श्रावणमास, मानसव्रत र मानसस्तोत्र कुञ्जिका

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।

सूर्य सिद्धान्त अनुसार वर्ष दिनका ६ महिनालाई उत्तरायण तथा अर्काे ६ महिनालाई दक्षिणायण भनिन्छ । सूर्यले मकर रेखामा प्रवेश गरेको दिनबाट उत्तरायण सुरु हुन्छ जसलाई मकर संक्रान्ति अर्थात् मकरार्क भनिन्छ । मनुष्यको एक वर्ष देवताको एक दिन एवं मानवको एक महिना पितृहरुको एक दिन हुन्छ । उत्तरायणलाई देवताको दिन र दक्षिणायणलाई देवताको रात भनिन्छ । माघ महिना अर्थात् मकरार्क देवताको प्रातः काल हो । उत्तरायणमा दिन ठूला र रात साना हुन्छन् । पुषे पन्ध्रको रात सबैभन्दा ठूलो र असार पन्ध्रको दिन सबैभन्दा ठूलो दिन हुन्छ तर सौर्यमण्डलमा आएको परिवर्तनले आज भोली पुष ७÷८ गतेको राति सबैभन्दा ठूलो र असार ७÷८ गतेको दिन सबैभन्दा ठूलो हुन्छ । त्यसैले अन्तराष्ट्रिय योग दिवस पनि यसै दिन मनाउने गरेको हुनुपर्छ ।

माघ महिना देवताको विहानी पखको समय भएको हुनाले यस महिनामा स्नान, ध्यान र योगको महत्व रहेको छ । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरी विगत २÷३ वर्ष देखि मनाउँदै आइरहेको छ । माघको महिनामा महिनाभरी प्रातः स्नानको ठूलो महत्व छ । माघ १ गते जसलाई कव्वा रोटो दिने संक्रान्ति अथवा माघी पर्व भनिन्छ, यस दिन कागले पनि नुहाउँछ अनि मात्र खान्छ भन्ने प्रतिकात्मक संकेत गरेर मानव जातिलाई माघ स्नानको महत्व दर्साएको पाइन्छ । माघ पवित्र महिना हो । माघबाट नै व्रतबन्ध, व्रत परायण आदि प्रारम्भ हुन्छन् । उत्तरायणमा मृत्यु हुने देवलोक र दक्षिणायनमा मृत्यु हुने पितृ लोक प्राप्त गर्छन् भन्ने कुरा शास्त्रमा वर्णित छ ।

दक्षिणायनको प्रारम्भ कर्काक अर्थात् श्रावण मासबाट हुन्छ । सूर्य कर्कट रेखामा प्रवेश गर्ने हुनाले कर्क संक्रान्ति पनि भनिन्छ । दिन साना र रात ठूला हुन्छन् । श्रावण महिना देवताको सन्ध्याकाल हो भने यसपछि पुष सम्मका महिनाको रात हो । देवताहरु शयन गर्ने हुनाले असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ भने सबै देवताहरु कैलास मानस पर्वत तिर निवास गर्दछन् ।
श्रावण महिना देव सन्ध्याकाल भएको हुनाले दियो बाल्नुको ठूलो महत्व रहेको छ । देवीदेवता कैलास मानस तिर लाग्ने र मन्दिर द्वारपालहरुको भरमा रहने हुनाले श्रावणलाई कालो महिना पनि भनिन्छ । त्यसैकारणले यस महिनाभरी मन्दिरहरुमा बत्ती बाल्ने गरिन्छ । संभव भएपुरै महिना भरी बत्ती बाल्नु सनातन धर्मावलम्बीहरुको कर्तव्य हो । यदि यो संभव भएन भने एक दिन अवश्य बत्ती बाल्नु पर्दछ । यो परम्परा को निरन्तरता हामी विशेष गरेर मानसखण्ड प्रदेश तिर प्रष्ट देख्न सक्छौं जहाँ आज पनि श्रावणको महिनामा देवीदेवताको मन्दिर मसानमसानीको थान, पितर पिजासको स्थान, तुलसीको मठ, घर आँगन लगायत चौराहा मा समेत बाता बाल्ने अर्थात् दियो जलाएर सन्ध्या दीप निरन्तरता कायम रहेको छ ।

श्रावण महिनालाई मानस मास पनि भनिन्छ किनभने माघमा गंगा सागर अर्थात् संगमको स्नान एवं श्रावणमा मानसको स्नान पवित्र एवं पुण्पदायी मानिन्छ । त्यसैले श्रावणको महिनामा कैलास मानसरोवरको यात्रा गरिन्छ । गंगासागरको उत्पत्ति स्थान मानसरस हो । यही कारणले गर्दा माघमा गंगा सागरको स्नान र श्रावणमा मानसरसको स्नान जसले ग¥यो उसले सबै तीर्थहरुमा स्नान गरेको मानिन्छ ।

नदीलाई स्त्रीका रुपमा लिइएको छ । मानससरोवर मुल भई हिमालयबाट निस्कने सम्पूर्ण नदीहरुका नाम स्त्रीलिङ्गी रहेका छन् भने ब्रह्मपुत्र एकमात्र पुलिङ्ग नाम छ । त्यसैले ब्रह्मपुत्रलाई नदी नभनेर नद भनिन्छ । श्रावणको महिनामा सम्पूर्ण नदीहरु रजस्वला हुने हुनाले स्नान गर्नका लागि अशुद्ध मानिन्छन् । त्यसैले यस महिनामा नदी, ताल, सरोवर, कुण्ड, गाड आदिमा स्नान गरेको महत्व हुदैन तर मानसरोवरमा स्नान गरेको विशेष फल पाइन्छ किनभने यो सरोवर ब्रह्मपुत्र हो । सूवर्णहंसको बास हुने भएकाले यहाँको जल र स्नानमा दोष हुदैन । श्रावणमा आकाश गंगाको स्नान पर्याप्त मानिन्छ । माघमा जलमा डुब्की लगाएको महत्व हुन्छ भने श्रावणमा वर्षाका धारामा भिजेर नुहाएको महत्व हुन्छ ।

श्रावणलाई मानसमास यस कारण ले भनिन्छ कि सम्पूर्ण देवीदेवता लगायत मानवहरु मानसरोवर स्नान गर्न जान्छन् । अनि गौरीकुण्डको दर्शन गरेर कैलासमा जल चढाई परिक्रमा गर्दछन् । त्यसैले श्रावण महिनामा गरिने उपासनालाई ‘मानसव्रत’ भनिन्छ । मानसमासमा मानसले मानस सरोवर संग सम्बन्धित क्षेत्रमा गई वा रही गरिने व्रत नै मानस व्रत हो । मानिसको उत्पत्ति जलबाट भएको हो । त्यही जलको नाम मानसजल हो । जीवात्माको जन्म रजवीर्यको सम्मिश्रण हो जुन जल रुपमा नै रहन्छ । त्यसैले जललाई जीवन भनिएको हो । जीवन जल हो । जीवन मानसको काखमा भएको हुनाले यस जीवात्माको नाम ‘मानिस’ पर्न गएको हो । मानिसको मुल सम्बन्ध जोड्ने विधि नै मानस व्रत हो ।

मानसव्रत श्रावणको महिनाभरी गरिन्छ । यसको प्रारम्भ गुरु पूर्णिमा अर्थात् व्यास पूर्णिमामा हुन्छ । स्नान भेदले कर्काक अर्थात् श्रावण संक्रान्तिका दिनबाट पनि यो व्रत प्रारम्भ हुने गर्दछ । व्यासले वेद, पुराण, महाभारतको सम्पादन, लेखन, प्रकाशन समेत मानसखण्ड बाटै गरेका थिए भने ‘व्यासोच्छिष्टं जगत्’ भनेर ज्ञान व्यासको उच्छिष्ट अर्थात् विटुलो हो । त्यसैले उनलाई गुरु भनिन्छ । असार पूर्णिमाका दिन गुरुलाई व्यास रुपमा अथवा व्यासजीलाई शिक्षा दीक्षा दाता गुरुका रुपमा पूजा गरिन्छ । मानसव्रतको सुरु पनि गुरुव्यास कै पूजाबाट हुन्छ । दैनिक रुपमा हंस स्वरुप ब्रह्मा, विष्णु, महेश एवं शारदा, रमा, ईश्वरीको पूजा गरिन्छ । शिव आराधनाको उद्देश्य शक्ति प्राप्ति हो । त्यसैले श्रावणपछि भाद्र महिनामा गौरा पर्व पर्दछ । गौरा व्रतको सम्बन्ध पनि मानस वं्रत संग रहेको छ ।

गौरा व्रत गर्ने नारीले अवश्य रुपमा श्रावणको महिनामा मानसव्रत गर्नुपर्दछ । श्रावणको पवित्रता र आराधनाको जगमा गौराव्रतको जन्म हुन्छ । गुरु पूर्णिमामा गौन्या एकादशी अनि जनैपूर्णिमा त्यसपछि मात्र गौरा व्रत हुन्छ । यस आधारमा ‘मानसव्रत’ को गौरा पर्व संग अन्योन्याश्रित सम्बन्ध रहेको छ । मानसव्रतमा स्कन्द पुराण अन्तर्गतको मानसखण्ड संहिता संग सम्बन्धित मानस गुरु द्वारा प्रणीत मानस स्तोत्र कुञ्जिकाको पाठ गरिन्छ ।

यस स्तोत्र कुञ्जिका भित्र पाञ्चायन देवता गणेश, शिव, विष्णु सूर्य, देवीका साथै अन्य देवीदेवताका पनि स–साना स्तोत्रहरु रहेका छन् । सरल संस्कृत भाषामा रहेको यो मानस स्तोत्र कुञ्जिका सर्वसाधारण जो कोहीले पनि पाठ गर्न सक्दछन् । अनेक प्रकारका सिद्ध मन्त्रहरु यस भित्र रहेकाले अन्य शुभ अवसरमा पनि यसको पाठ गर्न र गराउन सकिन्छ । प्रातः स्नान पश्चात् सूर्य भगवानलाई अर्घ दिई तुलसी पूजा गरेर मध्यान्ह मानस देवताको पूजा अर्चना गरेर मात्र यसको पाठ गरिन्छ वा योग्य पण्डित द्वारा गराइन्छ । बेलुका मानस पुराण श्रवण महत्वपूर्ण मानिन्छ । मानस स्तोत्र कुञ्जिकाको मुल रुप मानस पुराण हो ।

यस पुराणले महाकाली नदी पश्चिमतटीय तीर्थहरु देखि कर्णाली नदी पूर्वतटीय तीर्थहरु सहित सम्पूर्ण काली कर्णाली बीचका तीर्थहरुको वर्णन गरिएको हो । यस कारणले पनि मानसपुरण कैलास मानसरोवर संग सम्बन्धित काली कर्णालीका सम्पूर्ण नागरिकको संबैधानिक ग्रन्थ हो । अर्काे अर्थमा मानव उत्पत्तिको प्रथम ग्रन्थ हो । त्यसैले श्रावण महिनामा कैलास मानस सरोवरको महायात्रा गरिन्छ । संसारका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु एक चोटी श्रावणमा मान सखण्ड प्रदेशको दर्शन गर्न पाए हुन्थ्यो भनेर इच्छा गर्दछन् । किन मानस प्रदेशको दर्शनको मानिसले इच्छा गर्छन् ? भन्दा यसको एक मात्र कारण यो भुमि मानव उत्पत्तिको आदि भुमी हो । प्रत्येक मानव आफ्नो पुख्र्यौलीको दर्शन गर्न लालायित हुन्छ । यो सत्य कुरा हो । जसरी आगो बाल्दा आकाशतिर जान्छ पानी पोखिदा तल तिर जान्छ किनभने यी दुबैको मुल माथि र तल तिर छ ।

आ–आफ्नो मुल र कुललाई भेट्न जान्छन् । त्यसै प्रकार मानवको पनि मुल मानस प्रदेश हो । ऊ पनि जानी नजानी एकचोटी मानसको दर्शन गर्न आउँछ । कैलास मानस सरोवरको दर्शन गर्न जादा महाकालीको किनारै किनार वेदव्यास आश्रमको दर्शन तथा पूजा गरेर जानु पर्दछ भने फर्कदा कर्णालीको किनारै किनार ज्वाला देवीको दर्शन पूजा गरेर मात्र यात्रा पुरा मानिन्छ । यसरी गरिने यात्रा पौराणिक कैलास मानस सरोवर यात्रा हो ।

यी सबै प्रसङ्ग माथि विचार गर्दा मानवले एकचोटी दर्शन गर्नै पर्ने प्रदेश मानसखण्ड एवं श्रवण गर्नैपर्ने पुराण मानसखण्ड संहिता र पाठ गर्नैपर्ने स्तोत्र मानस स्तोत्र कुञ्जिका रहेको प्रमाणित
हुन्छ । मानिसलाई मानिस बनाउने प्रामाणिक ग्रन्थको अध्यनन गर्नु नै मानिस बन्नु हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *