रमुखले जायज हो हस्तक्षेप गर्न मिल्दैन कानून त्यही हो भनि रहदा त्यस्तो होइन भन्ने साहस देखाउने उनि भन्दा शक्तिशाली राज्य छ भन्ने प्रमाणित हुनुको साटो थरथर कम्पन उत्पन्न भएको देखियो जसरी लोकमान प्रकरणमा भएको थियो । एक जना स्वनामधन्य पूर्व अर्थमन्त्रीले कानून त्यही हो भनी अन्तरवार्ता दिएको सुनियो ।

मन्त्रालय भागबण्डा गर्दा होस वा अन्य पदवी आकर्षक अनाकर्षक भनी खुलेआम वर्गीकरण हुन्छ । महत्वपूर्ण मन्त्रालय र कमशलको मापदण्ड के हो त्यो कहीबाट खुलस्त हुदैन कि भने नगरे पनि फरक पर्दैन । ब्रह्मलूट छ कही औषधी उपचारको नाममा कही आर्थिक सहयोगको नाममा । निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेको स्वायत्त संस्थाका स्वनाम धन्य पदाधिकारीहरुलाई १५ करोड भन्दा बढीका गाडीहरु खरीद गर्नु गलत भन्ने सचिव गलहत्याएर फ्याकिए । निर्वाचन आचार संहिताको कुनै मतलव रहेन । भारतका उहिलेका तुगलक वंशीय वादशाह फिरोज शाह तुगलक पनि एक पटक सिमा रक्षकहरुलाई घुस दिएर भित्र छिर्न पाएको ऐतिहासिक तथ्य हो ।

यस्तो त गोर्खे मुलुकमा सामान्य भई सकेको छ । हालै एकजना सत्तारुढ दलका अध्यक्षले गरिब बाट जति योग्य भए पनि चुनाव जित्न संभव नरही धनीका लागि मात्र भएकोले चुनावको पद्धति नै फेर्न पर्ने भाषण गरेको सुनियो । ‘नर शंशेरको गोल’ भन्ने उखान त प्रायः ले जानेकै होला । फुटबलमा गोल भए नभए पनि जनरल सापले हाने पछि गोल भयो यहि त गोख्यौली को परिभाषा हो ।

जता ततै ब्रह्मलूट भई रहेका बेला अरण्य रोदन भन्ने कटुता प्रकट हुन सक्छ तर यथार्थ के पनि हो भने भीख माग्दा समेत सानो रकम मात्र उपलब्ध होला, त्यतिकै त कसैले रकम दिदैन । त्यसका लागि खुबी चाहिन्छ । पदवी सानो ठूलो जे भए पनि तिगडम जानेको छ भने कार्यालय सहयोगी पनि ऐश्वर्यमय जीवन बाँच्न सक्दछ ।

हामी जस्ता क्वाँचहरु चित्कार मात्र गर्न जान्दछौ । बाहुवली धूर्तहरु त करोडौंका गाडी चढाएर तरकारी किन्न चाकरहरु पठाउछन् भन्ने सुनिन्छ । खुबी छ भने देशको मूल कानूनले लेखेका भौतिक हक सुरक्षित छन् यदि बहुबली तिकडमबाज छैन भने, या त खाडी मुलुकको दासत्व जीवन वा डरलाग्दा सपना विपना र यथार्थ देख्ने आम सामथ्र्यहीन अरण्य रोदकहरु के सधै यस्तै रहला ? अचम्मित पर्ने बिषय बुझी नसक्नु छ । यतिका अरबौं रकम कहा राख्छौ ? त्यस्को के उपयोग गर्ने सोच छ ? २०४६ साल पहिले खरबौं अभियान दरवार सित लूटको चर्चा हुन्थ्यो अहिले त त्यो सर्वब्यपी भए जस्तो छ । स्वीस बैंक नपुगी पनामा पेपर्स सम्म रकम थुपार्ने रहेछौं । याद राख्नु काम लाग्ने छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *